काठमाडौं अन्तर्राष्ट्रिय पर्वत्य चलचित्र महोत्सव

काठमाडौ, मंसिर २८ - हिमालपारिको एक्लो र फरक किसिमको जनजीवन भएको क्षेत्रमा सोनाम नामक एउटा बूढो हावापानी परिवर्तनको सिकार बन्छ । नदी सुक्ने मात्र नभई उपत्यका पनि मरुभूमि बन्दै गएपछि ऊ त्यहाँ परम्परागत शैलीमा बस्न सक्दैन र समाधानको खोजीमा अनन्त यात्रा निस्कन्छ ।

यही विषयमा आधारित ब्राजिलियन मार्कोस नेग्राओ र आन्द्रे रान्जेल निर्देशित डकुमेन्ट्री 'द ब्रोकन मुन' ले आठौं काठमाडौं अन्तर्राष्ट्रिय पर्वत्य फिल्म महोत्सवमा देखाइएका अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका १९ फिल्मलाई पछि पारेर सर्वोत्कृष्ट अवार्ड चुम्यो । अवार्डसँगै 'द ब्रोकन मुन' ले १ हजार ५ सय अमेरिकी डलर पनि हात पार्‍यो । ५२ मिनेट लामो डकुमेन्ट्रीका निर्देशकद्वयले यसअघि बनाएको 'भल्चर्स हायभ विङ्स' ले पनि पाँच अन्तर्राष्ट्रिय अवार्ड जितेको थियो ।

मंगोलियामा हुने घोडा दौड प्रतियोगितामा अस्ट्रेलियाली १२ वर्षे केटोले प्रशिक्षणपछि स्थानीय केटाहरूसँगको प्रतिस्पर्धामा पहिलो बन्नुअघि गरेको संघर्षलाई देखाइएको अस्टे्रलियाली डकुमेन्ट्री 'अ लिटिल बिट मंगोलियन' ले दोस्रो अवार्डसँगै १ हजार अमेरिकी डलर जित्यो । 'एकदमै खुसी छु,' अवार्ड थापेपछि निर्देशक माइकल डिलोनले भने, 'अब अर्को फिल्म बनाउने प्रेरणा मिलेको छ ।'

तेस्रो अवार्ड भने राजनीतिक र भौगोलिक कारणले टुक्रिएको परिवारलाई संगीतले जोडेको सन्दर्भ समेटिएको क्यानडेली डकुमेन्ट्री 'साइनिङ स्पिरिट ः द म्युजिकल जर्नी अफ जमयाङ एसी' ले पायो, सँगै ५ सय अमेरिकी डलर पनि । क्यानाडाकी महिला निर्देशक क्यारेना म्याकडायरमिडको यो वृत्तचित्र एउटा भावनात्मक तिब्बती संगीत यात्रामा आधारित छ ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत नै केसाङ छेतेन निर्देशित डकुमेन्ट्री 'सेभिङ डोल्मा' ले दर्शक छनोट अवार्ड जित्यो । कुवेतमा बन्दी जीवन बिताइरहेकी सिन्धुपाल्चोककी डोल्मा शेर्पालाई मृत्युदण्डबाट बचाउन सबै पक्षबाट गरिएको संघर्ष वृत्तचित्रमा उतारिएको छ । सुरुमा मृत्युदण्डको फैसला सुनाइएको डोल्माको मुद्दा देशविदेशमा गरिएको अभियानकै कारण आजीवन कारावासमा झरेको थियो । समापन अवसरमा समेत देखाइएको वृत्तचित्रमा डोल्माको छोरा, पतिका साथै कुवेतमा कार्यरत नेपाली चेलीहरूको संवेदनात्मक सन्दर्भलाई कैद गरिएको छ ।

मंसिर २३ देखि राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डको हलमा पाँच दिनसम्म देखाइएका ३५ मुलुकका ६२ फिल्ममध्ये ३५ अप्रतियोगी थिए । नेपाल पानोरामातर्फ स्त्रिmनिङ गरिएका ६ नेपाली फिल्ममध्ये मुरे केर निर्देशित 'सिक सिटी' उत्कृष्ट ठहरियो । फिल्मले ३० हजार रुपैयाँसहित ट्रफी हात पार्‍यो । काठमाडौं ससुराली भएका मुरेले डकुमेन्ट्रीमा काठमाडौंकै अँध्यारो पक्षको उजागार गरेका छन् । 'मैले नेपालमै गरेको कामको नेपालमै यस्तो सम्मान मिलेपछि,' अवार्ड थापेपछि उनले भने, 'यहीँ थप केही गर्ने जाँगर मिलेको छ ।'

नेपाली पानारोमाअन्तर्गत नै शवनम मुखिया निर्देशित 'डरका आँसुहरू' ले स्पेसल मेन्सन अवार्ड पायो । यो वृत्तचित्रमा पशुबलिको सन्दर्भ उठाइएको छ, जहाँ गढीमाइर्ंको भयावह पशुबलिसमेत समेटिएको छ । बेलायतका आरोही तथा लेखक टेरी गि-फोर्ड र नर्वे निवासी बेलायती आरोही डेभिड डर्कन सम्मिलित निर्णायकमण्डलले अवार्ड छनोट गरेका हुन् । आफूहरूले सोचेभन्दा यो निकै राम्रो महोत्सव भएको बताउँदै निर्णायकद्वयले आफूहरूले निकै राम्रा फिल्म हेर्ने अवसर पाएको बताए ।

निर्णायकद्वयले गीत गाएर अवार्ड समारोहको अन्त्य गरेपछि किम्फका अध्यक्ष वसन्त थापाले सबैलाई धन्यवाद दिँदै अर्कोवर्षको किम्फको मिति घोषणा गरे । उनले अर्को वर्ष पनि पाँचै दिन (डिसेम्बर ८ देखि १२ तारिख) महोत्सव गर्ने बताए ।

Source: Kantipur Online

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।