काठमाडौ, श्रावण ९ - एक सातायता नेपाली फिल्म 'द फ्लास ब्याक' (फर्केर हेर्दा) प्रदर्शनमा छ । दयाराम दाहाल निर्देशित फिल्ममा पनि दर्शकले नायक- नायिकाबीचको चुम्बन दृश्य देख्नेछन् । तर, यसलाई फिल्मको 'टर्निङ प्वाइन्ट' बनाउनबाट भने निर्देशक चुकेका छन् ।
आफूलाई भन्दा बढी माया गर्ने प्रेमजोडी एउटै घरमा छन् र पनि टाढा छन् । हेराहेर हुन्छ, तर बोल्न/भेट्न पाइरहेका हुँदैनन् । कथाअनुसार इंग्ल्यान्डमै बस्ने शिरीष (आर्यन सिग्देल) नातेदारको बिहेका लागि नेपाल आउँदा सीमा (युना उप्रेती) सँग भेट हुन्छ । विस्तारै टुसाउँदै गएको प्रेमले शिरीषको सीमाप्रति यति धेरै त्यागको भावना पलाउँछ कि बाबुआमा, धनसम्पत्ति चटक्कै छोडेर मायालुको गाउँमा र्फकन्छ । तर उनीलाई भेट्नुअगाडि नै ऊ परिबन्दमा पर्छ ।
सम्पन्न खानदानको शिरीषको परिवार/ आफन्तजनले किसानकी बहिनी सीमालाई सम्पत्तिका लागि प्रेमको प्रपञ्च रचेको भन्दै बेइज्जत गरेपछि दाजु सन्तोषलाई त्यसको ईख बस्छ । तर सजाय निर्दोष शिरीषले भोग्नुपर्ने हुन्छ ।
'हिँडेर नसकिने जग्गा' एकै दिनमा जोत्नुपर्ने त छँदै छ, दर्जनौं गाईवस्तुलाई खुवाउने/पिआउने, दुहुने, भकारो सोहोर्ने सबै एक्लैले भ्याउनुपर्ने बाध्यता छ, त्यो पनि खुर्सानीको धुलोसँग निस्तो भातका भरमा । गर्न नसके वा परीक्षणकालको बीचमै सीमालाई भेटेमा बहिनीलाई पाउन नसक्ने दाजुको प्रस्तावमा शिरीष हुन्छ । तर सन्तोष (निखिल उप्रेती) को नियतै शिरीषले प्रस्ताव छोडोस् भन्ने हुन्छ र क्रूर व्यवहार देखाउँछ ।
यस्तोमा जुनेली एक रात शिरीषले सीमालाई एकान्तमा पाउँछ । उसैलाई पाउनका लागि कडा परीक्षा दिइरहेको शिरीषले अकस्मात् प्रेमिकालाई आफूसँग पाउँदा के गर्ला ? कसरी खुसी व्यक्त गर्ला ? पक्कै पनि हक्कानिएर चुम्बन खाँदो हो, बेस्करी अँगालोमा कस्दो हो । के गरौं र कसो गरौं हुँदो हो । तर फिल्ममा त्यस्तो हुँदैन । दुई नायक/ नायिकाले निरन्तरकै भेटझैं गरी कामुक ढंगले विस्तारै ओठमा ओठ जोडेर चुम्बन साटासाट गर्छन्, जसले पटक्कै परिस्थितिको गाम्भीर्यलाई सम्बोधन गर्दैन र दृश्य श्लील बन्न सकेको छ ।
गोपीकृष्ण मुभिजको ब्यानरमा निर्देशक दाहालले नै तयार पारेको कथामा राजुविक्रम थापाले क्यामेरा चलाएका छन् । अधिकांश नृत्यका दृश्य पोखरा सेरोफेरोमा खिचिएका भए पनि कुहिरो लागेको वातावरणले दर्शकले सौन्दर्य पाउन सक्दैनन् । गीतका लोकेसन एकै छन् । सुरेश अधिकारीको संगीत रहेको फिल्मका गीतहरू डा. भोला रिजाल, दयाराम पाण्डे, डा. विश्वनाथ प्रेेम र निर्देशक स्वयंकै रहेका छन् । गायनमा उदितनारायण झा, सञ्जिवनी, राजेशपायल राई, अञ्जु पन्त, प्रमोद पोखरेल र मनोज सेवाको भीडमा फिल्मकै नायिका युना उप्रेतीसमेत रहेकी छन् ।
