निर्देशकका छोरा हिरो

स्मृति ढुंगाना, काठमाडौं, जेठ २०- नेपाली फिल्ममा बाल कलाकारको रूपमा परिचित संयम पुरी हिरो बनेका छन्। निर्देशक नारायण पुरीका छोरा संयम सुरज सुब्बाको फिल्म 'सायद'मा देखिन लागेका हुन्। मौकामा हिरो पनि बनिहालौं भनेर फिल्ममा खेलेको उनले बताए। नेसनल क्याम्पसमा १२ कक्षामा अध्ययरत संयम अभिनयभन्दा पनि निर्देशनतिर रुचि भएको बताउँछन्।

किशोर किशोरीको कथा समेत समेटेको 'सायद'लाई उनी आफ्नै पुस्ताको कथा मान्छन्। आफ्नै बाबुले बनाएको फिल्म 'आगो'बाट बाल कलाकार भएर प्रवेश गरेका पुरीले 'दोमन','आफ्नो मान्छे', 'धर्मपुत्र'लगायत डेढ दर्जन फिल्ममा अभिनय गरेका छन्।

छोटो फिल्म 'सिरिया'मा समेत आफू छनोट भएको उनले जानकारी दिए। अहिले त्यसको सुटिङ भइरहेको छ। विज्ञान विषय अध्ययन गरिरहेका संयमले अभिनेत्री निरूता सिंहसँग काम गर्ने रहर व्यक्त गरे। 'निरूता आन्टीसँग धेरै फिल्ममा खेलिसकेको छु। अब उहाँको हिरो भएर खेल्ने रहर छ,' उनले भने।

नृत्य देखाउन जापानसमेत पुगेका संयम फिल्मको कथा अनुसारको नाच सिक्न चाहन्छन्। जोन डेभिड र शाहरूख खानको फिल्म हेर्ने बानी परेको बताउने संयम उनीहरूको कामबाट प्रभावित रहेको बताउँछन्।
डेढ महिना चलेको 'सायद' को सुटिङ रमाइलो भएको र अभिनयका बारेमा धेरै कुरा सिक्न पाएको उनको अनुभव छ। आफ्नो ढाडको समस्याको कारण उनी जिम जाँदैनन्। बरू घरमै विभिन्न व्यायाम गर्ने गर्छन्। 'अभिनय गर्नुअघि मैले धेरै फिल्महरू हेरेँ। कल्पनात्मक शैलीलाई रियालिटीमा प्रस्तुत गर्न सकेमात्र अभिनय हुन्छ भन्ने बुझेको छु,' उनले भने।

फिल्ममा चुरोट खानुपर्दा निकै अप्ठ्यारो परेको उनले बताए। 'मलाई चुरोटको धुवाँ मनपर्दैन। आफ्नो भूमिकाको निम्ति तान्नै पर्ने बाध्यता रह्यो,' उनले भने।आजकल पढाइ बाहेकको समयको उपयोग गर्न फिल्म हेर्ने गरेको उनले बताए। फिल्म अध्ययनमा समेत रुचि रहेको उनले सुनाए।

'पढेर काम गर्दा धेरै कुरा सिकिन्छ। नेपालमा परेर काम गर्नेको संख्या धेरै भएकोले फिल्म उद्योग सुस्त भएको जस्तो लाग्छ,' १९ वर्षे कलाकारको बुझाइ छ।
- नागरिक न्युज

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।