गायिकाको 'सिजन'

स्मृति ढुंगाना, काठमाडौं, जेठ १८ -नेपाली संगीत बजारमा गायिकाहरूको 'सिजन' सुरु भएको छ। पछिल्लो समयमा गायिकाहरूले पालैपालो एल्बम निकालिरहेका छन्। यो 'सिजन'को सुरूवात इन्दिरा जोशी, रेखा शाह र आनी छोइङ डोल्माका एल्बमबाट भइसकेको छ। एल्बम बिक्री सन्तोषजनक नभए पनि स्टेजमा गाउनका लागि नयाँ गीत आवश्यक पर्ने गायिकाहरूको भनाइ छ। नेपालमा एल्बम बेचेर भन्दा पनि स्टेज शोबाट बढी कमाइ हुन्छ। स्थान र शो हेरेर कलाकारहरूले ५ हजारदेखि माथि पारिश्रमिक लिने गरेको पाइन्छ। राजधानीबाहिर स्टेज शो गर्दा कलाकारको कमाइ अझ राम्रो हने इभेन्ट आयोजकहरूको दावी छ।

स्टेजमा आफ्नो माग बढाउनका लागि एल्बम निकालेर नयाँ गीत मिडियामा हिट गराउनुपर्ने बाध्यता कलाकारहरूलाई छ। आफूहरूले पनि यही कारणले एल्बम निकालिरहेको स्विाकार्छन् गायिकाहरू। जेठको पछिल्लो साताबाट करिब एक दर्जन गायिकाका एल्बम धमाधम रिलिज हुँदैछ।
नयाँ वर्षदेखि जेठको दोस्रो सातासम्म म्युजिक नेपालबाट रिलिज भएका ६ मध्ये दुई एल्बम गायिका लक्ष्मी कँुवर र गीतकार कल्पना श्रेष्ठका छन्।
त्यस्तै रियाज म्युजिकले जमुना जोशी, पेमा छोटी शेर्पा र उपासना सिंहको एल्बम रिलिज गरिसकेको छ। राइज म्युजिकले श्रुति सिंह ठाकुरीको एल्बम रिलिज गर्दैछ। बिन्धवासिनी म्युजिकले इन्दिरा जोशीको एल्बम निकालेको केही महिना नबित्दै थप तीन गायिकाका एल्बम रिलिज गर्दैछ। असारको पहिलो सातामै गायिका निशा देसारको 'लोकार्पण' र रेशा पौडेलको 'अनुपम' एल्बम रिलिज गरिने भएको छ।
त्यस्तै सुस्मिता कार्की, बेनुका राई र सुमन सुब्बाले पनि एल्बम तयार पारिसकेका छन्। करिब १४ वर्ष संगीतमा बिताइसकेकी र धेरैकी गुरुआमा संगीता राना प्रधानले पनि पहिलो एल्बम रिलिज गर्दैछिन्।
नेपाली संगीतका नयाँपुराना गायिकाहरू रिमा गुरुङ, रजिना रिमाल, मौसमी गुरुङ, दुर्गा खरेल, आस्था बी, शशी रावल, जुनु रिजाल र मल्लिका कार्की पनि नयाँ एल्बमको तयारीमा छन्। यीमध्ये सबैको पहिलो एल्बम रिलिज भइसकेको छ।
जेठको अन्तिम सातादेखि असारको दोस्रो सातासम्म धेरै गायिकाको एल्बम जुध्ने पक्का छ। कतिपय गायिकाहरू चाहिँ पहिलो एल्बमपछिको लामो विश्राम तोड्न नयाँ एल्बम रिलिज गर्दैछन्।
केही महिनाअघि 'संगी' एल्बम रिलिज गरेकी जुना प्रसाईं भन्छिन्, 'एल्बम बिक्री गरेर आम्दानी हुन्छ भन्ने भ्रममात्र हो। बरु गीत चल्यो भने स्टेज शो र सिआरबिटीबाट गीत बजेवापत कमाइ हुन्छ।'
अर्की गायिका इन्दिरा जोशी एल्बम रिलिज गरेपछि निकै व्यस्त भएकी छिन्। 'एल्बमको टाइटल गीत धेरैले मन पराएकै कारण विभिन्न स्थानमा एकल शो गर्दै व्यस्त छु,' उनले भनिन्। स्टेज शो गर्दा एल्बमको बिक्री पनि बढिरहेको दावी उनको छ।
६ वर्षपछि रिमा गुरुङ होडाले दोस्रो एल्बमको नाम जुराएकी छिन्। 'टाइम एन्ड म्युजिक' नामक एल्बममा उनले लोक आधुनिक गीतलाई प्रथामिकता दिएकी छिन्। 'स्टेजमा गीत प्रस्तुत गर्न एकल गीतकै अभाव भएकोले एल्बम निकाल्नै परेको हो,' उनले भनिन्।