जेनिशा केसी, निता पोखरेल, नीर शाह, रमेश बुढाथोकी, रवि गिरी, रेजिना उप्रेती, मुकुन्द थापालगायतको पनि अभिनय रहेको छ । गीत/संगीत र नृत्यमा फिल्म सबल देखिए पनि धेरै ठाउँमा पटकथा चिप्लिएको छ । जसमा
१. सुरुमै सीमा चलिरहेको बसभित्र सम्भावित बलात्कारको घटनामा पर्छिन् । तर प्याराग्लाइडिङमा कावा खाइरहेका उनका दाइले बहिनीको चित्कार सुन्ने कुनै गुन्जायस नै नभए पनि सोझै बसको अगाडिको सिसा फोर्दै भित्र पसेर गुन्डाहरूको रामधुलाइ गर्छ र बहिनीलाई जोगाउँछ । क्यामेरा वर्क यसमा चिप्लिएको छ ।
२. अन्तिम द्वन्द्व दृश्यमा सन्तोषले खलपात्रको कत्लेआम गर्छ र छोटो जेल सजाय
भोग्छ । कानुनले हत्याराका मतियारलाई पनि सजाय हुने व्यवस्था गरेपनि सीमा, शिरीषलगायतले कुनै सजाय भोग्नुपर्दैन । सन्तोष जेलबाट छुट्दा सीमा दोजिया भएको देखाइन्छ, यसले पनि सन्तोषको छोटो जेल समय थाहा पाउन सघाउँछ ।
३. शिरीषले सीमालाई कति माया गर्छ भन्ने त उसलाई पाउनका लागि गरेको दुःख काफी छ । तर एकपटक शिरीषले आफ्नै हर्कतले गर्दा सीमाको थप्पड खान्छ । खास ठूलो नलाग्ने उक्त घटनालाई फिल्ममा अतिरञ्जित गरेर नायक/नायिकाकै बिछोडको स्थिति बनाइन्छ ।
४. फिल्ममा शिरीषले खुर्सानीको धुलोसँग भात खाएको देखाइन्छ । सीमालाई पाउन उसले गरेको असम्भवप्रायः तपस्या दर्शकका लागि पाच्य नहुन सक्छ ।
५. हँसाउने बहानामा एक पात्रको मुखमा एकैसाथ ३/४ कप चिया पोखिँदा पनि पोलेको देखाइँदैन । बरू उल्टै चियामा चिनी कम भन्दै अनुहारमा चिनी पोख्दै चाट्न थाल्छ । यस्तै सस्तो हाँसो शिरीषले स्याउ लिएर आउने युवतीमा गर्छ । 'क्यामेराको चलाखीमा देखाइएको दृश्यमा उसले थालको स्याउलाई छुमन्तर गर्दा युवतीको कुर्ताभित्र छातीमा पुग्छ ।
६. 'फ्ल्यास ब्याक' भनिए पनि फिल्मको नामले नै सार्थकता पाएको छैन । फिल्मको अन्त्यमा आएर निखिलले जेलमा बस्दा प्रहरीलाई कथा भनेको जस्तो देखाउन खोजिएको छ । तर सुरुमा यसको कुनै दृश्यलाई उल्लेख नगरिएकाले 'फ्ल्यास ब्याक' बन्न सकेको छैन । From: Kantipur Online
0 प्रतिकृया/हरु:
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।