काठमाडौं, मंसिर ६ (नागरिक) - फिल्म 'हात लाग्यो शुन्य'को मुहूर्त कार्यक्रममा अभिनेता राजेश हमाल निर्धारित समयभन्दा झन्डै एक घन्टा ढिलो आए, पुरानै शैलीमा। तर, नयाँ 'लुक्स'का साथ। उनको लामो कपालमा कैंची चलेको थियो। आमाको निधनपछि केही फिल्ममा छोटो कपालमा देखिएका राजेशले फिल्मकै लागि पहिलोपटक कपाल छोट्याएका हुन्। आइतबार राजधानीमा फिल्मकर्मी सामु आफ्नो कपालकै विषयमा गफिँदै थिए उनी। 'ऐना हेर्दा त झुक्किनु हुन्न नि,' ठट्यौलो मुडमा देखिएका राजेशले 'फुटेज' नखाई जवाफ दिए, 'किसानले धान काटेपछि आफ्नो खेत बिर्सिन्छ र?' कपालले धानेको 'अभिनय खेती'मा उनी परिवर्तन ल्याउन चाहन्थे। 'मैले त कपाल काट्न चाहेकै थिएँ। तर, निर्माताले नै लामो कपाल रुचाए,' आफ्नो कपाललाई किसानको बालीसँग तुलना गर्दै उनले थपे, 'सधैं एउटै बाली लगाउनु पर्छ भन्ने छैन नि। कहिलेकाहीँ नयाँ चीज रोपेर पनि हेर्नुपर्छ। कतै अझै धेरै पो फल्छ कि!'
'हात लाग्यो शुन्य'मा आफ्नो हुलिया मात्र होइन भूमिका समेत फरक रहने दाबी गरे उनले। 'फाट्टफुट्ट कमेडी रोलमा त अभिनय गरेकै हुँ। यो फिल्ममा पूरै कमेडी छ मेरो,' नयाँ भूमिका निर्वाह गर्न मेहनतमा कन्जुस्याइँ नगर्ने बताए उनले।
छिट्टै सुटिङ थालिने बताइएको यो फिल्ममा झरना थापा, किरण केसी, सुशील पोखरेल लगायतका कलाकारले अभिनय गर्नेछन्। दीवाकर मैनालीको स्क्रिप्ट रहेको फिल्ममा लोकचन्द्र थापाको छायांकन, विकास चौधरीको संगीत र रामजनकको फाइट रहने छ। विश्व नेपालको प्रस्तुति रहने फिल्मलाई विजयविक्रम बस्नेतले निर्देशन गर्नेछन्। Source: Nagarik News
0 प्रतिकृया/हरु:
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।