गायिका रजिना रिमालको पनि दोस्रो एकल एल्बमको काम सकिसकेको छ। उनले तीन वर्षपछि नयाँ एल्बम निकाल्न लागेही हुन्। 'श्रोतालाई फिल्मबाहेकका गीत पनि सुनाउन एल्बम निकाल्न लागेकी हुँ,' उनले भनिन्। असारको पहिलो सातातिर निक्लिँदै छ उनको एल्बम।
गायिका मौसमी गुरुङले तेस्रो एल्बम 'महसुस'को रिलिज मिति असारको पहिलो हप्ता रोजेकी छिन्। चार वर्षअघि दोस्रो एल्बम निकालेकी उनले नयाँपन दिन एल्बमलाई निरन्तरता दिएको बताउँछिन्। विदेश भ्रमणबाट फर्केकी उनी अहिले एल्बम प्रवर्द्धनमा लागि परेकी छिन्।
'एल्बममा लागेको खर्च पनि उठ्दैन। तैपनि श्रोताहरूका लागि नयाँ उपहार त दिनै पर्‍यो नि,' उनले भनिन्। जापानमा केही समय बिताएर काठमाडौं फर्केकी शशि रावल दोस्रो एल्बम 'साथी'लाई जेठ र असारको बीचमा फ्याँक्ने दाउमा छिन्। पहिलो एल्बम 'इन्ट्रान्स' तीन वर्षअघि रिलिज गरेकी उनी चर्चामै हँुदा जापान प्रस्थान गरेकी थिइन्।
'संगीतलाई निरन्तरता दिन फर्किएकी हुँ,' उनले भनिन्। दुर्गा खरेलको एल्बम यही महिना आउने सम्भावना छ। 'दिल' एल्बमबाट आएकी उनले अहिलेसम्म एल्बमको नाम भेटेकी छैनन्। 'नामकै कारण रिलिज ढिला होला जस्तो छ,' उनले भनिन्। मल्लिका कार्कीको भने दोस्रो एल्बमको नाम 'मौसम' राखिइसकेको छ। असारको दोस्रो साता यसको साइत तोकिएको छ।
'सबै काम सकिए पनि रिलिज गर्ने साइत जुराउनै सकेकी छैन। अझ अहिले त एल्बमको बजारै छैन,' उनी दोधारमा छिन्। पप गायिका आस्था बीको एल्बम रिलिज तय भइसकेको छ। आगामी जेठ २७ मा उनको दोस्रो एल्बम 'आस्थाको आस्था' सार्वजनिक हुनेछ।
'एल्बम बिक्री नै छैन भन्ने होइन। बरू हामीले राम्रो गीत दिन सकेमात्र बजार तातिन्छ। त्यसैले चाँडै नै एल्बम रिलिज गर्ने सोच बनाएकी हुँ,' उनले कारण दिइन्।
प्रायः नेपाली कलाकारलाई गीत गाउन सिकाएकी संगीता राना प्रधानले बल्ल एल्बम निकाल्ने समय पाएकी हुन्। 'धेरैलाई संगीतमा ल्याए पनि अब मेरो लागि एल्बमकै जरूरत भएकोले निकाल्न लागेकी हुँ,' उनले तर्क दिइन्।
गायिकाको बारेमा संगीतकार न्ह्यू बज्राचार्यको यस्तो अनुभव छ, 'पहिला कुनै गीतमा गाउनका लागि गायिकाहरू नै हुँदैन थिए। अहिले धेरै किसिमका गीत गाउने गायिका प्रवेश गरिसकेका छन्।' अर्का संगीतकार सचिन सिंह पनि थरीथरीका गायिकाको आगमनले खुसी छन्। 'एकताका एउटै गायिकाले सबै किसिमका गीत गाउनुपर्ने बाध्यता थियो। अहिले उत्कृष्ट स्वर भएका गायिकाको संख्या धेरै छ,' सचिनले दावी गरे।
म्युजिक कम्पनीको ढिलाइले गर्दा पनि रिलिज मिति तोक्न नसकेको धेरै गायिकाको अनुभव छ। 'कहिलेकाहीँ तोकिएको समयमै एल्बम उपलब्ध गराउन मार्केटिङले गर्दा समस्या हुन्छ,' म्युजिक नेपालका दीपक पौडेलले भने।
- नागरिक न्युज

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।