काठमाडौं, असोज २९ (नागरिक) - दशैंको छुट्टी फिल्म कर्मीलाई पनि लागेको छ। फिल्मको पोष्ट प्रोडक्सन मात्र होइन सुटिङ समेत रोकिएको छ अहिले। सुटिङमा रहेका करिव आधा दर्जन फिल्म युनिटले फुलपाति भन्दा एक दिन अगाडि नै विदा लिइसकेका छन्। विदाको सदुपयोग गर्दै दशैं मनाउन अधिकांस फिल्मकर्मी आफ्नो गृहनगर पुगेका छन्। करिव एक हप्ता अघि सुटिङ थालेका शोभित बस्नेतले बिहीबारदेखि एक हप्ताको लागि फिल्म 'तँ त साह्रै सप्रिस नि बद्रि'को सुटिङ रोकेका छन्। 'म त दशैंमै पनि काम गर्ने मुडमा थिएँ। तर, युनिटका सबैले बर्षदिनमा आउने चाड भन्न थाले। त्यसैले रोकें,' उनले नागरिकलाई भने। शोभितको साथमा जयकिशन बस्नेत, रेजिना उप्रेती, सुनिल थापा, सम्राट सापकोटा लगायतका कलाकारले यो फिल्ममा अभिनय गरेका छन्। फिल्मको सुटिङ तिहार अघि सकाउने निर्माता जयकिशन जानकारी दिए। विदा मिलेपछि गृहनगर गजुरी गएर ढुक्कले दशैं मनाउन पाएको रेजिनाले बताइन्। निर्देशक शिवजी लामिछानेले मंगलबार नै फिल्म 'जलजला'को सुटिङ प्याकअप गर्न भ्याएका छन्। 'दशैं अघि सकाउने लक्ष्य हो। सोचेकै समयमा सकियो,' दशैं मनाउन गृहनगर स्याङ्जा जान लागेको जानकारी दिंदै उनले भने,'काम सकाएर दशैं मनाउन पाउँदा रमाइलो लागेको छ। सुटिङ नसकेको भए तनाव हुन्थ्यो।' समयमै सुटिङ सकिएकाले कलाकार रेखा थापा र आयुस रिजालले दशैं गृहनगरमै मनाउन पाउने भएका छन्।
'निर्धारित तालिका अनुसार नै फिल्म रोकेका हौं,' रेग्मीले भने,'दशैंमा रोक्ने र तिहार अघि सकाउने उदेश्यले सुटिङ थालेका हौं। सोही बमोजिम काम सकिन्छ।' राजवल्लभ कोइराला, निरज बराल, गरिमा पन्त लगायतका कलाकारको अभिनय रहेको यो फिल्मको पूर्णिमाको भोलिपल्टबाट सुटिङ सुचारु गरिने निर्देशकले जानकारी दिए।
सुटिङ सकिन तीन दिन मात्र बाँकी भएपनि 'मालतीको भट्टी'को सुटिङ रोकेको जानकारी दिए निर्माता प्रदीप उदयले। दशैंमा काम गर्ने मुड नहुने हुँदा सुटिङ रोकेको उनको भनाइ छ। उनी पनि दशैं मनाउन गृहनगर वुटवल जाने तयारीमा छन्। फिल्म 'संसार आफ्नै'को भने दशैंको मुखमै सुटिङ सकिएको छ। काम सकाएको मुडमा दशैं रमाइलो हुने निर्माता गोविन्द शाहीले बताए। कार्यरत फिल्मको सुटिङ सकिएकोले फुर्सदमा दशैं मनाउन पाउने भएकी छिन् हिरोइन झरना थापाले। 'सबैले रमाइलो गरिरहेको बेला काममा जानुपर्दा नरमाइलो हुन्थ्यो। तर, त्यसो भएन,' झरनाले भनिन्। From: Nagarik News
0 प्रतिकृया/हरु:
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।