मोर्टार विस्फोटमा परिवारका ३ को मृत्यु

सुन्दरबस्ती -चितवन, २०६६ पुस १३ - सशस्त्र प्रहरीको 'फायरिङ रेन्ज' स्थित जंगलमा फेला पारेर बालकले घरमा ल्याएको 'हाईएक्सपोलोसिभ' (एचई) टुइन्च मोर्टार सोमबार बिहान घर नजिकै विस्फोट हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । सोही परिवारका तीन जना घाइते छन् ।

भण्डारा-८ स्थित शुक्रबहादुर राईको परिवारका सदस्यले बिहान घरपछाडि शौचालय बनाउन लाग्दा मोर्टार विस्फोट भएको थियो । विस्फोटमा परेर शुक्रबहादुरकी ४५ वषर्ीया पत्नी जानुका, १८ वषर्ीया छोरी राममाया र जानुकाका भदा १५ वषर्ीय राजकुमारको घटना स्थलमै मृत्यु भएको हो । शुक्रबहादुर तीन वर्षदेखि कतारमा रोजागारीमा रहेको आफन्तले बताए ।

शुक्रबहादुरका छोराहरू अरिविन्द, रामकुमार र जानुकाका भाइ बालकृष्ण घाइते भएका छन् । आफन्तका अनुसार १० वषर्ीय अरविन र ७ वषर्ीय नवीनले गत भदौमा सशस्त्रको फायरिङ रेन्ज क्षेत्रको जंगलबाट मोर्टार फेला पारेर ल्याएका थिए । बस्तीबाट सय मिटर टाढाको मारताल खोलामा स्थानीय गढीमाई गणको फायरिङ रेन्ज छ । त्यहाँ नियमित फायरिङ हुने गर्छ ।

'बुझाइदिनुपर्छ, राख्नु हुन्न भनेको मानेनन्,' आफन्त चन्द्रमाया राईले भनिन्, 'आइतबार आलुसित साट्न खोजेका थिए, तौलमा चित्त नबुझेर छोडे ।' परिवारका सदस्यले विस्फोटकलाई फलाम भएको विश्वास गरेको स्थानीय बताउँछन् । प्रत्यक्षदर्शीका अनुसार मोर्टारको अघिल्लो र पछिल्लो भाग मसिनो र बीचमा मोटो थियो । राई परिवारले त्यसलाई कहिले बाख्राको खोरमा राख्थे भने कहिले दाउरामुनि ।

सोमबार घरपछाडि शौचालय बनाउने क्रममा ढुंगाले लागेर विस्फोट भएको आशंका छ । 'च्याउ खोज्न जाँदा भदौमा ल्याएको हो,' छिमेकी सम्झना राईले भनिन् । जानुकाको माइतीबाट भाइ बालकृष्ण र भदा राजकुमार शौचालय बनाउन आएका थिए ।

'मरें बाबा भनेको आवाज सुन्यौं,' छिमेकी मोहनवीर राईले भने, 'दौडेर आउँदा सबै लम्पसार परेका थिए ।' घरजहान मिलेर शौचालय बनाउने क्रममा विस्फोट भएको उनले बताए । विस्फोटले कच्ची घरको पछाडि हल्का गारो झरेको छ । स्थानीय बासिन्दाका अनुसार सशस्त्रले फायरिङका बेला स्थानीयलाई घरबाहिर निस्कन रोक लगाउँथे । कहिलेकाहिँ उछिट्टएिर गोली घरमै पुग्थे । केही समयअघि दुईवटा मोर्टार हराएको र फेला पार्नेलाई बुझाउन सशस्त्रले सूचना जारी गरेको स्थानीय बासिन्दाले प्रजिअ महेश्वर न्यौपानेसमक्ष बताए । विस्फोटक पत्ता लगाउन सदरमुकामबाट सेनाका अधिकारी पुगेका थिए । बिहानै विस्फोट भए पनि साँझ मात्रै विस्फोटक मोर्टार भएको जानकारी सुरक्षा अधिकारीले गराएका थिए । एउटा विस्फोट भएपछि अर्को पनि स्थानीयको घरमै हुन सक्ने आशंकाले यहाँ त्रास छ । 'मोर्टार अहिले फायर हुँदैन,' गढीमाई गणका सशस्त्र प्रहरी उपरीक्षक उत्तम थनेतले भने, 'अनुसन्धानपछि कसको हो, पत्ता लाग्छ ।' स्थानीय बासिन्दाले घटनाको जिम्मा सशस्त्रले लिनुपर्ने बताउँ्रदै पूर्व-पश्चिम राजमार्गमा चक्काजाम गरेपछि सदरमुकामबाट प्रजिअ न्यौपाने, एसपी विष्णुहरि गौतम पुगेका थिए ।

उनीहरूसमक्ष स्थानीय बासिन्दाले घटनाको छानबिन हुनुपर्ने, दोषीलाई कारबाही, दोषीले माफी माग्नुपर्ने, गाउँबीचको फायरिङ रेन्ज हटाउनुपर्ने, प्रतिव्यक्ति १५ लाख क्षतिपूर्ति र घाइतेको उपचारको माग राखेका छन् । उनीहरूले माग पूरा गराउन स्थानीय कृष्ण गुरुङको अध्यक्षतामा समिति गठन गरेका छन् । 'गढीमाई गण दोषी छ,' गुरुङले भने, 'दोषी पत्ता नलागेसम्म आन्दोलन गर्छौं ।' प्रजिअ न्यौपानेले घाइतेको उपचारको व्यवस्था भइसकेको बताए । from: kantipur daily

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।