संख्या बढाउन मात्रै

काठमाडौ, कार्तिक ३० - भनिन्छ, प्रेम अन्धो हुन्छ । हुन पनि कतिपय प्रेमीहरू मन पर्ने व्यक्तिको माया पाउन जस्तोसुकै हर्कत गर्न पनि पछि पर्दैनन् । तर त्याग पनि प्रेम हो भन्ने पनि नभएका होइनन् ।

राजधानीका केही हलमा चलिरहेको 'तिमी मात्र तिमी' ले पनि त्याग/बलिदानमा पनि प्रेम लुकेको हुन्छ भन्ने तर्कलाई बल दिएको छ । एक मूकपात्र रजनी -झरना थापा) को एकतर्फी प्रेमलाई केन्द्रबिन्दुमा राखेर कृष्ण थापाले फिल्म लेखेका हुन् । रजनीले आठ वर्षअघि बस दुर्घटनामा बाबुआमा गुमाएको पीडाले आवाज गुमाएकी हुन्छे ।

बैंसालु उमेरमा हिँडिरहेकी रजनीको बोली गुमेपछि ऊ आफूले एकोहोरो मन पराउँदै आएको आकाश -राजबल्लभ कोइराला) लाई मनभरीको कुरा सुनाउन सक्दिन । आफ्ना भावना अभिव्यक्त गर्न पेन्टिङको सहारा लिन्छे ।

एनआर फिल्म्स ब्यानरमा निरज ढकाल निर्मित तथा योगेश घिमिरे निर्देशित 'तिमी मात्र तिमी' मा रजनीले सानैदेखिको साथी आकाशलाई जीवनसाथी मानेर एउटा पेन्टिङ बनाएकी हुन्छे । तर आफ्नो एकतर्फी प्रेमका बारेमा उसले आकाशलाई समयमै थाहा दिन सकेकी हुन्न । आकाश आफ्नै साथी वषर्ा -नन्दिता केसी) सँग बिहे गर्ने खबर पाएपछि रजनी आहत बन्छे । जीवनमा दोस्रोपटक खेपेको ठूलो पीडाले उसलाई पागलतुल्य बनाइदिन्छ । ऊ वषर्ालाई मारेर भए पनि आकाशलाई पाउने कोसिसमा लाग्छे ।

उक्त फिल्मको प्लस प्वाइन्ट भनेको कथामा केही नयाँपन हो । तर मूलकथालाई बल पुग्ने गरी पटकथा गतिलो हुन सकेको छैन । फिल्म आउट अफ ट्रयाक भएको छ । सवा दुई घन्टा लामो फिल्मको मध्यान्तरसम्म रजनीको पीडामा सहानुभूति देखाउने दर्शक त्यसपछि उसको खलनायकी रूप देखेपछि अन्योलमा पर्न बाध्य हुन्छन् ।

मूल पात्रलाई क्रूर बनाइदिएपछि उसले दर्शकको सहानुभूति गुमाउनु स्वाभाविक हो । तर पटकथा कतिसम्म फितलो छ भने रजनीको सिकार बनेको आकाशले पनि त्यो सहानुभूति पाउन सक्दैन । आकाशको रजनीप्रतिको अस्वाभाविक घृणा त्यसको कारक बनेको छ । प्रेमको आलाप र नपाउँदाको पीडामा पागल बन्नुको नियतिलाई दृश्यमा ठीकसँग उतार्न नसक्दा रजनी पागलप्रेमीभन्दा हत्यारा देखिन पुगेकी छ । निर्देशकले दर्शकलाई पात्रसँगै डोर्‍याउनबाट चुक्दा फिल्मको अन्त्यमा रजनीले प्रेमका लागि गरेको बलिदान पनि दर्शकलाई सस्तो लाग्छ ।

फिल्मका कमजोरी एक-दुइटा मात्रै छैनन् । झरनाले मूकपात्रको भूमिकामा छिन्, तर उनको अभिनयले कहीँ पनि त्यस्तो छनक दिन सकेको छैन । नायिकाको अभिव्यक्तिको माध्यम बनेको पेन्टिङ पनि केही न कामको छ । द्वन्द्वका दृश्यमा समेत नयाँपन छैन । पाकेटमारलाई रजनीले खुला ठाउँमा पिट्दाको दृश्यमा सुटिङ हेर्न आएका रमितेसमेत देखिनु अर्को अस्वाभाविकता हो । अन्जानमै फिल्मको पात्र बन्न पुगेको भीडले पाकेटमारले खाएको पिटाइमा मनोरञ्जन लिइरहेको देखिन्छ ।

त्यस्तै, अर्को दृश्यमा गाडी दुर्घटनामा बाह्र हातमाथि उचालिएर थेचारिएको पात्र खुट्टा खोच्याउने अवस्थामा मात्रै पुग्नु तर केही समयपछि आफैं ठीक भई उसले अरूलाई इन्तु न चिन्तु हुने गरी कुटपिट गरेको दृश्यले फिल्मलाई झन् हास्यास्पद बनाएको छ ।समन अधिकारी र गोविन्द प्रभातको नृत्यनिर्देशन सामान्य छ । संगीतमा ताराप्रकाश लिम्बूले आफूलाई चिनाउने कोसिस गरेका छन् । समग्रमा 'तिमी मात्र तिमी' ले नेपाली फिल्मको सूची लम्ब्याउनेबाहेक खासै योगदान गरेको छैन

Source: Kantipur Online

Blogger Templates

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।