काठमाडौ, भाद्र १५ - तीन वर्षदेखि रोकिएको चलचित्र अर्वाडको अन्ततः 'स्टक क्लिअरेन्स' भएको छ । नेपाल चलचित्र विकास बोर्डले वर्षेनी दिँदै आएको अवार्ड मुलुक गणतन्त्रात्मक भएपछि वितरण हुन सकेको थिएन ।
सभामुख सुवासचन्द्र नेम्वाङले सोमबार २०६३, २०६५ र २०६६ का पुरस्कृत फिल्मलाई एकसाथ ५६ अवार्ड बाँडे । सभामुखले नेपाली फिल्म क्षेत्रमा लामो समयदेखि योगदान गरेबापत् निर्माता उद्धव पौडेललाई २ लाख रुपैयाँसहित 'दीर्घ साधना सम्मान' हस्तान्तरण गरे ।
यसै वर्षदेखि राष्ट्रप्रमुखका रूपमा राष्ट्रपतिका हातबाट अवार्ड वितरण गर्ने योजनाअनुसार नै अवार्डलाई 'राष्ट्रिय' स्तरको बनाउन खोजिएको थियो । तर अन्तिम समयसम्म पनि राष्ट्रपति डा. रामवरण यादवले इच्छा नदेखाएपछि अन्तिम समयमा आएर सभामुखलाई गुहारिएको हो ।
बोर्डको दसौं स्थापना दिवसका अवसर असार १६ मा दिने भनिएको अवार्ड तथा सम्मान विवादले अवार्डको दायरा फराकिलो हुँदा र राष्ट्रपतिको मुख ताक्दा दुई महिना ढिलो भएको हो ।
अघिल्लो वर्षमा सेन्सरपास फिल्ममध्येबाट मात्र अवार्ड दिने बोर्डको कार्य योजनामा फिल्मका सरोकारवाला संघसंस्थाका प्रतिनिधिले छुटेको वर्षका फिल्मलाई पनि दिन दबाब दिएपछि बोर्ड 'स्टक क्लिअरेन्स' का लागि सहमत भएको थियो । यसैवर्ष बोर्डले आदिवासी/जनजातिका फिल्मलाई समेत अलग्गै अवार्ड दिएको छ ।
नाचघरमा डेढ घन्टा चलेको समारोहमा गतवर्ष सेन्सरपास भएको 'छोडी गए पाप लाग्ला' सात अवार्डसहित २०६६ को उत्कृष्ट फिल्म घोषित भयो । उज्ज्वल घिमिरे निर्देशित उक्त फिल्मले उत्कृष्ट निर्देशक, अभिनेत्री (सञ्चिता लुइँटेल), छायांकार (दीपक बज्राचार्य), गायक (दीपक लिम्बू), गायिका (अञ्जु पन्त) र संगीतकार (सुरेश अधिकारी) मा अवार्ड हात पार्दै प्रतिस्पर्धी ३४ फिल्मलाई पछि पार्यो । उत्कृष्ट अभिनेताको अवार्ड अनुप बराल (दासढुंगा) को भागमा पर्यो । 'दासढुंगा' जुरी अवार्डका साथ सहअभिनेता -दयाहाङ राई) र सम्पादन (निमेष श्रेष्ठ) मा पनि अब्बल रह्यो । चार दिनपछि देशव्यापी प्रदर्शनमा आउन लागेको उक्त फिल्मका निर्देशक मनोज पण्डित हुन् ।
२०६५ मा सेन्सरपासमध्ये २१ फिल्मको प्रतिस्पर्धामा 'कहाँ भेटिएला' ले उत्कृष्ट फिल्म, निर्देशक (शिव रेग्मी), सम्पादक (रजनीनाथ पन्त), अभिनेत्री (श्वेता खड्का), द्वन्द्वनिर्देशक -राजेन्द्र खड्गी) र नृत्यनिर्देशक (वसन्त श्रेष्ठ) गरी ६ अवार्ड पायो । गायिका (अञ्जु), गायक (राजेशपायल), र संगीतकार (वसन्त सापकोटा) मा उत्कृष्ट रहँदै 'सिलसिला' ले सांगीतिक क्षेत्रमा आफूलाई अब्बल प्रमाणित गर्यो । उक्त फिल्मको 'सागरसरी चोखो माया...' गीतले तीनै अवार्ड दिलाएको थियो । केपी पाठकद्वारा निर्देशित 'मैना' ले सामाजिक जागरणतर्फको अवार्डका साथै पटकथाकार (नयनराज पाण्डे), साउन्ड इन्जिनियर (विनायक अर्याल), मेकअप म्यान (रवि केसी) र पाश्र्व संगीतकार (जुगल डंगोल) का अवार्ड चुम्यो ।
आदिवासी जनजातितर्फ नेपाल भाषाका फिल्मको वर्चस्व रह्यो । २०६६ को उत्कृष्ट 'बाला मयजू' ठहरियो भने २०६५ को 'पटचारा' । ती फिल्मले अभिनेत्री (मेलिना मानन्धर) को अवार्ड पनि पाए । २०६५ का लागि 'पटचारा' ले निर्देशक (रामकृष्ण खड्गी), थारू भाषाको 'ई कैसी नाता' ले अभिनेता -ओमप्रकाश चौधरी), तामाङ भाषाको 'गोदेवा' ले पटकथाकार -तेजबहादुर तामाङ) मा उत्कृष्ट रहे । २०६६ का लागि 'बाला मयजू' ले निर्देशक (पवन जोशी) को अवार्ड पनि पायो । तामाङ भाषाको 'चाङ श्युमी' ले पटकथाकार (सुरेश ग्यावक), थारू भाषाको 'डगर' ले अभिनेता (प्रेमराज चौधरी) मा पहिलो स्थानमा रहे ।
पहिले नै जुरीले मूल्यांकन गरी खामबन्दी निर्णय बुझाइसकेको २०६३ का फिल्मका लागि दिइएका ७ विधामध्ये उत्कृष्ट पटकथा र फिल्म अवार्डका लागि कसैलाई योग्य ठानिएन । प्रशंसनीय अभिनयमा फिल्म 'अल्पविराम' बाट रमा थपलियाले अवार्ड पाएकी थिइन् भने अभिनेतामा भुवन केसी (दुनियाँ) र अभिनेत्रीमा रेखा थापा (हिम्मत) बाट उत्कृष्ट छनोट गरिएका थिए । From: Kantipur Online
0 प्रतिकृया/हरु:
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।