नेपाली गीत-सुन्ने श्रोता तथा दर्शकका लागि रामकृष्ण ढकाल चिनाइरहनुपर्ने नाम होइन । पारिवारिक पृष्ठभूमि सांगीतिक नभए पनि रामकृष्णले पाँच-छ वर्षको उमेरदेखि नै गीत गाउन थालेका थिए । निजगढमा उनका साथीहरू विद्यालयको चौरमा मोजाद्वारा बनाइएको भकुन्डो खेलिरहँदा उनी चौरकै अर्को कुनामा गीत गुनगुनाइरहेका हुन्थे । मध्यम परिवारमा जन्मिएका रामकृष्णलाई उनका अविभावकहरू पढेर ठूलो मान्छे बन्नुपर्छ भनेर सम्झाइरहँदा उनी भने नारायणगोपालका गीत गाइरहेका हुन्थे । रामकृष्ण तिनै गायक हुन्, जो आश्चर्यजनक सफलताका पर्याय बन्न सफल छन् । १३ वर्षको कलिलो उमेरमै एकल गायन कार्यक्रममा झन्डै २२ वटा गीत गाएर सबैलाई आश्चर्यचकित बनाउने रामकृष्णले गोरखा दक्षिण बाहु पाउने सबैभन्दा कान्छा कलाकारको रेकर्डसमेत राखे । उनले २०५५ सालमा २४ वर्षको उमेरमा यो राष्ट्रिय स्तरको पुरस्कार पाएका थिए । रामकृष्ण तिनै गायक हुन् जसको २०५५ सालमा बजारमा आएको गीतिसंग्रह 'आशा' ले बिक्रीको नयाँ कीर्तिमान कायम गरेको थियो । उक्त संग्रहको ३ लाखभन्दा बढी प्रति बिक्री भएको रेकर्ड छ । तिनै रामकृष्ण भोलि शनिबार आफ्नो नयाँ एकल गीतिसंग्रह 'शैली' लिएर दर्शक तथा श्रोतामाझ आउँदैछन् । 'शैली' ले आफूलाई पुरानै लोकप्रियता दिने कुरामा उनी आशावादी मात्र छैनन्, ढुक्क नै छन् । गत सोमबार साँझ पुतलीसडकस्थित कुमारी क्याफेमा रामकृष्णले साप्ताहिकसँग लामै कुराकानी गर्दै आफ्नो बाल्यकालदेखि वर्तमान अवस्थासम्म बेलिविस्तार गर्न भ्याए । रामकृष्णको सफलताको कथा उनकै शब्दमाः
बाल्यकाल
मेरो बाल्यकाल संघर्षमै बित्यो । मानिसहरू मेरो बाल्यकालका बारेमा विभिन्न टीका-टिप्पणी गर्छन् । मैले पनि सबैलाई स्पष्टीकरण दिन आवश्यक मानिनँ । आज पहिलो पटक साप्ताहिकमार्फत म आफ्नो बाल्यकालको वास्तविकता सारांशमा भन्दैछु । म मध्यमवर्गीय परिवारमा जन्मिएको सत्य हो, तर त्यसो भन्नेबित्तिकै हामीलाई खान-लाउनै मुस्किल थियो भन्ने होइन । निजगढमा हाम्रो परिवारलाई राम्रै मानिन्थ्यो । परिवारमा सांगीतिक पृष्ठभूमि भएको मान्छे अरू कोही थिएनन्, तर म भने गीत-संगीत भनेपछि भात-पानी माया मार्न तयार थिएँ । घरबाट संगीतमा रुचि नराखोस् भन्ने दबाब आउन थालेपछि म घरबाट भागीभागी चलचित्र हेर्न जाने, सांगीतिक कार्यक्रममा जान थालेँ । मैले छ वर्षको उमेरदेखि नै विद्यालयका कार्यक्रममा गाउन थालिसकेको थिएँ । पछि हाम्रो परिवार चितवन बसाइँ सर्यो । करिब १२ वर्षको उमेरमा गीत गाउनकै लागि म काठमाडौं आएँ । परिवारको सपोर्टबिनै