ससुरालीमा टाइमपास

काठमाडौ, पुस १ - 'लाटो लड्छ एक बल्ड्याङ, बाठो लड्छ सय बल्ड्याङ ।' यो उखानसँग धेरै हदसम्म फिल्म 'दाइको ससुराली'को आशय मेल खान्छ ।

राजधानीबाहिर केही समयअघि नै प्रदर्शनमा आइसके पनि भर्खरै मात्र राजधानीका फिल्म हलमा प्रदर्शनको पालो पाएको दिनेश डिसी निर्देशित हास्यरसले भरिएको यो फिल्ममा अधिकांश कलाकार पनि हास्यविधाका छन् । फिल्मको मुख्य केन्द्रमा छन्- गायक प्रकाश ओझा ।

मौलिक गीत गाएर चर्चामा आएपछि टेलिफिल्मको अभिनय यात्रा थालेका ओझाले डेब्यु फिल्मबाटै मुख्य भूमिका पाएका छन्- 'दाईको ससुराली' मा । सीबी फिल्मस्को ब्यानरमा चिरञ्जीवी बस्नेतले बनाएको फिल्ममा बुद्धिसागर (प्रकाश ओझा) नाम गरेको सोझो र मनकारी केटो छ, जो करोडौंको सम्पत्तिको मालिक हुन्छ । उसको दाइ दयासागर -रवि डंगोल) की श्रीमती मैना (पि्रया रिजाल) भने सधैं सम्पत्ति हत्याउने दाउमा मात्रै हुन्छे ।

तर उनको दाउपेचका बारेमा भाउजूलाई आमा समान मान्ने देवरलाई पत्तो हुँदैन । उता पत्नी पीडित दयासागर पीडा दबाउन भन्दै रक्सीको सहायता लिन्छ । तर कसैको कुभलो नचिताउने सहयोगी बुद्धिसागरलाई भाग्यले पनि साथ दिन्छ भने नकारात्मक सोचले ग्रसित मैना आफैंले खनेको खाल्डोमा परेपछि बल्ल ठेगानमा आउँछे र कथाले संयोगान्त मोड लिन्छ ।

सवा दुई घन्टा लामो फिल्मको सबैभन्दा नराम्रो पक्ष भनेको यसको छायांकन हो । कुमार बखतीको धमिलो दृश्यको सिनेम्याटोग्राफीले दर्शकलाई फिल्म हेरुन्जेल असजिलो महसुस गराउन सक्छ । कतिपय दृश्यमा त दर्शकले पात्रलाई अँध्यारोमा चिन्नुपर्नेछ । प्रकाश ओझा आफैंले संगीत दिएको फिल्मका गीतहरू अधिकांश लोकशैलीका छन् ।

सामान्य पारिवारिक विषयवस्तुमा ठट्यौली मिश्रति फिल्म 'दाइको ससुराली' ले बालबालिकालाई भने मनोरञ्जन दिन सक्छ । त्यसो त यही फिल्मका लेखकसमेत रहेका विकास आचार्यले संवादका लागि २०६५ को केटीभी फिल्म अवार्ड जितेका थिए । फिल्ममा पहिले 'विधवा' र पछि प्रकाशको पत्नीका रूपमा सञ्चिता लुइँटेल देखिएकी छन् भने निखिल उप्रेती फिल्ममा पनि फिल्मी हिरोको रूपमै चिनिएका छन् । यौन प्रकरणमा जेल पर्नुअघि हास्य टेलिसिरियलमार्फत दर्शकलाई मनोरञ्जन दिन सफल प्रकाश ओझाको जेलजीवनपछि आएको फिल्म 'दाइको ससुराली' ले बालबालिकाको भने टाइमपास गराउने प्रयास गरेको छ ।

Source: Kantipur Online

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।