नाचगानमा झुम्यो कतार

दोहा (कतार)-, मंसिर ५ - 'बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस्, यी हातले सधैं सधैं नेपाल लेख्न पाइयोस्..' भन्दै गायिका मल्लिका कार्की मञ्चमा देखा परिन् । उनको गीतसँगै मरुभूमिको बन्जरमा काम गरेका कतारका नेपाली श्रमिकहरू स्वदेशको यादमा डुबे ।

'उडीउडी हिँड्छ मन चियाबारीमा...' गीतको बोलमा नायिका करिश्मा मानन्धर नाच्दा दर्शकले इलाम पुगेको अनुभव गरे । लगत्तै 'चोरेर लग्यो यो मन उसैले' भन्दै मौसमी गुरुङ देखा परिन् । नायक दिलीप रायमाझीले भने डान्सर सौजन्य सुब्बालाई 'झिम्काइदेऊ परेली...' भन्दै दर्शकलाई नचाए । मरुभूमिमा तापक्रम घट्दै गरेका बेला यो साता गीत, नृत्य, संगीत र कमेडीको बहारले नेपाली थप तातिए । बक्रइदको तीन दिने छुट्टी र शुक्रबारे बिदाको सदुपयोग गर्दै कतारमा स्थानीय र राष्ट्रिय गरी आधा दर्जन सांस्कृतिक कार्यक्रम लगातार भए ।

बिदाको यो साता कतारमा कार्यरत विभिन्न नेपाली संस्थाले विभिन्न सांस्कृतिक कार्यक्रम गरेका छन् । यही अवसरमा स्याङ्जा र पाल्पाको सीमा क्षेत्रमा पर्ने राम्दीघाटमा निर्माणाधीन वृद्धाश्रमको सहयोग जुटाउन स्याङ्जा सहयोग समाज, कतारले नेपालबाट १० कलाकार बोलाएर 'नेपाली लोकपि्रय साँझ' गर्‍यो । कार्यक्रममा नायिका मानन्धर, नायक रायमाझी, गायिका कार्की र गुरुङसहित चलचित्र, गायन, मोडलिङ तथा हास्यक्षेत्रका गायक नरेन्द्र प्यासी, लोकगायिका सुनिता दुलाल, लोकगायक खुमन अधिकारी, हास्य कलाकार गोपाल नेपाल

-फिस्टे), नायिका सोभिता सिंखडा र बालकलाकार सुजन सुनारले आफ्नो कलामार्फत परदेशिएका नेपाली मजदुरलाई घरको स्वाद दिलाए ।

'बिदाको बेला मनोरञ्जन पनि हुने र वृद्धाश्रमका लागि सहयोग जुटाउन पनि सजिलो हुनाले राष्ट्रिय कलाकार झिकाएर कार्यक्रम गरेका छौं,' स्याङ्जा समाजका अध्यक्ष गुरुनारायण रानाभाटले कान्तिपुरलाई भने । उता नेपाली, मैथिली, भोजपुरी गीतको संगम बनाएर धनुषा सेवा समाजले खुला स्टेडियममा सांस्कृतिक कार्यक्रम पनि यही अवसरमा गर्‍यो । कार्यक्रममा नेपाली मात्र नभई भारतीय कलाकारसमेत आएका थिए । नेपालबाट मोरङका गायक रामा मण्डल, महोत्तरीकी उद्घोषक बन्दनाश्री मैनाली, डान्सर सप्तरीकी डोली सरकार, जनकपुरकी प्रेरणा मिश्र, काठमाडांैकी जेसिका खड्का र सुनिता सहभागी थिए । उनीहरूले साँझ साढे ६ बजेदेखि मध्यरातसम्म लगातार नृत्यबाट दर्शकलाई मनोरञ्जन पस्किएका थिए । बिहारकी गायिका देवीले झन्डै एक दर्जन हिन्दी, मैथिली, भोजपुरी गीत पनि गाइन् ।

गायक विकासकुमार कर्णको 'आज मन उडेर भाग्छ...', 'अकेली बाजार न जाया करो...' लगायतका गीतमा दर्शक झुमेका थिए । गायक रामाले आफ्नो एल्बम 'मेड इन मिथिला' का केही गीत सुनाएका थिए । उद्घोषिका मैनालीले फिल्मी गीतहरू गाउँदै दर्शकलाई समेत नचाइन् । 'आपसी सद्भाव र मनोरञ्जन दिलाउन सांस्कृतिक कार्यक्रम गरेका हौं,' धनुषा समाजका अध्यक्ष मोहरम नदाफले भने ।

राष्ट्रियस्तरमा सांगीतिक कार्यक्रमका साथै स्थानीय विद्यालयलाई सहयोग जुटाउन कास्की आदर्श सेवा समाज र फेवा सांस्कृतिक परिवारले कतारमै श्रमरत कलाकारबाट 'नेपाली सांगीतिक कार्यक्रम' पस्कियो । न्यून आर्थिकस्तरका कलाकारका लागि कोष स्थापना गर्ने भन्दै अन्तर्राष्ट्रिय कलाकार संघ, कतारले चिठ्ठा कार्यक्रमसँगै 'लाइभ धमाका' सांगीतिक कार्यक्रम पनि गर्‍यो ।

यस्तै, मनकामना नेपाली सांस्कृतिक परिवार कतारले आफ्नो तेस्रो प्रस्तुतिको रूपमा स्थानीय कलाकार तथा गैरआवासीय नेपाली ताराका टपटेन कलाकारलाई लिएर दर्शकलाई मनोरञ्जन दिलाएको थियो । Source: Kantipur Online

Blogger Templates

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।