स्वाभिमानी राजेश

काठमाडौ, अषाढ ४ - आमाहरू नानी बोकेरै दौडिए, यात्रुहरू रोकिए, मजदुर कामै छाडेर ओइरिए । तिनका आँखाको नानीमा एउटै मान्छेको तस्बिर देखियो । तिनको ओठमा एउटै मान्छेको नाम सुनियो । 'उः राजेश हमाल,' स्कुले नानीहरूले अनौठो उल्लासका साथ औंला तेस्र्याए । सँधै सिनेमाको पर्दामा देखिने नायक त्यस क्षण आँखाअघि भेटिँदाको खुसीले दर्शकका अनुहार उज्यालिएको थियो । आखिर के छ राजेश हमालमा, जो सँधै भीड तान्ने क्षमता राख्छन् ? हालै '४७औं जन्मोत्सव' मनाएका यी 'कुमार नायक' लाई यसको उत्तर दिने फुर्सद र इच्छा दुवै थिएन । सिनेमाको सुटिङ टुंग्याउनु जो थियो । वेस्ट कोट र सुरुवालमा देखिएका राजेश बिहीबार टन्टलापुर घाममा जडिबुटी छेउको क्रसर उद्योगमा पसिना काढ्दै उभिइरहेका थिए । उनको पछाडि गिट्टीको रास थियो र अघिल्तिर ढुंगैढुंगा । त्यहीवरपर क्यामेरा घुमिरह्यो । उनी हात हल्लाईहल्लाई कड्की नै रहे । 'यो एउटा क्रसर उद्योगको दृश्य हो,' राजेश त्यहाँ आउनाको कारणबारे उनका निर्देशकले प्रस्ट्याए, 'जहाँ राजेश केही झोक्किएझैं गरी बोल्नुपर्छ ।' उनी थिए- मदन घिमिरे र सिनेमा थियो- 'स्वाभिमान' । २०५० मा 'आमाको माया' बाट निर्देशन थालेका घिमिरेको यो अठारौं सिनेमा हो, जसको कथा पनि उनैले लेखेका छन् । कविता घिमिरे (मदनपत्नी) र रामकेशर बोगटीले बनाउन लागेको यो 'स्वाभिमान' मा राजेशको चरित्र खलनायकको र स्वभाव नायकको छ । उनकै वरिपरि कथा घुमेको छ । र, नाम पनि उनकै चरित्रअनुसार जुरेको छ । सिनेमामा राजेश रक्सी पिउँछन्, मारपिट गर्छन् र नृत्यशालाकी युवतीको प्रेममा चुर्लुम्मै डुब्छन् । तर पनि उनमा एउटा स्वाभिमान छ र त्यो भंग हुन नदिन ज्यानै पनि दिन बेर लाउँदैनन् । प्यास, प्यास, प्यासै देख्छु, सबको नजरमा, पाइन्छ पाइँदैन मैले खोजेको जस्तै दिल, यो बजारमा... 'डान्स बार' की केटी राजेशको 'स्वाभिमान' मा भुतुक्कै हुन्छे र उदात्त भएर नाचिदिन्छे । 'देश बनाउँछु भन्ने नेताहरू जीवनमा फटाहा सावित भएका छन् र तिनले देशलाई ढाँटेका छन्,' सिनेमाबारे घिमिरेले भने, 'तर अनेक परिबन्दमा परेर गुण्डागर्दी गर्नेहरूमा पनि देशको माया देखिएको छ । स्वाभिमानमा समयले बिगारेका तिनै मान्छेको स्वाभिमान देखाउन खोजेको छु ।' छायांकनको लगभग सबै पाटो पूरा गरेको स्वाभिमानको अब खिच्न बाँकी एउटा गीतको दृश्य मात्रै हो । त्यसपछि यो प्राविधिक मिश्रणको प्रक्रियामा जानेछ र त्यसपछि तिहारमा मोफसलबाट रिलिज गर्ने मदनको योजना छ । यसमा सुमन सिंह, झरना थापा, सौजन्य सुब्बा, रामकेशर बोगटी, मुकुन्द थापा, हिउँवाला गौतम, रवीन्द्र खड्का, उमेश खड्का, रवि गिरीलाई देख्न पाइनेछ । महेश खड्काको संगीतमा राजेशपायल राई, अञ्जु पन्त, दीपक लिम्बू, प्रविशा अधिकारीले स्वर दिएका छन् । यसमा कृष्णहरि बराल, दिनेश अधिकारी र महेश आफैंले पनि शब्द भरेका छन्। From: Ekantipur

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।