
टेकनारायण भट्टराई, पाल्पा, वैशाख २८ - गायन सम्बन्धी रियालिटी शोको निर्णायक भएर पाल्पामा अडिसन लिन आएका गायिका अञ्जु पन्त र उनका पति मनोजराजबीच बोलचाल भएन। 'सिंगिङ आइकन'को निर्णय सुनाउने क्रममा संगीतकार टीका भण्डारीसँग दुवैले कयौं पटक कानेखुसी गरे। तर, आपसमा बोलेनन्। पछिल्लो समय अञ्जु र मनोजको सम्बन्धमा फाटो आएको र उनीहरू पारपाचुके गर्ने अवस्थामा पुगेको चर्चा चलेको छ।
अञ्जु र मनोजको आपसमा तालमेल नमिल्दा प्रतियोगीले पनि कष्ट सहनु पर्यो। कसलाई छान्ने र बाहिर्याउने भन्नेमा दुईबीच पटक्कै तालमेल नहुँदा निर्णय लिन समय लागेको थियो। प्रतियोगीले छिटो निर्णय पाएनन्। अञ्जुले रुचाएका प्रतियोगीलाई मनोज नछान्ने अडान लिन्थे। तर आपसमा सल्लाह भने गर्थेनन्। बीचमा तालमेल मिलाउन संगीतकर भण्डारी खट्थे। अञ्जु मलिन अनुहार बनाएर टाउकोमा हात राखेर बस्थिन्।
कार्यक्रमका निर्देशक गणेश कार्की दुईबीचको तालमेल नमिलेको देखेर हैरान थिए। निर्णायकको छनोटबारे प्रश्न गर्दा उनले व्यक्तिगत विषयमा बोल्न नमिल्ने बताए। 'उहाँहरूको निजी मामिलामा के बोलुँ। कार्यक्रमको अवस्था देखिहाल्नु भयो,' उनले भने।
तानसेनमा उनीहरू छुट्टाछुट्टै होटलमा बसेका थिए। रिदम नेपालको उत्पादनमा नेपाल टेलिभिजनमा प्रसारण हुँदै आएको कार्यक्रम 'सिंगिङ आइकन'मा निर्णायक बन्ने सम्झौतामा दुवैले पहिला नै हस्ताक्षर गरेका हुनाले उनीहरूको उपस्थिति बाध्यात्मक रहेको जनाइएको छ।
सम्बन्ध विच्छेद भइसक्यो : अञ्जु
मन फर्काउने प्रयास गरिरहेको छु : मनोज
गायिका अञ्जु पन्तले गायक मनोजराजसँग सम्बन्ध विच्छेद भइसकेको घोषणा गरेकी छिन्। पाल्पामा रहेकी गायिकाले मनोजसँग सांगीतिक सम्बन्ध मात्र रहने बताइन्।
'हाम्रो सम्बन्ध विच्छेद भइसकेको हो,' अञ्जुले भनिन्, 'ऊ नेपाली गायक म गायिका। हाम्रो कामको नाता मात्र हो।' सम्बन्धको उतारचढावबारे थप कुरा गर्न उनले चाहिनन्।
कार्यक्रममा अञ्जुसँगै देखिएका मनोजले भने पाल्पाबाट फर्केपछि अञ्जुको मन फर्कने आशा व्यक्त गरे। 'यो सुन्दर ठाउँमा खाएका छौं। यहीँ अञ्जुको मन फर्काउने प्रयासमा छु,' उनले भने। सम्बन्ध विच्छेद नभइसकेकोले अञ्जु साथमै रहनेमा आशावादी रहेको उनले दोहोर्याए।
- नागरिक न्युज 
 


 
 
0 प्रतिकृया/हरु:
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।