मैले काठमाडौंमा अनेकौं हन्डर खाँदै कक्षा सातदेखि एसएलसीसम्मको अध्ययन पूरा गरेँ । त्यसपछिको अध्ययन भने विभिन्न कारणले पूरा गर्न सकिनँ । १३ वर्षको उमेरमा मलाई एकल गायन कार्यक्रममा सहभागी भएर गीत गाउने अवसर प्राप्त भयो । त्यो कार्यक्रममा मैले नारायणगोपालका झन्डै २२ वटा कालजयी गीत गाउँदा मलाई धेरैले 'फुच्चे गायक' भन्थे । वास्तवमा त्यही एकल गायन कार्यक्रम नै मेरो सांगीतिक जीवनको टर्निङ प्वाइन्ट थियो ।
पहिलो गीत र पहिला एल्बम
पहिलो एकल गायन कार्यक्रमपछि मानिसहरूले मेरो प्रतिभाको कदर गर्न थाले । म आफूचाहिं आफ्नै गीत गाउन चाहिरहेको थिएँ । सोही क्रममा मैले पहिलो पटक २०४५ सालमा एउटा गीत रेकर्ड गर्ने अवसर पाएँ । 'हाम्रो सुन्दर संसार थियो, हुरी आई उडाई लग्यो...' मेरो स्वरमा रेकर्ड भएको पहिलो गीत थियो । त्यो गीतले श्रोता तथा दर्शकको मन जित्न सफल भयो । मेरो पहिलो गीतिसंग्रह 'आशीर्वाद' २०५० सालमा सार्वजनिक भएको हो । उक्त आशीर्वादसंग्रहलाई श्रोताले अत्यन्त मन पराएका थिए । सोही वर्ष मैले पहिलो पटक आफ्नै गीतमा आशीर्वाद २०५० शीर्षकको एकल सांगीतिक कार्यक्रममा सहभागी हुने अवसर पाएँ । आशीर्वाद संग्रहको 'रिसाउँदा नि आफ्नै' मात्र होइन, नारायणगोपालको स्वरमा रेकर्ड हुन नपाएको 'माया गर्नेको चोखो माया पनि देखियो' ले पनि मेरो सांगीतिक उचाइ बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे ।
विवाहपछि रामकृष्ण
मेरो विवाह २०५८ सालमा नीलम शाहसँग भएको हो । विवाहअघि म एक्लो जीवन बाँचिरहेको थिएँ । विवाह गरेलगत्तै मेरा केही आत्मीय प्रशंसकहरूले चित्त दुःखाएको पनि थाहा पाएँ । 'मन पराउने हजार भेटिन्छन्, जुनी काट्ने एउटै हुन्छ...' भनेझैं विवाह त एक जनासँगै गर्नुपर्ने हुन्छ । त्यसैले मैले नीलमलाई रोजेँ । विवाहपछि मेरो व्यक्तित्व तथा रहनसहनमा सराकात्मक परिवर्तन आएको छ भन्छन् साथीभाइहरू । विवाह गरेको केही वर्षपछि छोरी रानी जन्मिइन् । त्यसपछि मैले आफूलाई थप जिम्मेवार पाएको छु । कुनै पनि नयाँ काम गर्दा नीमलसँग सरसल्लाह गर्छु । मैले गाउने गीतका बारेमा उनी राम्रो टिप्पणी गर्छिन् । उनी मेरो गीतकी असल श्रोता पनि हुन् । विवाहपछि धेरैले मलाई स्टाइलिस भएको, अझ जवान देखिएको प्रतिक्रिया दिन्छन् । यी सबै परिवर्तनका पछाडि नीलमको ठूलो योगदान छ । सत्यराज आचार्यले त 'यी रामकृष्ण दाइ बूढो नभै मर्ने भए' पनि भन्न भ्याए । स्टाइलिस गायक निमा रुम्बाले पनि मलाई 'दिन-प्रतिदिन जवान भैरहेको गायक' भनेका छन् ।
रमाइलो तथा नरमाइलो क्षण
