'कन्यादान'मा दामनको महिमा

काठमाडौं, असार १६ (नागरिक)- रिलिजको तयारीमा रहेको फिल्म 'कन्यादान'मा प्रेम र विवाहको मात्र गीत छैन, काठमाडौं नजिकैको पर्यटकीय स्थल दामनको महिमा समेत गाइएको छ। यो फिल्मको एउटा गीत दामन क्षेत्रमै सुटिङ गरिएको छ भने शब्दले समेत त्यस क्षेत्रकै विशेषता बताउँछ।
'दामन पर्यटकीय दृष्टिले महत्वपूर्ण छ। त्यसलाई फिल्ममार्फत् फैलाउन सकियोस् भनेर एउटा नौलो गीत राखेको हुँ,' मंगलबार गीत रिलिज कार्यक्रममा निर्देशक शोभित बस्नेतले भने, 'फिल्मको विषयसँग सुहाउने गरी गीत राखेका छौं।' फिल्मका दुई जोडी भागेर दामन पुगेपछि त्यहाँको सौन्दर्यले मुग्ध भएर गीत गाउने उनले जानकारी दिए।

फिल्मसँग 'दामन महिमा'को सम्वन्ध के? प्रश्नमा संगीतकार शभुजीत बासकोटाले ठट्टा गरे, 'दामन चर्चित डेटिङ स्पट पनि हो। त्यहाँ जाँदाआउँदा प्रेमको गाँठो बलियो हुन्छ। त्यसपछि त कन्यादान गर्ने त हो नि! अनि भएन त फिल्मसँग सम्वन्ध?' पुरानो 'कन्यादान'को तीजसम्बन्धी गीतमा संगीत दिएका बासकोटाले यो नामसँग आफ्नो भावनात्मक सम्वन्ध रहेको उल्लेख गरे। 'त्यसैले नयाँ कन्यादानको गीतमा पनि निकै मेहनत गरेको छु,' उनले भने।

संगीतकारको 'कन्यादान'सँग भावनात्मक सम्बन्ध भएजस्तै निर्देशक शोभितले पनि दामनसँग आत्मीय सम्बन्ध रहेको बताए, 'दामन मेरो ससुराली गाउँ हो। फुर्सद हुँदा त्यहाँ गइरहन मन लाग्छ। आफूसँग सम्बन्धित ठाउँ भएकोले पनि फिल्ममा त्यस्तो गीत राखेको हुँ।'

असार ३२ गतेबाट फिल्म देशभरका प्रमुख हलमा रिलिज हुने भनिएको यो फिल्ममा बिराज भट्ट, धिरेन शाक्य, अर्जुन कार्की, जयकिशन बस्नेत, रञ्जना शर्मा, सिर्जना बस्नेत, शुभेच्छा थापा, कञ्चन रेग्मीलगायतले अभिनय गरेका छन्। शम्भु सापकोटाको छायांकन रहेको 'कन्यादान'को स्क्रिप्ट सञ्चारकर्मी ध्रुव लम्सालले लेखेका हुन्। From: Nagarik News

1 प्रतिकृया/हरु:

Anonymous said...

hi this is gud news hai

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।