सुनिल थापाको एक दिन

  • खाना आफैं पकाउँछु


काठमाडौ, वैशाख २२ - बिहान साढे पाँच बजे उठिसक्छु । फ्रेस भएपछि मर्निङवाक जान्छु (नयाँ बानेश्वरस्थित डेरादेखि) पशुपतिसम्म । बाटोमा फोहोर उठाएको रहेनछ भने तीनकुनेतिर लाग्छु । कलेजका विद्यार्थीहरू भेटिन्छन् । 'ऊ रातेकाँइला, हलो वनढाडे मामा' भन्दै हात उठाउँछन्, मुसुक्क हाँसेर अभिवादन फर्काइदिन्छु । कहिले त आधी मुख्ा छोप्ने क्याप लाएर कुदिरहेको छु । मर्निङवाक साँच्चिकै जीवनको बेग्लै क्षणजस्तो रमाइलो लाग्छ ।

फर्केपछि किचेनमा छिर्छु र ब्ल्याक टी पकाउँछु । साँझका भाँडा छन् भने माझ्छु । खाना पकाउन र भाँडा माझ्न एकदमै मज्जा लाग्छ । उनी (पत्नी रजनी सुब्बा थापा) नेपाल आएकी बेला पनि आफैं पकाउँछु । छोरा, छोरी र आमासहित रजनी मुम्बईस्थित घरमा बस्छन् । छोराले ग्र्याजुएसन सकायो, छोरीले सिनियर स्कुल ।

ब्ल्याक टीपछि दुइटा अन्डा, ससेज, तीन पिस पाउरोटी खान्छु, बटर र चिज कम्पल्सरी चाहिन्छ । बत्तीको लाइन छ भने हत्तपत्त राइस कुकरमा भात बसालिहाल्छु, प्रेसर कुकरमा पानी अड्कल्न आउँदैन । ब्रेकफास्ट खाइसक्दा साढे ८ बज्छ । यसपछि पत्रपत्रिका पढ्छु, टिभी हेर्छु- स्पोर्ट र न्युज च्यानल । खेलकुदप्रेमी छु, फुटबल र क्रिकेट मन पर्छ ।

सुटिङको बेला ब्रेकफास्ट बाहिरै हुन्छ । नौ बजेतिर सुटिङ स्पट पुग्छु । तीन महिनादेखि लगातार सुटिङमा छु । २२ फिल्म रिलिज हुने क्रममा छन्, तीनवटा फिल्मको सुटिङ भ्याइरहेको छु । २ सय बढी नेपाली फिल्म र डेढ दर्जन हिन्दी फिल्म खेलिसकेछु । फर्केर हेर्दा रमाइलो लाग्छ- समय त्यत्तिकै खेर गएनछ ।

अँ त, खाजाको कुरा भइरहेको थियो । सुटिङको खाजाको सन्दर्भमा मैले संधै एउटा ठट्टा गर्ने गरेको छु कि नेपाली फिल्मलाई कलिउड हैन 'चाउचाउलिउड' भन्नुपर्छ । नेपाली फिल्म दुनियाँमा चाउचाउ चल्तीको खाजा हो । तर अचेल त कलाकारले चाहेकै चिज मगाइदिन्छन् । सुटिङको खाजा पुरी-तरकारी रहेछ भने चाहिँ १०/१२ वटै भ्याइदिन्छु, सार्‍है मिठो लाग्छ ।

फाइट सिक्वेन्स छ भने लन्च ब्रेक सुटिङ प्याकअप भएपछि मात्रै हुन्छ, तर नर्मल्ली २ बजेतिर लन्च लिन्छु- दाल, भात, तरकारी, मासु । खुर्सानी खादिनँ । देख्यो कि पसिना आइहाल्छ र मेकअप बिगि्रन्छ । घरमा चाहिँ डल्ले खुर्सानीप्रेमी हुँ । आज (बुधबार) प्रदीप उदयको 'हाम्रो माया जुनी जुनीलाई' को सुटिङ थियो, साथीहरूले खुर्सानी र हरियो काँक्रो ल्याएका रहेछन्, देख्दैमा पसिना छुटेर हैरान । बल्ल मन सम्हालें ।

आउट डोर सुटिङ छ भने घर फकिर्दा साँझ ६ बज्छ । इन्डोरमा त रातभर सुटिङ हुन्छ, कहिले बिहान ६ बजेतिर मात्रै फर्किन्छु । अस्ति रातभर अग्रज केसीको 'भइहाल्छ नि' को सुटिङ थियो, बिहान ७ बजे फर्कें, एक घन्टा फ्रेस भएपछि ८ बजे फेरि 'हाम्रो माया जुनी जुनीलाई' को सुटिङतिर कुद्नुपर्‍यो । सुताइ त त्यस्तै हो, साथीहरू इनर्जी डि्रंक्स ल्याइदिन्छ्न्, निदै्र हराउने गरी ।

साँझ फर्केर टिभीमै झुन्डिन्छु । मुड चल्यो भने किचेन छिर्छु र भाँडा माझ्छु । डान्सबार, रेस्टुरेन्ट जाने बानी नै छैन । बत्ती नभएको बेला नजिकैको स्टार एफएम जान्छु, टिभी हेर्न । जेनेरेटर चल्छ, आनन्दले स्पोर्ट र न्युज च्यानल हेर्छु । स्पोर्ट त छुटाउनै सक्दिनँ भन्या । नशा नै भयो । त्यही भएर कहीँकतै मन्तव्य राख्नुपर्‍यो भने 'ह्याप्पी लोडसेडिङ' भनिदिन्छु । एक प्रकारले यो व्यंग्य हो । अहिले च्याम्पियन्स लिग फुटबल चलिरहेको छ, आज मेन्चेस्टर र साल्काबीच सेमी फाइनल हुँदै छ राति पौने १२ बजे । मन पर्ने टिम मेन्चेस्टर युनाइटेड हो, दुई बजेअघि सुत्ने कुरै भएन ।

नौ-साढे नौ बजेतिर किचन पसेर पकाउन थाल्छु । दुई दिन भयो एकजना आफन्त भाइ आएका छन्, एसएलसी सकाएर । उनी केही वर्ष सँगै बस्छन, उनलाई पनि खाना पकाउन सिकाउनुछ । खाँदा ११ बज्छ, सामान्यतः १२ बजेतिर सुत्छु । गएको फ्रेब्रुअरी ११ तारिखबाट रक्सी पिउन छाडिदिएँ । चेकअप गर्न गएको, डाक्टरले केही छैन भनिदिए । यसपछि त झनै ज्यानको लोभ लागेर आयो । अनि पिउन छाडिदिएँ (हाँस्दै) ।

सुटिङ नभएको बेला बत्ती छैन भने दिउँसोको फुर्सदमा किताब पढ्छु । अंग्रेजी थि्रलर रुचाउँछु । अहिले चाहिँ ओशोको 'इन्टिम्यासी' पढिरहेको छु । जीवनलाई सुखी बनाउन सक्नु पनि एउटा कला नै हो । म त चौबीसै घन्टा सुखी महसुस गर्छु । कसैलाई दुःख बाँडदिनँ । छोरा मुम्बईमा बाइक दुर्घटनामा परेर स्पाइनल कर्डको अप्रेसन गर्नुपर्दा चाहिँ साँच्चिकै दुःखी भएँ । उपचारमा धेरै खर्च भयो । आमाको पौरखले किनेको सानो घरै बेच्नुपर्‍यो ।

ई-कान्तिपुर

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।