पहिलो पटक ढकाल सुमधुर साँझमा २२ वटा गीत गाउन सफल भएको दिन मेरो जीवनकै सबैभन्दा रमाइलो तथा खुसीको क्षण थियो । त्यसपछि २०५० सालमा मेरो पहिलो गीतिसंग्रह 'आशीर्वाद' सार्वजनिक भएको दिन म असाध्यै खुसी भएको थिएँ । तेस्रो पटकचाहिं छोरी रानी जन्मिएको दिन मेरा लागि अविस्मरणीय थियो । संघर्षका दिन प्रायः दुःखद नै हुन्छन् । ती दिनहरूमा मलाई हतोत्साहित गर्नेहरू पनि धेरै थिए । त्योभन्दा पनि बढी दुःखी मलाई २०६५ सालको एउटा घटनाले बनाएको थियो । सांगीतिक क्षेत्रका सहकर्मीहरूको आग्रहमा म रोयल्टी पाउने आन्दोलनमा सहभागी भएको थिएँ, तर कतिपय विद्युतीय सञ्चारमाध्यमले त्यो रामकृष्ण ढकालको आन्दोलन हो भन्दै मैले गाएका गीतहरू नै ब्यान्ड गर्ने हल्ला चलाए । त्यो घटनाले मलाई असाध्यै दुःखी बनाएको थियो ।
विदेशमा सेटल नहुने
म सांगीतिक कार्यक्रमका क्रममा विदेश गैरहन्छु । अमेरिका, युरोपलगायत एसियाका धेरै देश घुमिसकेको छु, तर उतै सेटल हुने गरी सधैंका लागि विदेश बस्ने मेरो कुनै योजना छैन । विवाहअघि त म विदेशमा दुई हप्ताभन्दा बढी टिक्न सक्दिनथेँ, विवाहपछि त झन् बढी होम सिक हुन्छ । अहिले कतिपय स्थापित संगीतकर्मी विदेश गएर उतै बसेको सुनेको छु । उता गएर बस्नेहरूका बारेमा म केही टीका- टिप्पणी गर्न चाहन्नँ, तर के भन्ने चाहन्छु भने हामी नेपालमा बसेर संघर्ष गरिरहेकाहरूलाई विदेशमा गएर बस्नुपर्ने बाध्यात्मक स्थिति सिर्जना गर्नु भएन । कलाकारलाई राष्ट्रका गहना भनिन्छ, तर यो कुरा भनाइमा मात्र सीमित छ । केही समयअघि हामीले कलाकार गोपाल भुटानीको दुःखद निधनको देख्यौं । भविष्यको चिन्ता जसलाई पनि हुन्छ । हामीलाई पनि भविष्यको चिन्ता हुन्छ । त्यसैले विदेश गएका कलाकारलाई गाली गर्नुभन्दा आगामी दिनमा विदेश गएर बस्नुपर्ने स्थिति आउन नदिन हामी सबै सचेत हुनुपर्छ ।
पाश्र्वगायनमा कमी
कुनै बेला चलचित्रमा पाश्र्वगायन गर्नुलाई गर्वका रूपमा लिइन्थ्यो । अहिले त्यस्तो अवस्था छैन । मैले पनि झन्डै सयवटा चलचित्रमा गीत गाइसकेको छु, तर म स्टेज तथा सुगम संगीतबाट माथि उठेको गायक भएकाले पाश्र्वगायनमै सीमित हुन मन लागेन । पछिल्लो समयमा गायक तथा संगीतकारको संख्या पनि बढिरहेको छ, त्यो भएर पनि मलाई संगीतकारले पाश्र्वगायनका लागि नसम्भिmएका होलान्, तर वास्तविकता के हो भने मलाई पाश्र्वगायनमा भन्दा सुगम संगीतमै आधारित गीत गाएर बस्न मनपर्छ ।
एकल साँझमा अब्बल
