गर्भवती सञ्चितालाई हिरोइनहरुले दहीच्युरा खुवाए

काठमाडौं, साउन ६ (नागरिक)- नेपाली फिल्मका दुई गर्भवती हिरोइनलाई अरू तीन समकालीन हिरोइनले बिहीबार दही च्युरा खुवाएका छन्। गर्भवती दुई हिरोइन अरुणिमा लम्साल र सञ्चिता लुइँटेललाई रेखा थापा, रेजिना उप्रेती र ऋचा घिमिरेले सुस्वास्थ्यको कामना गर्दै मुख मिठ्याइदिएका हुन्।

काठमाडौंको कपनस्थित अरुणिमाको घरमा अपरान्हतिर भेला भएका रेखा, सञ्चिता, रेजिना र ऋचा रात्रीभोजनपछि फर्किएका थिए। खानपिनको बन्दोबस्त अरुणिमाले गरेकी थिइन्।

फिल्मी जमघटमा यी हिरोइनलाई एकअर्काका प्रतिद्वन्द्वीका रूपमा लिइने गरिन्छ। तर, उनीहरूले आफूहरूबीच कुनै मनमुटाव वा रिसराग नभएको प्रमाणित गरेका छन्।

अरुणिमा पाँच महिनाकी गर्भवती छिन् भने सञ्चिता आउँदो भदौमा सुत्केरी हुने बताइएको छ। सबै हिरोइनले बिहीबारको जमघटलाई गुपचुपमै राखे। मिडियालाई निम्तो नदिइनुको कारणबारे ऋचाले भनिन्, ...यो हाम्रो प्राइभेट भेला हो।'

ऋचाले अरुणिमा र सञ्चितालाई र सञ्चिताले पनि अरुणिमालाई नयाँ लुगा उपहार दिए। त्यस्तै रेखा र रेजिनाले अरुणिमा र सञ्चितालाई चुरापोते प्रदान गरे भने अरुणिमाले चाहिँ चारजनै हिरोइनलाई हातमा लगाउने बाला दिइन्।

साउन महिना भएकोले चुरापोते र बाला उपहार आदानप्रदान गरिएको रेजिनाले बताइन्।

जमघटमा अरुणिमाको परिवारको मात्र उपस्थिति थियो। अरुणिमाका पति बैंक जागिरे हुन्। एकताका अरुणिमा र रेखाबीच शीतयुद्ध चर्किएको थियो र दुवैले 'धड्कन'पछि एकसाथ फिल्म खेलेका थिएनन्। त्यस्तै सञ्चिताका पति निखिल उप्रेतीसँग रेखाको बोलचाल छैन र सँगै फिल्म खेल्दैनन्। बिहीबार यी हिरोइनले आफूहरूबीचको वैमनश्यतालाई पखाल्ने अवसर पाए।

- नागरिक न्युज

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।