मौसमीको 'महसुस'

स्मृति ढुंगाना, काठमाडौं, साउन ५ - गायिका मौसमी गुरूङ् आफ्नो तेस्रो एल्बमलाई रिलिज गर्ने तयारीमा जुटेकी छिन्। भदौको पहिलो साता 'महसुस' नामक तेस्रो एल्वम सार्वजनिक गर्ने उनको योजना छ।

झन्डै २ वर्षमा तयार भएको ६ वटा गीत त्यसमा समावेश हुनेछ। 'गीतको एरेन्जमेन्टमा बढी ध्यान दिंदा एल्बम आउन समय लाग्यो,' उनले भनिन्। संगीतलाई निरन्तरता दिन एल्बम रिलिज निकालेको बताउने मौसमीले भनिन्,'चाडवाडसँगै कन्सर्टको मौसम काम बढ्छ। स्टेजमा गाउन नयाँ गीत चाहिएकोले एल्बम निकाल्नुपर्‍यो।'

पप शैलीलाई उनले यसपटक परिवर्तन गरेकी छिन् उनले। 'अहिले लोक रोमान्टिक गीतमा जोड दिएकी छु ,' तथापि आफ्नोपनको निरन्तरता भने यो एल्बममा पनि पाइने उनको दाबी छ। उनलाई चिनाउने गीत 'परेली मै छौ कि कसो'लाई यो एल्वममा फाष्ट ट्रयाकमा रिमेक गरेको उनले जानकारी दिइन्।

'स्टेजमा फास्ट गीत चल्ने हुँदा आफ्नै पुरानो गीतलाई रिमेक गरेँ,' उनले कारण खुलाइन्। धेरै कलाकारले आफ्नो म्युजिक कम्पनी खोलिरहेको बेलामा उनी पनि आफ्नै कम्पनीमार्फत एल्वम रिलिज गर्ने तयारीमा छिन्। उनले अध्यापन कार्यलाई निरन्तरता दिइरहेकी छिन्।

कक्षा ९ मा पढ्दा सहपाठीको प्रेम प्रस्तावलाई अस्वीकार गर्दा केटाको अनुहार दयालाग्दो देखेको बताउने मौसमीले त्यो अनुभूतिसमेत गीतमार्फत् व्यक्त गरेको सुनाइन्। 'मैले धेरैको प्रेम प्रस्तावलाई अस्वीकार गरेकी छुँ। त्यस्ता फ्यानप्रति एउटा गीत रोमान्टिक शैलीमा तयार गरेकी छु,' उनले भनिन्,'यो सफ्ट् रोमान्टिक शैलीमा रहेका हुँदा गाउन भन्दा पनि गीत लेख्नैमा धेरै समय लागेको थियो।'

एल्वममा अनिल स्थापित, सोहन मानन्धर, जेम्स प्रधान, मदन जि.सी, लक्ष्मी लिम्बु र अनुसिलले गीत रचना गरेका छन्। कल्याण सिंह, जेम्स प्रधान, विनोद खुम्बु र फुर्वा शेर्पाले संगीत दिएका छन्।

- नागरिक न्युज

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।