१३ वर्षको उमेरमै पहिलो एकल गायन कार्यक्रममा गीत गाउन सफल भएपछि मैले सांगीतिक जीवनमा धेरै पटक एकल गायन कार्यक्रममा सहभागी हुने अवसर पाएको छु । २०४५ सालको दोस्रो एकल गायनपछि २०५५ सालमा तेस्रो एकल गायन कार्यक्रममा सहभागी भएँ । २०६३ सालमा 'आगमन साँझ' शीर्षक राखेर काठमाडौंमै चौथो एकल गायन कार्यक्रम गरियो । उक्त कार्यक्रमबाट हामीले २८ लाख रुपैयाँ संकलन गरेर क्यान्सर अस्पताललाई हस्तान्तरण गरेका थियौं । काठमाडौंबाहिर तथा नेपालबाहिर पनि मैले दर्जनौं पटक एकल गायन कार्यक्रम प्रस्तुत गरिसकेको छु । यसबीच आगामी पुसको तेस्रो साता कान्तिपुर टेलिभिजनले पनि मेरो नयाँ एकल गायन कार्यक्रम आयोजना गर्दैछ भने आगामी वैशाख महिनामा पनि म आफ्नै पहलमा ढकाल सुमधुर साँझ २०६८ आयोजना गर्दैछु । यसबाहेक 'शैली' को प्रचार-प्रसारका लागि युरोप तथा अमेरिकाको सांगीतिक भ्रमण पनि गर्दैछु ।
राजधानीमा दुई घर
श्रोताको मायाकै कारण मैले केही वर्षअघि काठमाडौंको हात्तीगौंडामा घर किनेँ । दुई वर्षभन्दा बढी उक्त घरमा हामी बस्यौं । कार्यक्रमका क्रममा काठमाडौं बाहिर गैरहनुपर्ने भएकाले श्रीमती तथा छोरीलाई मात्र त्यो घरमा एक्लै छाडेर हिंड्न गाह्रो भयो । त्यसैले गत वर्ष भैंसेपाटीमा ससुरालीको छेउमा अर्को घर किनेको छु । अहिले हामी त्यहीँ बस्छौं । ती दुवै घर बैंकबाट ऋण लिएर किनेको हो । अहिलेचाहिं हात्तीगौंडाको घर बिक्री गर्ने तयारीमा छु । बैंकको किस्ता तिर्दा-तिर्दा गाह्रो हुन थालेको छ ।
रानी म्युजिक स्थापना
मेरो नयाँ संग्रह 'शैली' लाई रानी म्युजिकले बजारमा ल्याउँदैछ । रेडियो कान्तिपुर, कान्तिपुर टेलिभिजन तथा साप्ताहिकको प्रत्यक्ष सहभागिता रहेको यो संग्रहलाई बजारमा ल्याउन यसपटक मैले आफ्नै कम्पनी स्थापना गरेको छु । छोरीको नामबाट खोलिएको यो कम्पनीको स्थापना दुई वर्षअघि नै गरेको थिएँ, तर अहिले आएर मात्र यसलाई सार्वजनिक गरेको हुँ । भविष्यमा यो कम्पनीले मेरै मात्र गीतिसंग्रह पनि बजारमा ल्याउन सक्छ, अन्य गायक-गायिकाका गीतिसंग्रह पनि ल्याउन सक्छ । भविष्यमा यही नामबाट संगीत विद्यालय पनि सञ्चालन गर्ने सोच छ । यसलाई ब्यानरका रूपमा विकास गरेर चलचित्र पनि निर्माण गर्न सकिन्छ ।
आ अक्षरको मोह
मेरो पहिलो गीतिसंग्रह 'आशीर्वाद' ले अपार सफलता पाएपछि मलाई श्रोता, प्रशंसक तथा शुभेच्छुकहरूले 'आ' अक्षरबाटै संग्रहको शीर्षक जुराउन सल्लाह दिनुभयो । त्यसैले मैले आशीर्वादपछि आशा, आलाप, आधार, आशिष, आरोह, आग्रह, आश्रय र आगमन गरी आठवटा एकल गीतिसंग्रह 'आ' बाटै जुराएँ । 