कोही फुर्सदमा, कसैलाई भ्याइनभ्याई

स्मृति ढुंगाना- नेपाली चलचित्रका 'महानायक' राजेश हमालसँग फिल्म खेलेर चर्चा बटुलेकी सुमिना घिमिरेलाई अहिले फिल्मको स्क्रिप्ट पढ्न भ्याइनभ्याई छ। 'दुलही' चलचित्रमार्फत् नेपाली फिल्ममा उदाएकी यी नायिकाको हालसम्म दुइटा फिल्ममात्र रिलिज भएका छन्। तर, उनी काममा यति व्यस्त छिन, उनको दैनिकी नै फेरिएको छ। उनलाई बाँकी ६ वटा फिल्मको काम सिध्याउने चटारो छ।

'के गर्ने हेर्नुस् न, व्यस्तताका कारण कान्छी छोरी भए पनि रमाइलो गर्न पाएको छैन,' उनले नागरिकसँग भनिन्। एउटै फिल्मबाट वाहवाही बटुलेकी यी नायिका अहिले नेपाली चलचित्रमा सर्वाधिक व्यस्त नायिका मानिन्छिन्।

तर, दुर्भाग्य सबै नवनायिका उनीजस्तो भाग्यमानी छैनन्।

'द युगदेखि युगसम्म' र 'धर्मा'की नायिका अनु शाहसँग अहिले फुर्सदै फुर्सद छ। तत्काल कुनै फिल्म पनि छैन। आफूलाई व्यस्त राख्न उनी अहिले म्युजिक भिडियोमात्र गरिरहेकी छन्।

भर्खरै रिलिज 'त्यो १० घन्टा' की नायिका रिमा विश्वकर्मासँग पनि कुनै फिल्म हातमा छैन। त्यसैले उनी आजभोलि फिल्ममा भन्दा म्युजिक भिडियो र कार्यक्रमहरूमै बढी व्यस्त देखिन्छिन्। भन्छिन्, 'पैसा कमाउनको निम्ति फिल्म खेल्ने होइन। अन्य कामबाट पनि फिल्मबारे सिक्न सकिन्छ।'

'अंगालो यो मायाको'की नायिका हर्षिता श्रेष्ठ पनि आफ्नो पहिलो फिल्म रिलिज भएको झन्डै एक वर्ष खाली बसिन्। अहिले 'आशा' नामक फिल्मको काममा व्यस्त छिन्। पद्मकन्या क्याम्पसबाट बिएड, दोस्रो वर्षको अध्ययन पूरा गरेकी हेटौंडाकी यी नायिका पछिल्लो १ वर्ष चलचित्रविहीन हुँदा केही तनावमा थिइन्। उनले खाली समय सदुपयोग गर्ने क्रममा एयर होस्टेजको तालिम पनि पूरा गरिन्। उनको अबको इच्छा छ, राजेश हमालसँग फिल्म खेल्ने।

यी नायिकाभन्दा केही व्यस्त निता ढुंगानाले झन्डै ९ वटा फिल्ममा अभिनय गर्न भ्याइसकेकी छन्। उनीसँग अहिले फुर्सद छैन। फिल्ममा व्यस्त भएकैले पढाइमा राम्रो ध्यान दिन नसकेको उनी बताउँछिन्। उनको 'मसान' र 'म बिर्सु कसरी' शीर्षकका फिल्म रिलिज भइसकेका छन्। 'सुटिङकै कारण एकाबिहानै उठ्नुपर्छ,' उनी भन्छिन्, 'साधारण व्यायामबाहेक धेरै परिश्रम गर्नुपर्ने फिजिकल फिटनेसमा पनि फुर्सद छैन।'

गत वर्षदेखि नेपाली फिल्म क्षेत्रमा देखापरेका केकी अधिकारी र ऋचा शर्माको नयाँ फिल्म रिलिज हुने तयारीमा छ। 'पढाइलाई जोड दिएकाले केही समय मैले फिल्मलाई कम समय दिएकी हुँ,' केकी भन्छिन्। उनको 'आई एम सरी' रिलिजको तयारीमा छ। उनी अहिले 'मसान' नामक फिल्मको सुटिङमा व्यस्त छिन्। म्युजिक भिडियोमा पनि उनलाई भ्याइनभ्याई छ।

'बिहानै सुटिङको निम्ति गाडी लिन आउँछ। घरबाटै खानेकुरा बोकेर जान्छु,' उनी भन्छिन्। बल्डप्रेसर कम भएकाले उनी घरकै खानामा जोड दिन्छिन्।

अर्की अभिनेत्री ऋचा 'हाइवे' रिलिजको प्रतीक्षामा छिन्। त्यसबाहेक उनी 'हाम्रो टिम' नामक सिरियलको प्रबर्द्धनमा पनि लागेकी छन्। 'तत्कालै अफर आएको छैन्। बरु म्युजिक भिडियोमा हल्का काम गरिरहेकी छु,' उनी भन्छिन्।

यसबाहेक उनी 'किडकेयर' नामक चाइल्ड स्कुलको प्रमोसनल एक्जिक्युटिभका रूपमा कार्यरत छिन्। 'माई लभ स्टोरी' नामक फिल्मको डबिङमा व्यस्त यी नायिका व्यायाममा धेरै समय बिताउँछिन्। 'आजकल बिहानै व्यायामको प्रशिक्षण लिएकी छु। पौडीको प्रशिक्षण पनि सुरु गरेकी छु,' उनी भन्छिन्।

Source: Nagarik News

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।