केपी ढुंगाना, काठमाडौं, पुस १२- तीन लाख अमेरिकी डलर लुटपाट र व्यापारी सञ्जय सुरेखाको अपहरण घटनामा एआइजी कल्याण तिमल्सिना दोषी पाइएका छन्।
डिआइजी राजेन्द्रमानसिंह भन्डारीको संयोजकत्वमा गठित समितिले तयार पारेको प्रतिवेदनमा तिमल्सिनाले डलर लुटपाटको घटनामा गलत नियतवाट अधिकार क्षेत्रबाहिर गएर काम गरेको र सुरेखा अपहरण घटनामा हस्तक्षेप गरी अनुसन्धान प्रक्रियामा अवरोध पुर्याएको निष्कर्ष छ। भन्सार छलेर ल्याएको २० किलो चाँदी छुटाएको अभियोगबाट भने उनले सफाइ पाएका छन्।
तिमल्सिनाले महानगरीय प्रहरी आयुक्तका रूपमा काम गर्दा दबाब दिएर अवैध चाँदी छुटाएको, व्यापारी सुरेखाको अपहरणकारीको संरक्षण गरेको र डलर लुटमा हस्तक्षेप गरी अनुसन्धान प्रक्रिया बिगारेको अभियोग तिमल्सिनामाथि छ। प्रहरी प्रधान कार्यालयले यसको अनुसन्धानका लागि अपराध अनुसन्धान विभागका डिआइजी भन्डारीको संयोजकत्वमा समिति गठन गरेको थियो। डलरकान्डमा पक्राउ परेका प्रहरीलाई थुनामा राखेर अनुसन्धान अगाडि बढाएपछि तिमल्सिना विवादमा तानिएका थिए। समिति गठन भएलगत्तै तिमल्सिनालाई आयुक्त कार्यालयवाट प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको थियो।
स्रोतका अनुसार प्रतिवेदनमा असोज ३१ गते क्षेत्रपाटीबाट खासा लैजान तयार पारिएको तीन लाख डलर लुटिएको जानकारीमा आएपछि एआइजी तिमल्सिनाले लुटपाटमा संलग्न रहेको आशंकामा स्वयम्भू प्रभागमा कार्यरत प्रहरी हवल्दार मकर श्रेष्ठ र प्रहरी जवान रामहरि सुवेदीलाई कात्तिक ११ गते पक्राउ गरी २ दिनसम्म आफ्नो नियन्त्रणमा राखेर अनुसन्धानमा बाधा पुर्याएको उल्लेख छ।
प्रहरी नियमावली २०६४ मा आयुक्त कार्यालयले प्रत्यक्ष रूपमा कुनै घटनाको आफैं अनुसन्धान गर्ने व्यवस्था छैन। आयुक्त कार्यालयलाई जुन परिसरको मातहतमा घटनास्थल पर्ने हो, सोही परिसर या वृत्तलाई अनुसन्धानका लागि निर्देशन दिने र अनुगमन गर्ने अधिकारमात्र छ। प्रतिवेदनमा डलर लुटपाटमा तिमल्सिनालाई विभागीय कार्बाहीको सिफारिस छ। लुटिएको डलर चिनियाँ नागरिकको देखिएको प्रतिवेदनमा छ।
कानुनमा कुनै मित्रराष्ट्रभित्र लुटमार गरेको वा गर्ने तयारी गरेको व्यक्तिलाई मद्दत वा सूचना दिए वा सो मनसायले सम्पर्क राखेमा कार्बाही गर्न सकिने व्यवस्था छ।
यसैगरी मातहत प्रहरी इकाइसँग समन्वयै नगरी आयुक्त कार्यालयका सइ नवीन बानियाँलाई प्रहरी हवल्दार श्रेष्ठको घरमा छापा मार्न पठाएर तिमल्सिनाले प्रमाण नष्ट गरेको उल्लेख छ।
डलर लुटपाट घटनाका गोप्य तथ्य पनि प्रतिवेदनमा छ। डलर लुटपाटबारे सबैभन्दा पहिला सेनाका मेजर रविन्द्र वस्नेतले जानकारी पाएका थिए। मेजर बस्नेतले डलर लुटपाटबार प्रहरीमा कार्यरत आफ्ना भाइ सइ अमृत बस्नेतलाई जानकारी दिएपछि मात्र प्रहरीले लुटपाटबारे थाहा पाएको थियो।
समितिले व्यापारी सुरेखाको अपहरण अनुसन्धानमा तिमल्सिनाले पदीय अधिकार दुरुपयोग गरी हस्तक्षेप गरेको निष्कर्ष निकालेको छ। जेठ २८ मा तीनकुनेबाट अपहरणमा परेका व्यापारी सुरेखा २ लाख अमेरिकी डलर फिरौती बुझाएर अपहरणमुक्त भएका थिए। सुरेखाको अपहरणमा संलग्न रहेको अभियोगमा महानगरीय प्रहरी अपराध महाशाखाले तीनलाई पक्राउ गरे पनि तिमल्सिनाले दबाब दिई एकलाई हिरासतमुक्त गराएको र सहयोगी दुईलाई सार्वजनिक केसमा मुद्दा चलाउन दबाब दिएको आरोप छ।
प्रतिवेदन अनुसार व्यापारी सुरेखाको अपहरणमा संलग्न रहेको अभियोगमा अपराध महाशाखाले सञ्जय शाह र सविना पौडेललाई पक्राउ गरी अनुशन्धान प्रकृया अगाडि बढाएको थियो।
तिमल्सिनामाथि असोज २७ गते भन्सार छलेर ल्याएको २० किलो चाँदी दबाब दिएर छुटाउन लगाएको आरोप पनि छ। प्रतिवेदनमा अनुसन्धानका क्रममा चाँदी कानुनसम्मत रूपमा आएको देखिएको निष्कर्ष निकाल्दै तिमल्सिनालाई सफाइ दिइएको छ।
समितिले प्रहरी अधिकारीलगायतसँग सोधपुछ र जानकारी लिएपनि तिमल्सिनासँग भने गरेको छैन। एआइजीसँग डिआइजीको संयोजकत्वमा रहेको टोलीले बोलाएर सोधपुछ गर्न नमिल्ने भएकाले समस्या भएको हो।
भन्डारीले एक साता अगाडि नै प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरीलाई प्रतिवेदन बुझाए पनि गोप्य राखिएको छ। प्रतिवेदनको आधारमा तिमल्सिनामाथि कार्बाही प्रक्रिया अगाडि बढाउन प्रहरी विशेष अदालत गठन गर्ने व्यवस्था प्रहरी ऐनमा छ। From: Nagarik News
0 प्रतिकृया/हरु:
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।