गीत लिएर आइन् पूजा

स्मृति ढुंगाना, काठमाडौं, मंसिर २९- हिरोइनकै भूमिकामा चलिरहेकै बेला अमेरिका गएकी थिइन् पूजा चन्द। चार वर्षपछि स्वदेश फर्किँदा गीतकार भएकी छिन्। हालै आफ्नो गीतको म्युजिक भिडियो बनाएकी पूजाले त्यसमा अभिनय समेत गरेकी छिन्। एक सातामै एल्बम बजारमा ल्याएर अमेरिका जाने उनले जानकारी दिईन्।
गीतकारको नयाँ परिचय बारे जिज्ञासा राख्दा उनले सानैदेखि सांगीतक क्षेत्रमा लगाव भएको बताइन्। 'सानैदेखि गीत लेख्थें। फिल्म खेल्न थालेपछि नभ्याएको रहर अमेरिकामा छँदा पुरा गरें,' उनले नागरिकसँग भनिन्। हिरोइन पूजाले करिव १ सय गीत रचना गरेको खुलाईन्। 'कहिलेकाही नसोचेकै ठाँउमा गीत फुर्छ। र, सम्झेको जति शब्द टिपीहाल्छु,' अधिकांस गीत रातको समय रचेको समेत उनले बताइन्। करिव तीन दर्जन फिल्मकी हिरोइन पूजाले अभिनय मोह घट्न थालेको बताइन्। 'अठोट' नामक टेलिफिल्मबाट अभिनय थालेकी पूजाले भनिन्,'यो फिल्म चाहिं उत्कृष्ट थियो भनेर कुनैको नाम लिन सक्दिन। सामान्य फिल्ममै समय बित्यो,' अहिले आफूलाई गीतकारको परिचय प्यारो लाग्न थालेको उनले सुनाइन्।
यो नयाँ विधामा रोयल्टीको समस्या उनलाई नमिठो लागेको छ। अमेरिकामा रिलिज गरिसकिएको 'कसरी सम्झाउँ'को बजार व्यवस्थापनको जिम्मा म्युजिक नेपालले लिएको छ। यो एल्वममा सेन्टिमेन्टल गीतहरू छन्। पूजा इन्टरटेन्टमेन्टले उत्पादन गरेको एल्बममा १० गीत छन्। यसमा सपना श्री, रामकृष्ण ढकाल, रिमा गुरूङ, सुनिल बर्देवा, पवित्रा सुब्बा, थुप्तेन भुटिया, ईश्वर अमात्य, संञ्जय खड्की र यम बरालको स्वर छ। अनिल शाही, न्ह्यू बज्राचार्य, शक्ति बल्लभ, राजु सिंह, सुनिल बर्देवा, सचिन सिंह, रत्न बहादुर र विरेनकुमार शाक्यले संगीत दिएका छन्।

सेन्टिमेन्टल गीत रुचाउने पूजाले यस्तै गीतको एल्बम तयार पारेको जानकारी दिइन्। '१० गीतहरूमध्ये केही नेपालमा रचना भएका हुन्। केही अमेरिकामा छँदा। रोमान्टीक भावको भएपनि धेरै गीतमा वियोगको शब्द छ,' गीतको भावना आफ्नो जीवनसँग नजिक रहेको उल्लेख गर्दै उनले भनिन्,'लेख्दालेख्दै वियोगका गीत धेरै भए।'

'कसरी सम्झाउँ'का गीत मार्फत प्रेमी प्रेमिकाको असमझदारीलाई प्रस्तुत गरेको बताइन् पूजाले। 'कहिलेकाँही मलाई काल्पनिक संसारमा हराउन मन लाग्छ। गीत रचना मेरो त्यही चाहनाको फल हो,' उनले भनिन्। फरक फरक सन्दर्भ र स्थानमा रचना गरिएका गीतले छुट्टा छुट्टै भाव बोकेको उनको मूल्यांकन छ।
Source: Nagarik News

1 प्रतिकृया/हरु:

Anonymous said...

Woa awesome puja ji any way best of luck...... :)

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।