काठमाडौ, भाद्र ३१ - दाङबाट दुई दशकअघि गायकी सपना बोकेर राजधानी पसेको वर्ष दिनभित्रै शिशिर योगीले रेडियो नेपालमा पहिलो गीत गाए, 'दिलको प्यास म कहाँ गई मेटाऊँ...' गाउनलाई 'प्रेमको प्यास' गाए पनि उनमा चाहिँ गायन र संगीतको प्यास थाती नै थियो, जसका लागि सहरमा अनेक संघर्ष गरे । 'ती संघर्षका दिनहरू मेरा प्रेरणा थिए,' बुधबार शान्तिनगरस्थित बासस्थानमा भेटिएका ३९ वर्षे शिशिरले सम्झे, 'एक छाक मात्र खाएर पनि संगीत साधनामा लागिरहेँ ।'
ढिलै सही, शिशिरले सफलता हात पारेरै छाडे । २०५९ मा पहिलो एल्बम 'पहिचान' मा समेटिएको 'सारंगी त रेटे पनि बच्छ मीठै धुन...' लगायतका गीतहरूले चर्चा बटुल्न थालेपछि उनको असली पहिचानमा इँटा थपिन थाले । त्यसको केही वर्षमै 'सुस्केरा' एकल एल्बम निकालेका उनी यतिबेला केही दुर्लभ र ऐतिहासिक गीतलाई समेट्दै नयाँ एकल एल्बम 'मोड मोडमा' को अन्तिम तयारीमा जुटिरहेका छन्, शनिबारै जमलस्थित राष्ट्रिय नाचघरमा उनको एकल कन्सर्ट 'समयका स्वरहरू' पनि हँुदै छ ।
'अब खुशीका दिनहरू सुरु भए,' राजधानीका आधा दर्जन स्कुलहरू सगीत गुरुको कामसमेत गर्दै आइरहेका उनले भने, 'यसपटक एकल कन्सर्ट र एल्बमको संयोग सँगसँगै पर्यो ।'
यो संयोगको फाइदालाई भने उनले कसन्र्टबाटै श्रोता-दर्शकलाई बाँड्न चाहेका छन् । एल्बम रिलिज हुनुअगावै उनले केही ऐतिहासिक गीतलाई कसन्र्टमा गाउनेछन् । पञ्चायतको सुरुआती समय (२०१८) मा नारायणगोपालले संगीत भरेर गाउन खोज्दा रेडियो नेपालको सेन्सर बोर्डले रोकेको गीतसँगै महाकवि लक्ष्मीप्रसाद देवकोटाको 'सियोको टुप्पोले मुटु बिझ्यो...' गीत पनि गाउँदै छन् । यसबाहेक 'अग्रजहरूको सम्मानमा' अम्बर गुरुङको संगीत-स्वर र ईश्वर बल्लभको शब्द रहेको 'यो जिन्दगीको के कुरा...' गोपाल योञ्जनको रचना, संगीत र गायन रहेको 'बनेको छ पहराले यो छाती मेरो..., नारायणगोपालकै स्वर-संगीत र भूपि शेरचनको शब्द रहेको 'अल्झेछ क्यारे पछ्यौरी...' सँगै रामेशको 'रोक्ने को हो दूरदर्शी विचारका धारा...' गाउँदै छन् ।
'कन्सर्टको सुरुआत भने झन्डै ५० वर्षअघि डीबी महेश पाल्पालीले रेडियो नेपालमा गाएको 'हे आमा नेपाल तिमीलाई संसारकै राम्री बनाउँला...' बाट हुनेछ,' उनले भने, 'यो निकै पुरानो गीत भएर पनि यसको गायकबारे खासै खोजबिन हुन सकेको छैन । त्यही भएर यसलाई गाउन खोजेको ।' गीतको शब्दकै कारण पञ्चायतकालमा रेकर्ड गर्न नसकेको नारायणगोपालको डमीलाई भने उनले एल्बममा पनि समेटेका छन् । 'गायक सरू जोशीले डमी सुरक्षित राखेका रहेछन्,' उनले सुनाए ।
झन्डै दुई वर्षअघि रसियन कल्चर सेन्टरले पहिलो एकल कन्सर्टमा उनलाई उभ्याइएको थियो । दोस्रो एकल कन्सर्टमा भने उनले आफ्नो सातवर्षे छोरोलाई समेत गायकी परिचयसहित चिनाउँदै छन् । छोरो संयोग योगीले शिशिर स्वयंले गाएको राष्ट्रवादी गीत 'तिम्रो पनि रगत आखिर मेरैजस्तो होला...' गाउनेछन् । 'हामी बाउ-छोराको,' शिशिरले भने, 'अब एउटै बाटो ।' From: Kantipur Online
1 प्रतिकृया/हरु:
राम्रो समाचार ! म चाहिँ 'छन्दको सुगन्ध'मा शिशिर योगीबाट प्रभावित छु ।
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।