एक्सन फिल्मको सिक्वल

एक्सन फिल्म हेर्न मन पराउनेका लागि 'क्यारेङग्याङ-२' उपयुक्त हुन सक्छ । बालकलाकारलाई सशक्त भूमिकामा देखाइएकाले पनि फिल्म केही पृथक लाग्छ । छ-सात वर्षका बालकलाकार अजु लामाले फिल्ममा मार्सल आर्टका सशक्त द्वन्द्व पस्केका छन् । यहाँसम्म कि एक्सनमा कहलिएका नायक निखिल उप्रेतीसँग समेत उनी फाइट खेल्छन् । फिल्मको पोस्टरमा समेत निखिलविरुद्ध अजु भनेर दर्शक तान्ने मसला बनाइएको छ ।
नेपाली फिल्ममा सिक्वल बनाउने क्रम बढिरहेको भए पनि प्रदर्शित केही चलचित्रले खासै सफलता पाउन सकिरहेका छैनन् । राजधानीका केही हलमा चलिरहेको 'क्यारेङग्याङ-२' लाई सफल हुनबाट रोक्न पनि यसकै कमजोरी काफी छन् ।
उदय सुब्बा निर्देशित फिल्मको कथा राजनीतिक नेता र लागू पदार्थका तस्करसँगको साँठगाँठमा बगेको छ । तस्कर क्यारेङले केही पुलिस र मन्त्रीसँगको गोप्य सम्बन्धमा अवैध कारोबार चलाइरहेको हुन्छ । आफ्ना लागि खतरा देखेपछि आफ्नै ग्याङका तीन सदस्यलाई समेत मार्ने षड्यन्त्र जब पर्दाफास हुन्छ, क्यारेङ र उसलाई परिचालन गरी लाभ लिने नेताको पनि अन्त्य हुन्छ ।
ग्याङस्टारको कथामा बनेको फिल्ममा प्रेम, द्वन्द्व र राजनीतिलाई समेट्न खोजे पनि पूर्ण हुन सकेको छैन । छोटो समयको फिल्मको अन्त्य पनि अत्यन्तै सहज रूपमा छिटो टुंग्याइएको छ । बुधबार गुण सिनेमा हलमा उक्त फिल्म हेरिसकेपछि नयाँ बजारका सन्तोष थापाले भने, 'फिल्म सकिएको त 'समाप्त' देखेपछि थाहा पाएँ । कथा कति छिटो टुंगियो पत्तै भएन ।'
पौने दुई घन्टे फिल्ममा झरना थापाको 'आइटम डान्स' भने अटाएको छ । चलचित्रकै एक्लो गीत 'अरूलाई टाटा बाईबाई, यो दाइलाई हेल्लो हाई...' मा थापाको नृत्यले दर्शक तताउँछ । त्यसबाहेक फिल्मको अधिकांश समयमा द्वन्द्वमै केन्दि्रत छ । अलौकिक शक्तियुक्त फुच्चे दोर्जे -अजु) ले दोब्बरभन्दा अग्ला पात्रसँग गरेको द्वन्द्वले दर्शकलाई छुट्टै स्वाद दिन सक्छ ।
लिजालक्ष्मी मुभिजको ब्यानरमा राजु लामाको प्रस्तुति रहेको फिल्म 'क्यारेङग्याङ-२' मा राम/जनकको द्वन्द्व र दीपक रमणको संगीत छ । छायांकन युवराज राईले गरेको फिल्मका निर्माता इन्द्रबहादुर कार्की हुन् । दयाराम पाण्डेले लेखेको फिल्मको एक मात्र गीतमा गायिका मौसमी गुरुङले स्वर दिएकी हुन् । फिल्ममा नायिका अरुणिमा लम्साल, सुनील थापा, सुमन लामा र सुमन रानामगर समेतले अभिनय गरेका छन् । From: Kantipur Online

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।