उडी उडी चरी उडी...

कास्की, अषाढ १५ - एउटी युवती चञ्चले पारामा नाचिरहेकी थिइन् । पोखराबाट २५ किलोमिटर पर स्याङ्जाको भालु पहाडमा यस्ता दृश्य देखिइरहँदा गुडिरहेका सवारीका झ्यालबाट टाउकाहरू निक्लिरहेका थिए । दिनहुँ सयौं सवारी गुड्ने पृथ्वी राजमार्गमा पर्ने रमणीय क्षेत्रमा दिनेश राउत निर्देशित 'आई एम सरी' को छायांकन भइरहेको थियो । दर्जनौं म्युजिक भिडियोमा देखिइसकेकी केकी अधिकारी आफूलाई ठूलो पर्दाका लागि दोस्रो पटक कैद गराउँदै थिइन्- 'उडी उडी चरी उडी...' गीतमार्फत । यसअघि 'स्वर' मा अभिनय गरेकी केकीको नृत्य हेर्न सुटिङ स्थलमा सर्वसाधारणले घेरा हालेका थिए ।

धनाढ्य बाबुकी छोरीका रूपमा 'आई एम सरी' मा खेलिरहेकी केकी (श्रुति) पारिवारिक बन्धनबाट मुक्त हुन बस यात्राबाटै अनायासै पोखरा आएपछि चलचित्रको कथा

अघि बढ्छ । स्वतन्त्रता खोज्दै घर छाडेकी उनी यात्राका क्रममा रमाइलोका लागि गीत गाउँदै नृत्य गर्न पुग्छिन् । 'यति रमाइलो ठाउँमा सुटिङ गर्न पाउँदा मनै फुरुङ्ग भएको छ,' उनले भनिन् ।

पोखरामा नायिकाको भेट नायक आर्यन सिग्देल (गौरव) सँग हुन्छ । आर्यन ट्याक्सी ड्राइभर हुन्छन् । उनकै ट्याक्सीबाट कतै जाने क्रममा दुवैबीच चिनजान हुन्छ । त्यही चिनजान विस्तारै मायाप्रेममा परिणत हुन्छ ।

'आई एम सरी' मा सम्पन्न र विपन्नबीचको प्रेम सम्बन्धलाई चिरफार गर्न खोजिएको र यो नौलो कथा भएको निर्देशक राउतले दाबी गरे ।

'सच्च्ाा प्रेम जहिले पनि चिरस्थायी र सफल हुन्छ भन्ने यथार्थलाई यो फिल्ममा फरक ढंगले पस्कने प्रयास गरेका छौं,' उनले भने, 'कथा नौलो नभए पनि प्रस्तुतिमा पृथकता दिन खोजेका छौं ।' यसअघि 'मेरो एउटा साथी छ' मा सहायक निर्देशक भएर काम गरेका राउतको यो पहिलो निर्देशकीय प्रयास हो । उक्त चलचित्र पोखराका रमणीय स्थलहरूमा एक सातादेखि छायांकन भइरहेको छ । ७० प्रतिशत छायांकन यहीँ हुने राउतले जानकारी दिए ।

हरि महत निर्माता रहेको उक्त सिनेमा ताराप्रकाशको संगीत, प्रदीप भारद्वाजको लेखन, पुरुषोत्तम प्रधानको छायांकन र रोशन श्रेष्ठको द्वन्द्व छ । From: Kantipur Online

1 प्रतिकृया/हरु:

Anonymous said...

AHHHHH so cool.

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।