"निराशाका गीत लेख्दिनँ"

काठमाडौं, वैशाख २० - मुलुकमा द्वन्द्व चर्किरहेको बेला उनले 'शान्ति लुकाउँ कहाँ...' जस्ता मन छुने गीत लेखे । बाहिरी दुनियाँमा शान्ति नमिले पनि आत्मिक शान्ति खोजी गर्दै ल्याए, आध्यात्मिक गीतहरूको एल्बम 'तिमै्र लागि' । जब मुलुकमा नयाँ परिवर्तन छायो, उनले आशा र उमंग समेटेर नयाँ एल्बम निकाले- 'रिफ्लेक्सन अफ लभ' ।

वसन्त चौधरी, पेसाले व्यवसायी, रुचिले गीतकार । उनै गीतकार फेरि नयाँ अवतारमा देखिँदै छन् । केही दिनमै उनको चौथो एल्बम 'वन्ली लभ' बजारमा आउँदै छ । 'गीति लेखनमा परिचय बनाएको १२ वर्ष बितेछ,' सोमबारको भेटघाटमा उनले पहिलो एल्बम 'माया बल्झेछ' लाई सम्झे, 'सुगम संगीतमा त्यो मेरो पहिलो खुड्किलो थियो । त्यसयता समय निकै बदलिसकेको छ ।'

बदलिएको समयको संकेत उनको पछिल्लो एल्बम 'वन्ली लभ' पनि हो, जहाँ उनले सुगम संगीत मात्रै हैन, लोक, मेलोडी, पपदेखि ज्याज स्वादसम्मका कोसेली पस्केका छन् । भारतीय सुफी गायक कैलाश खेर र श्रेया घोषसमेतको स्वर सुन्न सकिने एल्बममा रामकृष्ण ढकाल, योगेश्वर अमात्य, रिमा गुरुङ होडा, सिने गुरुङ, शिव परियार, हेमन्त राना, निलञ्जना र श्रेया सोताङले विविधता थपेका छन् ।

'प्रविधिमा पनि त्यत्तिकै कन्सस भयौं,' मुम्बईको अत्याधुनिक स्टुडियोमा रेकर्ड गरिएका गीतहरूमा बलिउडका चर्चित वाद्यवादकहरूले लाइभ म्युजिक दिएको बताउँदै उनले भने, 'क्वालिटी र पछिल्लो पुस्ताको मनोविज्ञान दुवै हेर्नुपर्‍यो नि ।'

मनोविज्ञानकै कुरा गर्दा उनी फेरि पहिलेकै प्रेमपरक धारमा फर्किएका छन् र जसलाई उनी आशा र उत्साहको बाटोको रूपमा लिन्छन् । प्रेमपरक गीतहरूबाटै यात्रा थालेका उनी बीचमा केही आध्यात्मिक भएका थिए र पछिल्ला दुइटै एल्बमले पुरानै बाटो पक्डेका छन् । 'अध्यात्म पनि प्रेम नै हो,' ५३ वर्षीय गीतकारले भने, 'मैले कहिले पनि निराशाका गीत लेखिनँ । द्वन्द्वले आममानसिकता थिलथिलो भएको बेला पनि मैले निराशा लेखिनँ । बरु, शान्तिका शब्द लेखें, आफैंभित्र शान्ति खोज्न अध्यात्मपरक शब्द कोरें ।'

पछिल्ला दुइटै एल्बमको नामसँगै 'लभ' जोडिनुमा पनि उनले 'सकारात्मक मनोविज्ञान' कारक रहेको बताए ।

'मुलुक निर्माणका लागि आशा, उत्साह र सकारात्मक दृष्टिकोणको खाँचो छ,' उनले भने, 'प्रेमपरक गीतहरू लेख्नुको कारण यही हो । बिरक्तिएको बेला सिरियस कुरा ग्रहण गर्न सकिँदैन । अहिलेका नयाँ पुस्तालाई निराशाभन्दा पनि आशा र प्रेम दिनुपर्छ जस्तो लाग्छ ।' गीत मात्रै हैन, उनी कविता पनि त्यस्तै लेख्छन् । अहिलेसम्म लेखिएका कविताको सँगालो निकाल्ने जमर्को गरिरहेको उनले खुलाए ।

व्यस्त व्यावसायिक जीवनमा लेख्ने फुर्सद कत्तिको मिल्छ ? उनले भने, 'मनमा अनेक कुरा खेलिरहन्छन् । तिनलाई टिपिहाल्छु र फुर्सदको एकान्तमा लेख्न बस्छु ।' काठमाडौंको कोलाहलमय सडक, धुवाँ र धुलो । यस्तोमा घर (ठमेल) बाट अफिस

(थापाथली) को यात्रा क्रममा उनी कहिलेकाहीँ बिरक्तिन्छन् पनि । 'यस्तो बेला मलाई सिर्जनाप्रतिको चाहले नै बचाइरहेको हुन्छ,' उनले आफ्नो बानी सुनाए, 'हत्तपत्त डायरी निकाल्छु र लेख्छु । फ्रस्टेसनबाट आफूलाई बचाउन पनि यसो गर्छु ।'

साँझ पार्टीहरूमा जम्ने र रमाइलो गर्ने बानी उनको छैन । दिउँसो मनमा उब्जेका अनेक भाव साँझको एकान्तमा कोर्छन् । 'यात्रामा पनि लेख्न रुचाउँछु,' उनले सुनाए, 'धेरै जसो गीत मैले प्लेन यात्रामा लेखेको छु । आकाशको उचाइमा लेखिरहेको छु भन्ने सम्झिँदा निकै रमाइलो लाग्छ र लेखनमा थप ऊर्जा मिल्छ ।' उनका यी अनुभवलाई गीतका रूपमा सुन्न न्ह्यु बज्राचार्यको संगीत रहेको एल्बम 'वन्ली लभ' पर्खौं ।

- ईकान्तिपुर

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।