के यो माया हो ?

कास्की, मंसिर १२ - लेकसाइडस्थित होटल ताज पुग्नुभयो भने झुक्किनु हुनेछ । यतिबेला होटल ताज पूर्ण सुटिङ स्थल बनेको छ । शुक्रबार राति अबेरसम्म सुटिङको चहलपहल थियो । सुटिङकै लागि होटलको साजसज्जा पनि भिन्नै बनाइएको छ । लाखांै

खर्चेर तयार पारिएको सेटमा राजधानीबाट आएका सुटिङ टोली व्यस्त देखिन्छ ।

सुदर्शन थापाले निर्देशन गरेको 'के यो माया हो ?' का लागि होटल थप सजिसजाउ पारिएको हो । यसअघि पोखरामा सुटिङ गरिएको फिल्महरूका लागि यति भव्य स्टेज बनाइएको थिएन । 'सुटिङका लागि यी कोठाहरू सजाउन धेरै मेहनत पर्‍यो,' निर्देशक थापाले भने, 'सोचेजस्तै बनेको छ ।' उनले चलचित्रको सुरु र अन्त्य सबै दृश्यको सुटिङ नै पोखरामा गर्न लागेको बताए । सबै दृष्टिकोणले उपयुक्त दृश्य र कथाले पनि पोखरा नै मागेकोले सबै छायांकन यतै सकाउन उनी कस्सिएका हुन । 'इन्डोर' र 'आउटडोर' सुटिङका लागि यहाँका विभिन्न मनोरम स्थलहरूलाई उनले छानेका छन् ।

चलचित्रमा पोखराकै कथा रहेको उनले बताए । यसअघि तन्नेरी पुस्तामा आधारित 'मेरो एउटा साथी छ' निर्देशन गरेका उनले यो चलचित्र पनि तन्नेरी लक्षित भएको बताए । 'विवाह अगाडि नै सँगै बस्ने युवा-युवतीको कथा हो,' उनले भने, 'पछिल्लो पुस्ताको वास्तविकतालाई उतार्न खोजेको हुँ ।'

विवाहअगाडि युवायुवतीसँगै बस्दा र विवाह गर्नुपर्दा आउने समस्यालाई चलचित्रमा उठाउन खोजिएको थापाले बताए । यसरी सँगै बस्ने पात्रका रूपमा अरुणिमा लम्साल, सुषमा कार्की, आर्यन सिग्देल र सौगात मल्ल रहने छन् । पोखराकै सुरेश पहारी, गौरव हिराचन र शंकर गुरुङले लगानी गरेका हुन् । सुगम पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, भारतीय लेखक निरज विक्रमको पटकथा र संवाद रहेको बताइएको छ । एक करोडको लागतमा बन्न लागेको चलचित्रको सुटिङ युनिट अझै एक महिना पोखरामै रहने निर्माता सुरेश पहारीले बताए ।

Source: Nagarik News

Blogger Templates

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।