वाइसीएल-युथफोर्स झडप, ७ घाइते

सिद्धराज राई, धनकुटा, पुस २३- संखुवासभाको मादीराम्बेनीमा युथफोर्स -वाइसीएलबीच झडप हुँदा ७ जना घाइते भएका छन्। स्थानीय रामालय गुठीको धानको विषयमा विवाद भएको थियो। झडपमा युथफोर्सका ५ जना र वाइसीएलका २ जना कार्यकता घाइते भएको संखुवासभा प्रहरीले बताएको छ।
माओवादी कार्यकर्ताले उपभोग गर्दै आएको स्थानीय रामालय गुठीको धान युथफोर्सका कार्यकर्ताले खोसेर भगवती निम्न माध्यमिक विद्यालयलाई दिएपछि झडप शुरु भएको थियो। सो गुठीको करीब ४ मुरी धान माओवादीले मादी राम्बेनी गाविस वडा नः ८ का टेकबहादुर कार्कीको घरमा राखेका थिए। सो धान दुईदिन अगाडि एमाले निकट युथफोर्सका कार्यकर्ताले खोसेर स्थानीय भगवती निम्न माध्यमिक विद्यालयलाई दिएकाले दुवै पक्षबीच विवाद भई झडप भएको संखुवासभाका प्रहरी नायब उपरीक्षक पोषराज पोखरेलले बताए।

झडपपछि मादीराम्बेनी गाउँ विकास समितिको स्थिती तनाब ग्रस्त भएको छ। सो झडप मादीराम्बेनी उच्च माबिको मैदानमा भएको थियो। यसअघि विशिबार बिहान वाइसीएलका कार्यकर्ताले धान खोसेको भन्दै युथफोर्स कार्यकर्ता धननारायण तामाङलाई घरबाटै अपहरण गरेका थिए। तामाङलाई अपहरण मुक्त गराउने क्रममा युथफोर्सले वाइसीएलका रेवती दाहाललाई पनि अपहरण गरेपछि थप झडप भएको प्रहरीले बताएको छ।
झडपमा युथ फोर्सका विश्वनाथ सुवेदी गम्भीर घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको छ भने धननारायण तामाङ, उर्मिला सुवेदी, महेशराज दाहाल र खगेन्द्र तामाङ घाइते भएको नेकपा एमाले जिल्ला उपाध्यक्ष नारद राईले नागरिकन्युजलाई बताए। गम्भीर घाइते सुवेदीलाई थप उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ।

त्यस्तै झडपमा परि वाइसीएलका रेवती दाहाल र सन्तोष न्यौपाने घाइते भएको एकिकृत नेकपा माओबादीका सक्रेटरी आरपी किँरातीले बताए। जनयुद्धकालदेखि नै माओबादीले उपभोग गर्दै सो गुठीको धानमा एमालेको युथफोर्सले हस्तक्षेप गरी झडप निम्ताएको किराँतीले बताए।

अहिले मादीराम्बेनीमा दुवै पक्षले शक्ति प्रर्दसन गरी रहेका छन। दुवै पक्षले एक अर्काको विरोधमा विरोध जुलुस निकालेको प्रहरीले बताएको छ। त्यस्तै दुवै पक्षले मादीराम्बेनीमा भिडन्तको लागि थप कार्यकर्ता बोलाएको छन्। साभार: नागरिक न्युज

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।