‘पल'प्रति निर्देशक ढुक्क

काठमाडौं, जेठ २ (नागरिक)- अभिनेत्री निशा अधिकारी फिल्म ‘पल'लाई स्तरीय नेपाली फिल्मको संज्ञा दिन्छिन्। आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले सामाजिक सन्देश बोकेको ‘पल'लाई आफ्नो अभिनय यात्राको विशेष उपलब्धि मानेकी छिन्।

‘नेपालमा पनि राम्रो फिल्म बन्छ भन्ने प्रमाण हो, पल,' उनले भनिन्। आगामी मंगलबार फिल्मको प्रिमियर शो समेत हुँदैछ। निर्देशक रमेश बुढाथोकीद्वारा निर्देशित ‘पल'मा पारिवारिक कथा समेटिएको छ।

‘मेरो करियरकै उत्कृष्ट फिल्मको रूपमा यसलाई लिएको छु,' रमेशले भने। ‘मोहनी' फिल्मदेखि ‘पल'सम्म आइपुग्दा बल्ल स्वतन्त्रतापूर्वक काम गर्न पाएको उनले अनुभव गरे। ‘पहिला व्यावसायिक फिल्म धेरै बनाएँ। भनेजस्तो काम गर्ने अवसर चाहिँ यसैमा पाएँ,' उनले थपे।

यस फिल्मलाई जेसिसी र रोटरी क्लबले विभिन्न ठाँउमा च्यारिटी गर्नेछ। फिल्ममा न्ह्यू बज्राचार्यले संगीत दिएका छन्। ‘फरक फिल्म भएकोले यसमा काम गरेको छु,' न्ह्यूले भने।


निर्माता कर्ण शाक्यले फिल्म सबै वर्गका लागि तयार भएको बताए। फिल्ममा अनुप बराल, राजवल्लभ कोइराला, निशा अधिकारी, तृप्ती नाडकर र नीर शाहले अभिनय गरेका छन्।

चलचित्र विकास बोर्डले विशेष फिल्मको मान्यता दिएको ‘पल'लाई दर्शकले साउन महिनामा मात्र हेर्न पाउने छन्।

- नागरिक न्युज

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।