
काठमाडौ, अषाढ ३ - कोलकाता पुलिसका कन्स्टेबल नेपाली भाषी प्रशान्त तामाङ सात करोड भोटमार्फत १२ जना प्रतिस्पर्धीलाई उछिन्दै सन् २००७ मा इन्डियन आइडल बनेपछि लाखौं तन्नेरीका आदर्श बने ।
पाँच महिने प्रतिस्पर्धामा विजयी भएपछि बिहे/प्रेम प्रस्ताव राख्ने युवती प्रशंसकको भीडबाट हालै उनले नागाल्यान्ड दिमापुरकी गीता थापा मगरसँग बिहे गरे । काठमाडौंमा क्यानडेली रक गायक ब्रायन एडम्सको कन्सर्ट भएको दिन २०६७ फागुन ७ गते उनी नागाल्यान्डको नैफु रिसोर्टमा गीतासँग मगर-तामाङ परम्पराअनुसार लगनगाँठो कस्दै थिए । जन्तीसहित दुवै परिवारका ६ सय आफन्त सहभागी बिहे सकिएपछि उनले बेहुलीलाई दार्जिलिङको चौरस्तासँग जोडिएको तुङसुङस्थित मूल घर भित्र्याएका थिए । बेहुलीको घरको बिहे भएको करिब तीन महिनापछि वैशाख २३ गते प्रशान्तले दार्जिलिङको मार्टिन होटलमा फेरि बिहे गरे । उक्त बिहेमा सहभागी गायक डम्मर नेपालीका अनुसार दार्जिलिङमा दोस्रोपटक बिहे गर्नुको उद्देश्य त्यहाँका आफन्त र शुभेच्छुकलाई बिहेबारे जानकारी गराउनु थियो । प्रशान्तका अनुसार उक्त बिहे भोजमा ८ सय बढी आफन्त र शुभेच्छुकलाई निम्त्याइएको थियो । बेहुलीको जागिरको नाम मार्ता आले हो ।
प्रशान्तका अनुसार उनी स्कुले जीवनमा ३/४ पटक प्रेमजालमा परे । तर ती सम्बन्ध जागिरे जीवनमा पुगेपछि बिलाए । गीतासँग उनको प्रेम सम्बन्ध इन्डियन आइडल बनेपछि गाँसियो । उनले अभिनय गरेको फिल्म 'अँगालो यो मायाको' प्रचारका लागि यसै साता काठमाडौंमा आएका प्रशान्तले संवाददातालाई लाजिम्पाटमा भेट्दा बताएअनुसार गीताभन्दा पहिले उनकी आमा (सासू) लाई चिनेका थिए । सोनी टेलिभिजनले इन्डियन आइडल तेस्रो संस्करणका लागि कोलकातामा गरेको अडिसनमा प्रशान्त पनि छानिएपछि गीताकी आमा (जो संगीत पारखी छन् र बिमा कम्पनीकी जागिरे हुन्) औधि खुसी भएकी थिइन् । 'म इन्डियन आइडलमा छिरेको थाहा पाएपछि फोन गरी बधाई दिनुभएको थियो' कसैमार्फत फोन नम्बर खोजेर उनले प्रशान्तलाई भाइ नाता लगाउँदै बधाई दिँदै नागाल्यान्डबाट साथ दिने त्यसताका वाचा गरेकी थिइन् ।

प्रशान्तले त्यस दिन गीतालाई इन्डियन आइडल कार्यक्रमका प्रतिस्पर्धीहरू अमित र दिपालीसँग पनि चिनजान गराइदिएका थिए । 'पहिलो भेटमा खासै केही लागेन' संस्मरण सुनाउँदै प्रशान्तले भने, 'पछि फोनमा बात बढ्दै गयो, माया लाग्न थाल्यो ।' तीनै टेलिफोन वार्ताले सयभन्दा बढी कन्सर्टमा गीत गाइसकेका प्रशान्त र आकाशमा उडिरहने गीतालाई नजिक्याए । 'त्यस्तै चार वर्ष लभ चल्यो' प्रशान्तले भने । अनि दुवै परिवारको सल्लाहअनुसार फागुन ७ गते उनले बीए पास गरेकी २५ बर्षिया प्रेमिका गीतालाई पत्नीका रूपमा (पहिलोपटक) भित्र्याए ।
अहिले प्रशान्त र गीता कोलकातामा सँगै बस्छन् । माथि दार्जिलिङमा रहेको अपार्टमेन्टमा ताला लगाई प्रशान्तले कोलकातामा भर्खरै किनेको अपार्टमेन्टमा आमा रूपालाई पनि साथै राखेका छन् । पत्नीका साथ दुई पटक बागडोग्रा (दार्जिलिङबाट सबैभन्दा नजिक पर्ने एयरपोर्ट) उडेका प्रशान्तले हनिमुन मनाउन नपाएको बताए । 'कामको जिम्मेवारी, गायन र अभिनयका कारण हनिमुन मनाउन फुर्सदै मिलेको छैन,' उनले भने, 'फुर्सद निकालेर चाँडै हनिमुन जाने मुडमा छौं ।'प्रकाशित मिति: २०६८ अषाढ ३ ०३:२९

0 प्रतिकृया/हरु:
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।