दिलीपको डान्स स्टेप्स सकियो रे

काठमाडौ, मंसिर २१ - झन्डै १५ वर्षअघि नायकको सपना बोकेर दिलीप रायमाझी कीर्तिपुरदेखि पुतलीसडक दिनहुँ आतेजाते गर्थे, नृत्य सिक्न । नभन्दै उनको सपना 'साइड डान्सर' मै सीमित भएन । लगत्तै फिल्म 'भानुभक्त' मा भानुभक्त बनेर देखिएका उनले त्यसपछि 'जिन्दगानी' बाट आफ्नो असली परिचय दिए र रातारात डान्सर हिरो भए ।

समय धेरै बदलियो यसबीच । यी चकलेटी हिरो फिल्मबाट करिब ओझेल परे । तर अहिले उनी १५ वर्षअघि नै फर्किएको झैं लाग्छ । दिनहुँ सानेपाबाट कुपण्डोल नृत्य सिक्न आउँछन्, हिरो बन्नकै लागि । झन्डै तीन महिनादेखि वेस्टर्न डान्स इन्स्टिच्युट धाउन थालेका हँसिला नायकले कोरियोग्राफर अर्जुन गौतमसँग ज्याज, हिपहप, रक एन्ड रोल, ज्याज, साल्सा, हिब्रोलगायत पश्चिमा नृत्यमा ज्यान मर्काउन थालेका हुन् । 'वास्तवमा स्टक सिद्धिएर यहाँ आउनुपरेको हो,' आफ्नै लगानीमा बनाइरहेको फिल्म 'मिस यू' मा नायिका नम्रता श्रेष्ठको जोडी बनेर देखिन लागेका दिलीपले खुलाए, 'जेजति जानिएको थियो, अब यसैमा काम चलाएर हिरो बन्न खोज्यो भने दर्शकले गाली गर्लान् नि ।'

नृत्यमा पोख्त मानिएका यी नायक डान्स सिकेर पूरै नयाँपनमा देखिने बताउँछन् । 'जो दिलीप रायमाझी थियो, त्यो सकियो, अब नयाँ फेसमा दिलीपलाई दर्शकले देख्न पाउनुहुनेछ,' बिहान नियमित दुई घन्टा प्रशिक्षण लिइरहेका उनले नयाँ अवतार भने फिल्म 'मिस यू'बाटै देखिने बताए । फिल्मको अन्तिम गीतको सुटिङका लागि नम्रतासहित बैंकक जान लागेका नायकले फिल्ममा बिबोइङ डान्ससमेत गरेका रहेछन् ।

बिहीबार बिहान उनी डेढ दर्जन युवायुवतीसहित साल्सा सिक्न व्यस्त थिए । 'मिस यूको रिलिजपछि नयाँ फिल्मको प्रोजेक्ट सुरु गर्दै छु, त्यसैका लागि डान्स सिकिरहेको हुँ,' प्रवासमा पढिरहेका नेपाली विद्यार्थीको प्रेममा बनाइएको 'मिस यू' लाई सम्भवतः भ्यालेनटाइन-डे (१४ फ्रेब्रुअरी) का दिन रिलिजपछि उनी नृत्यलाई नै केन्द्रमा राखेर नयाँ फिल्म बनाउने तयारीमा जुटेका हुन् । 'त्यसमा मैले पनि काम गर्दै छु,' दिलीपलाई नायकमा आदर्श मान्दै आएका उनकै अहिलेका नृत्य प्रशिक्षक अर्जुनले खुलाए । फिल्ममा खेल्ने सपना बुन्दै उनीसँगै डान्स सिकिरहेकालाई देख्दा अहिले दिलीपलाई आफ्नै विगतको याद आउने गरेको सुनाउँछन् ।

नृत्य सिकाइरहेका अर्जुनले दिलीपलाई फ्री स्टाइलमा डान्स गर्न आउने भएकाले पनि 'टेक्निकल स्टेप' सिकाउन गाह्रो नपरेको सुनाए, 'प्रायः फिल्ममा फ्री स्टाइलमा मात्रै नचाइन्छ र काम चलाइन्छ ।' अहिले साल्साको आधारभूत नृत्य सिकाइरहेका उनले नायकलाई छिट्टै डिस्को डान्स सिकाउन लागेका रहेछन् । २/३ वर्षभित्र प्रायः सबै नृत्य सिक्ने लक्ष्य बोकेका दिलीप विश्वमा यति धेरै नृत्य पनि हुन्छन् भनेर सोचेकै थिइनँ भन्छन्, 'अहिलेसम्म त चलेकै थियो, सिक्नु धेरै रहेछ ।'

१५ वर्षअघि क्लासिकल, फोक र मोडर्न डान्स सिकेकै आधारमा अहिलेसम्म चलेकोमा अब अभिनय पनि सिक्ने बताए । 'पहिले त एक्टिङ सिक्न पनि स्कुल थिएन,' उनले भने, 'छुरीलाई जति घोट्यो त्यति धारिलो हुन्छ, म पनि धारिलो बन्दै छु ।' Source: Kantipur Online

Blogger Templates

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।