आफू रुँदै हँसाउँदै

चितवन, कार्तिक २६ - 'एक्लै हिँडिन्छ, छिनछिनमा अतीतका कुराले पिरोल्छ,' घोप्टे जुँगा मुसार्दै उनले भने, 'अरूलाई हँसाउने, आफू रुने हो ।' वीरबहादुर गन्धर्व प्रत्येक वर्ष सिजनमा सौराहा र्झछन् । पर्यटकलाई धुन र गीत सुनाएर अलिकति आर्जन गर्छन् । उनका दुई छोरा पोखरा-काठमाण्डु बसमा सांरगी रेटेर गुजारा चलाउँछन् ।

दस वर्षअघि राष्ट्रिय प्रतिभा पुरस्कार पाएका वीरबहादुरको अवस्था पहिले यस्तो थिएन । पुरस्कारले दिएको खुसी त्यसै साल चँुडियो । उनलाई राष्ट्रिय नाचघरको वाद्यवादकबाट हटाइयो । तनहुँ दुधेकुना-८ का उनले २०४५ सालमा नाचघरमा वाद्यवादकको जागिर पाएका थिए । सरकारले अस्थायी हटाउने क्रममा उनी खोसुवामा परे ।

'जीवनमा जागिरबाट निकालेको क्ष्ाणले पिरोल्छ,' बुधबार सौराहास्थित राप्ती किनारमा भेटिएका उनले भने, 'एउटा सारंगी राखिदिनुस् भन्दा मानेनन् ।' पुनर्बहाली हुने आशमा एक वर्ष नाचघर धाए । उनका अनुसार अहिलेसम्म नाचघरमा सांरगीवादक छैनन् ।

उनी काम गर्ने राजधानीस्थित अन्नपूर्ण कल्चर हाउस चलेन । सुनधारामा सांरगी सिकाउँथे । त्यो बन्द भो । 'तीनै जागिर गए,' उनले भने, 'अनि काठमाण्डुसित नाता टुट्यो ।' जागिर छँदा निकै व्यस्त थिए । बिहान निस्कने उनी राति १२ बजे घर

पुग्थे । बेरोजगार बनेपछि सडकमा फर्किए । ५/६ महिना गृहजिल्लाका मावि घुमेर धूमपान र मदिरापान नगर्न विद्यार्थीमाझ सांरगी रेटेर चेतना फैलाउने काम गरे ।

उनी रेडियो नेपालमा गीत गाउने उद्देश्यले २०३२ सालमा काठमाण्डु छिरेका थिए । त्यसअघि उनले गाउँघर डुली सांरगी रेटेर पैसा र अन्न बटुल्थे । ६० वर्षअघि जन्मेका उनले ६ कक्षासम्म पढे । 'अवस्था कमजोर भएकाले १५ वर्षको उमेरदेखि सांरगी बजाउन थाले,' भने, 'घर घर गएर लाहुरे, वृद्धका पीडा, घटना र मायाप्रीतिका गीत गाइन्थ्यो ।' अठोटअनुसार उनले रेडियो नेपाल पुगेर दुई गीत गाए ।

घर त सिमलटार

म आउँछु मंगलबार

बहिनी नमस्कार...

यो गीत चर्चित भयो । 'बीचको अवधि कला सिक्ने अवसर पाएँ,' उनले भने, 'त्यही क्रममा नाचघरमा जागिर पाएँ ।' तनहुँमा रहेको गाउँसेवा कोषमार्फत् गाउँलेलाई तरकारी र फलफूल लगाउन प्रेरित गरे । गरिबीविरुद्ध गाए । 'चिम्टी दान महायज्ञ हो भन्दै गाएँ,' भने, 'परिवार नियोजन गर्न आह्वान गरें ।'

गीत समेटिएको किताब प्रकाशन गरे । ०५२ सालमा कोषले घाँसी स्मृति पुरस्कार दियो । त्यसै वर्ष लोकगायनतर्फ भद्रकुमारी पुरस्कार पाए । त्यसको ३ वर्षपछि तत्कालीन राजा वीरेन्द्रबाट गोरखा दक्ष्ािण बाहु चौथो पाए । त्यसपछि प्रतिभा पुरस्कार पाए ।

काठमाडौंबाट उनी गाउँ फर्केका थिए । एकपटक मुग्लिन झरेका बेला साथीले सौराहा गएर पर्यटकलाई सारंगीको धुन र गीत सुनाउन सुझाए । २ वर्षदेखि यता आउछन् । यसपालि उनी झरिसके । टाँडीमा डेरा लिएर बसेका उनी टाँगामा बिहान ८ बजे सौराहा पुग्छन् । राप्ती किनारमा भीड लागेका पर्यटकबीच 'रेशम फिरिरी...' बाट गाउन थाल्छन् । 'पाहुनाको मागबमोजिम गाउँछु,' उनले भने, 'विदेशीको तुलनामा नेपाली रमाउँछन् ।' विदेशी सुन्छन्

मात्रै । नेपाली साथै गाउँछन् र नाच्छन् पनि । 'आपmनै दाजुभाइ ठानेर होला, पैसा दिन्छन्,' उनले भने ।

टाँडी-सौराहा आउजाउ गर्न ८० रुपैयाँ दैनिक लाग्छ । ८ वर्षदेखि सुगरका बिरामी उनलाई दैनिक ८० रुपैयाँको दवाई लाग्छ । झोलामा २/३ सारंगी हुन्छन् । मौका परे बिक्री गर्छन् । तीन छोरीसहित पाँच सन्तानका बाबु उनले आर्जनले श्रीमती पालेका छन् । 'राज्यले रोजीरोटी दोसिदियो,' उनले भने, 'मेरो स्थान कहीँ देख्दिनँ ।' Source: Kantipur Online

Blogger Templates

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।