
काठमाडौँ, जेठ ३ (नागरिक)- अभय श्रेष्ठको पहिलो कथा संग्रह 'तेस्रो किनारा' राजधानीमा जारी बृहत् पुस्तक प्रदर्शनीमा मंगलबार सार्वजनिक गरियो। कथाकार श्रेष्ठ र प्रकाशक मणि शर्माले पुस्तक सार्वजनिक गरेका थिए। 'उनको अखबारी र साहित्य लेखनले ऊ बेलैदेखि हामीलाई तरंग दिन्थ्यो,' लेखक बसन्त बस्नेतले भने, 'यो कथा संग्रह त्यसको उत्कर्ष रहेछ।'
सबाल्टर्न साहित्यमा विद्यावारिधि गरेका डा. तारालाल श्रेष्ठका अनुसार यो कृति सबाल्टर्न वर्गको प्रतिनिधि कृति हो। पुस्तकमा श्रेष्ठका अधिकांश नयाँ कथा छन्। पूर्वप्रकाशितमध्ये तीन कथा त्यतिखेर लेखिएका हुन् जब उनी चंकी श्रेष्ठका रूपमा चिनिन्थे।
'पञ्चायतको पृष्ठभूमिमा लिखित 'अ.त.को सत्याग्रह' किताबको सबैभन्दा लामो र महत्वपूर्ण कथा हो', प्रकाशक सांग्रिला बुक्सका मणि शर्माले भने, 'यो आफैँमा एउटा अलिखित इतिहास हो।' राजनीतिबारे थाहा नभएका दुई किशोर गान्धी र सुकरातको कुरा गरेकै कारण अ. त. (अराष्ट्रिय तत्व) कहलिन्छन्। अन्ततः एक किशोरको हत्या हुन्छ। 'बेग्लै मान्छे'मा कथाकारका सोझा, उदार र दानी स्वभावका पितालाई समाजमा पागल ठानिन्छ। कथामा यस्तो एउटा घटनाको वर्णन छ जसले पागल ठानिएका पिता र उनका पागल साथीहरु सद्दे र सद्दे ठानिएको समाज पागल ठहर्छन्। 'तेस्रो किनारा' ले विद्रोही कमैया युवकको महान् क्षमाशीलताको कथा भन्छ। दुर्घटनामा दिवंगत् कलाकार पिताको हत्या भएको पत्तो पाउँदा एक किशोरको मनस्थिति कस्तो होला? 'महान् कलाकार'मा त्यसको संवेदनशील चित्र छ।

'अजम्मरी', 'सम्पादकको हृदय', 'खबर, कहर र जहर' नेपाली पत्रकारिताका नांगो रूप देखाइएका चरम व्यंग्यात्मक कथा हुन्। कथाकार श्रेष्ठका अनुसार 'निर्वाण' उनको आत्मदर्शनसँग सबैभन्दा नजिक छ जुन बुद्धत्वप्राप्त प्रेमको संवेदनापूर्ण कथा हो। यही कथाबारे एक पाठकको चिठी पनि संग्रहमा समावेश छ। 'महाभारत', 'सुमेरुमा द्रौपदी', 'भुरवा', 'मोडेल', 'झुमीः संगीत तपाईँकै लागि', 'अमेरिका' जस्ता पुँजीवादमा जीवनको संकटमाथि लेखिएका तीख्खर कथा यसमा छन्।
श्रेष्ठले कथाका लागि २०६१ सालमा प्रज्ञा कथा पुरस्कार र २०६५ सालमा प्रहरी द्वैमासिक उत्कृष्ट रचना पुरस्कार पाएका छन्। स्तम्भ लेखनका लागि दृष्टि साप्ताहिक स्तम्भकार सम्मान (२०६५) र आमसञ्चारमा साहित्यिक पत्रकारिता सम्मान (२०६०) पाएका छन्। हाल उनको स्तम्भ 'सत्य कुरा' चर्चित छ।
मंगल विमोचन कार्यक्रममा पुस्तकको आवरणमा छापिएको एक पाठकको प्रतिक्रियाको निकै प्रशंसा भयो। छोटो त्यस चिठीको पाठ यस्तो छ-
प्रिय कथाकार,
'गरिमा'को जेठ अंकमा तपाईँको कथा 'निर्वाण' पढेपछि मेरो हृदय स्तब्ध छ। बुद्ध धर्मको नाममा बुद्धको हत्या धेरै पल्ट भइसक्यो। त्यो महान् दर्शनलाई कर्मकाण्डी बनाउनेहरूले यो कथा पढ्नैपर्छ। बुद्ध दर्शनको खास अर्थ यही कथामा खुल्छ।
निर्वाण भनेको सारा अन्धकार पन्छाएर प्रेमको उज्यालोमा छिर्नु पो हो। बालकप्रति पूर्वप्रेमिकाको अपूर्व प्रेम देखेर नायकमा आएको परिवर्तन अप्रत्यासित तर शानदार छ। यही 'प्रतिदानरहित' प्रेमले उसलाई बुद्धसम्म पुर्यायो। कुनै कथा पढेर पहिलो पल्ट आफ्नै कथा 'रिप्ले' भइरहेको देखिरहेछु। केहीअघिसम्म म 'दुर्व्यसनी' थिएँ। अहिले मुक्त छु। अब पाइल्स र लो प्रेसरको सिकार छु। कविता लेख्छु, साहित्य पढ्छु। जातले बाहुन भए पनि वर्गीयता र सामाजिकताले म कथाको त्यही दलित पात्रजस्तै छैन र?
प्रिय कथाकार, तिम्रो दुस्साहसिक लेखनलाई मेरा निला चुम्बनहरू!
स्नेही
लक्ष्मण अधिकारी
२०६६ असार २
कथाकारको एउटा लामो कथाको अंश पढ्न तलको लिङ्कमा क्लिक गर्नुहोस्।
- नागरिक न्युज
0 प्रतिकृया/हरु:
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।