मुन्द्रे बने हिरो

काठमाडौ, चैत्र २४ - अभिनय गर्न थालेको १७ वर्षपछि जितु नेपालले, केही समयकै लागि सही, हास्य कलाकारको टयागबाट निक्लँदै छन् । 'जिरे खुर्सानी' का मुन्द्रे नायकका रूपमा ठूलो पर्दामा आउने तरखरमा छन्, 'के साइनोले बोलाऊँ' मार्फत । सिक्किमे निर्माताको फिल्मको उतै छायांकन सकी उनी काठमाडौं फर्केका छन् ।

'वर्षौंपछि भए पनि फिचर फिल्ममा हिरो हुन पाउँदा रमाइलो अनुभव भयो,' कालिम्पोङका अमर रसाइलीले निर्देशन गरेको फिल्मबारे जितुले भने, 'कुनै पनि फिल्ममा सुरुदेखि अन्त्यसम्मै भूमिका गर्न पाएको पनि यही पहिलो हो ।' उनले ३० भन्दा बढी फिल्ममा अभिनय गरेका छन्, तर छोटाछोटा ।

सिन्धुपाल्चोकको ज्यामिरेबाट २०४९ मा राजधानी आएपछि उनले 'आजभोलिका कुरा' बाट काँचको पर्दामा देखिने अवसर पाएका थिए । 'के साइनाले बोलाऊँ' मा उनी नायक बने पनि नाम भने हास्य सिरियलकै जस्तो छ, टिम्मुरे । छायांकनका लागि गान्तोक, रम्फु, छाँगु लेकमा २० दिन बिताएको उनले बताए । 'अहिले डबिङ भइरहेको छ,' पि्रमियर सोमा सिक्किम जाने तयारीमा रहेका जितुले सुनाए, 'फिल्म केही साताभित्रै प्रदर्शनमा आउँदै छ ।'

'के साइनोले बोलाऊँ' मा सोनिया केसी, उत्तर प्रधान, मानबहादुर समेतको अभिनय देख्न पाइनेछ । सचिन सिंहको संगीत, कमल राईको नृत्य र शिव ढकालको छायांकन रहेको फिल्म सिक्किम, दार्जिलिङका अतिरिक्त नेपालमा समेत प्रदर्शन हुनेछ । From: Kantipur Online

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।