डराउँदै खिचेको फोटो पहिलो

काठमाडौं, वैशाख ३० (नागरिक) - गोरखापत्रकी संवाददाता यलु जोशी मनोरञ्जनात्मक फिचर समाचारको खोजीमा थिइन्। चाबहिलको पशुपति क्याम्पसका विद्यार्थी र प्रहरीको झडपले उनको काममा अवरोध पुर्‍यायो। पुलिस पत्रकारमाथि समेत जाइलागेको त्यो ठाउँ जतिसक्दो छिटो पार गर्न चाहन्थिन् उनी। तर, त्यो 'रणभूमि' छिचोल्न संघर्षरत् बालिकाले उनलाई अड्यायो। उनले आफ्नो 'डि फिफ्टी' क्यामेरा झिकिन् र फटाफट त्यो दृश्य कैद गरिन्। गएको फागुनमा खिचेको त्यही फोटोले २३ वर्षीया यलुलाई 'फोटो अफ दि इयर'को उपाधि दिलायो।
फोटो जर्नालिस्ट क्लबले आयोजना गरेको 'मेगा बैंक फोटो कम्पिटिसन २०६७'मा उनले एक लाख बराबरको पुरस्कार समेत पाइन्। 'म व्यावसायिक फोटोग्राफर हैन। यो प्रतियोगितामा जसले पनि पठाउन मिल्ने थाहा पाएपछि मैले १२ वटा फोटो पठाएकी थिएँ,' पाँच हजारलाई उछिन्दै आफ्नो फोटो सर्वोत्कृष्ट घोषणा भएपछि यलुले भनिन्, 'एक सयभित्र त पर्ला कि जस्तो लागेको थियो। बेस्ट भएको देख्दा अचम्म लागेको छ।' देशका चर्चित फोटोग्राफरले भाग लिएको प्रतियोगितामा मिलेको सफलताले आफूलाई चकित तुल्याएको प्रतिक्रिया दिइन् उनले।
यो सफलताले फोटोग्राफीलाई व्यवसाय बनाउने हौसला जगाएको उनले बताइन्। गोरखापत्रकै फोटो पत्रकार विकास द्वारेको संगतमा फोटोग्राफीको जानकारी बटुलेको बताइन् उनले। 'फोटोग्राफीको औपचारिक अध्ययन गर्ने रहर जागे पनि मौका मिलेको छैन,' उनले भनिन्।
प्रतियोगितामा 'डेली लाइफ' विधामा नागरिकका पत्रकार विक्रम गिरीको फोटो प्रथम भयो। डोरीमा झुन्डिएर महाकाली नदी तर्दै गरेकी महिलाले उठाएको जोखिम उनले उतारेका छन्। यसमा नागरिककै विजय राईको फोटो दोस्रो भयो। राजधानीका एक युवकले टेम्पोमा गरेको अप्ठ्यारो यात्रा उनको फोटोमा देखिन्छ। कान्तिपुरका नरेन्द्र श्रेष्ठले खिचेको इनारमा काम गर्ने मजदुरको फोटो तेस्रो भएको छ।
'नेचर एन्ड वाइल्ड लाइफ'तर्फ राजेन्द्र मानन्धरको फोटो प्रथम भयो भने यो शीर्षकमा लाक्पा सोनाम शेर्पा र दीपक शाहको फोटो दोस्रो र तेस्रो भयो। 'न्युज फोटो'मा कपिलदेव खनाल उत्कृष्ट भए। नुवाकोटको बुधसिंका विद्यार्थीले लठ्ठामा झुन्डिएर त्रिशुली नदी तर्दै गरेको फोटो छ उनको। यसमा नागरिकका केशव थोकरको फोटो दोस्रो र रोयटर्स्का नभेस चित्रकारको फोटो तेस्रो भयो। कान्तिपुरका शैलेन्द्र खरेलको फोटोले 'अनरेवल मेन्सन' उपाधि पायो।
'फोटो स्टोरी'तर्फ नयनतारा गुरुङ कक्षपति पहिलो, केशव थोकर दोस्रो र अन्नपूर्ण उमा विष्ट तेस्रो भए।
'टुरिजम फोटो'तर्फ रमेश तामाङ प्रथम, मदनकुमार दुवाल दोस्रो र सिर्जना बज्राचार्य तेस्रो भए। विभिन्न विधाका एक सय ४० फोटो प्रदर्शनी राजधानीको नेपाल आर्ट काउन्सिलमा शनिबारसम्म चल्नेछ। सभामुख सुवासचन्द्र नेम्वाङले फोटो खिचेर प्रदर्शनीको उद्घाटन गरेका थिए।
प्रायोजक मेगा बैंकका अनिल शाहले आफ्नो सहयोगलाई अर्को वर्ष पनि निरन्तरता दिइने बताए।

- नागरिक न्युज

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।