'आ' अक्षरबाट शीर्षक जुराइएका प्रायः सबै गीतिसंग्रहले श्रोताको मन मात्र जितेनन्, राम्रो व्यावसायसमेत गरे । मैले 'आ' अक्षरबाट शीर्षक जुराएको पछिल्लो संग्रह 'आगमन' हो । त्यो २०६३ सालमा बजारमा आएको हो । त्यसपछिको संग्रहमा पपशैलीका गीत समावेश गरिएकाले मैले त्यसको शीर्षक 'मेरो साथी' राखेँ । उक्त संग्रह मेरी छोरी रानी ढकालप्रति समर्पित भएकाले पनि मैले 'आ' अक्षरको क्रमलाई भंग गर्नुपर्ने भयो । झन्डै पाँच वर्षको अन्तरालपछि मेरो नयाँ गीतिसंग्रह 'शैली' बजारमा आउँदैछ, जसमा श्रोताले मेरो वास्तविक शैली झल्काउने गीत-संगीत सुन्न पाउनुहुनेछ ।
ड्राइभिङका सौखिन गायक
मलाई सवारीसाधनको क्रेजी भन्दा फरक पर्दैन । संगीत मेरो पेसा हो भने ड्राइभिङ मेरो सौख हो । म लङ ड्राइभमा जान मन पराउँछु । मैले पहिलो पटक २०५३ सालमा १४ हजार हालेर एउटा स्कुटर किनेको थिएँ । त्यही स्कुटरमा चढेर म पियानोको क्लास लिन जान्थेँ । केही वर्षपछि स्कुटर बेचेर ७३ हजार रुपैयाँमा बजाजको फोर एस च्याम्पियन किनें । त्यो पनि केही वर्ष चढेपछि आरएक्स चढेँ । आरएक्स बाइक मैले चढेको अन्तिम बाइक थियो । त्यसपछि २०५८ सालमा मैले पहिलो पटक कार किनेँ । पहिलो कार मारुती अल्टो थियो । अल्टोमा साढे एक वर्ष सवार भएपछि मैले कियाको स्र्पोटेज किनें । त्यो कार मैले साढे तीन वर्ष चढें । त्यसपछि निशानको सुपर सलोन, हुन्डाइको गेट्ज हुँदै अहिले कियाकै सेरोटो कार चढिरहेको छु । यो चढ्न थालेको पनि एक वर्षभन्दा बढी भैसक्यो । अहिलेचाहिं मेरो आँखा किया स्र्पोटेजको नयाँ मोडलमा छ । केही महिनापछि अहिले चढिरहेको कार बेचेर त्यो किन्ने योजना छ ।
शैलीका बारेमा
'पहाडको छुकछुके रेल...' मेरो नयाँ गीतिसंग्रह 'शैली' को पहिलो गीत हो । यो गीत तथा म्युजिक भिडियो सार्वजनिक भएको एक-दुई महिनामै श्रोताले मन पराएको पाएको छु । श्रोताबाट सकारात्मक प्रतिक्रिया पाउन थालेकाले म उत्साहितसमेत भएको छु । पहाडको छुकछुके रेल...जुन शैलीमा छ, यो संग्रहका अन्य गीतहरू पनि प्रायः यस्तै छन् । पुराना संगीतकार नातिकाजीदेखि नयाँ संगीतकार शिखर सन्तोषसम्मका संगीत 'शैली' मा समेटिएका छन् । मेरा पुराना गीतहरू ओराली लागेको हरिणको चाल भो, हीरा काट्ने हीरैमा राखेर, चरीले त छाडेर...शैलीका गीतहरू 'शैली' मा समावेश छन् । संग्रहमा नयाँ गीतकार किरण केसी क्रोधीदेखि पुराना गीतकार कालीप्रसाद रिजालसम्मका गीत समावेश छन् । संग्रहको एउटा युगल गीतमा गायिका मल्लिका कार्कीले मलाई साथ दिएकी छिन् । Source: Kantipur Saptahik
0 प्रतिकृया/हरु:
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।