पहिला बिनिताले हटाईन्, अहिले ट्राफिकले

नायिका बिनिता बरालले टपलेस फोटोसेसन गरेपछि चलचित्र चपली हाईट विवादमा तानियो । बिनिताले टपलेस फोटोसुट नगरेको र निर्माताले आफ्नो फोटो सहमति बिपरीत ल्याएको भन्दै पत्रकार सम्मेलन गरिन् ।

बिनिताले पत्रकार सम्मेलन गरी फोटोको बारेमा आपत्ति जनाएपछि चलचित्र चपली हाईटका निर्माताले सोचेको जस्तो पोष्टर भित्ताहरुमा लाग्न पाएन । यसपछि बिनिता र आमिर गौतमको अर्को फोटो तयार पारियो र हप्ता दिन यता काठमाडौंका बिभिन्न १२ ठाउँमा ठूला होडिङबोर्ड लगाएर राखियो । चलचित्रको यो पोष्टरमा बिनिता भन्दा पनि अमिर गौतमको पछिल्लो भाग शो गरिएको थियो ।

अब यो पोष्टरमा काठमाडौंका ट्राफिक प्रहरीको आँखा लागेको छ । ट्राफिक प्रहरीले काठमाडौंमा लगाईएका यि पोष्टरहरु हटाउन आदेश दिएको छ । चपली हाईटको पोष्टर अश्लिल भएको भन्दै प्रहरीले दुर्घटना बढ्नेतर्फ संकेत गर्दै पोष्टर हटाउन आदेश दिएको हो । कलंकीमा रहेको ट्राफिक प्रहरीले यो आदेश दिएपछि अहिले काठमाडौं भर लगाईएका पोष्टरहरु हटाउने क्रम शुरु भएको छ । निर्माता अर्जुन कुमारलाई फोन गरी प्रहरीले पोष्टर हटाउन भनेको थियो । जवाफमा अर्जुनले पोष्टर हटाउनका लागि केही न केही कागज त होला नि भनी प्रश्न गरेका थिए ।

जवाफमा प्रहरीले पोष्टर हटाउनका लागि कुनै कागज नचाईने भन्दै नहटाए आफैं हटाउने भनेको निर्माता कुमारले जानकारी गराए । उनले प्रहरीले अश्लिल भनेका पोष्टरको भागमा कालो पोत्ने बताएका छन् । ‘जहाँ जहाँ अश्लिल भयो भनि कुरा आएको छ, पोष्टरका ति सबै भागमा कालो पोतेर छोडिदिन्छु’ निर्माता अर्जुन कुमारले भने । उनले आजका दिनसम्म ४ वटा जति होडिङबोर्ड हटाएको बताए । यसरी लगाईका सबै पोष्टर हटाउँदा आफुलाई ४ लाख रुपैंया जति घाटा लाग्ने उनको दावी छ ।

यसरी चलचित्र चपली हाईट प्रदर्शन अगावै चर्चामा आईरहेको छ । शुरुवातमा नायिकाले नै पोष्टरमा आपत्ति जनाएकी थिईन् भने अहिले त ट्राफिक प्रहरीले नै आपत्ति जनाएको छ । हेरौं यो चर्चा चपली हाईटका लागि शुभ लक्षण हो यो होईन ।

Source - Online Khabar

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।