आमा बन्दैछु : सञ्चिता

स्मृति ढुंगाना, काठमाडौं, वैशाख १३- अभिनेता निखिल उप्रेतीसँग दोस्रो विवाह गरेकी अभिनेत्री सञ्चिता लुइँटेलले आफू आमा बन्न लागेको बताएकी छन्। सञ्चिता ६ महिनाकी गर्भसहित निखिलको पुर्ख्यौली घर सर्लाहीमा छिन्। ‘निखिलजीले फिल्म सुटिङबाट फुर्सद पाएपछि काठमाडौं आउँछु,' सञ्चिताले नागरिकसँग टेलिफोनमा भनिन्। निखिलसँग गुपचुप विवाह गरेर भारतको मुम्बई गएकी सञ्चिताले त्यहाँ टेलिफिल्म खेल्न संघर्ष गरिरहे पनि गर्भवती भएपछि घर फर्किएको जानकारी दिइन्।

कामबाट छुट्टी लिएपछि तौल निकै बढेको बताइन् उनले। ‘खानपिनमा धेरै ध्यान दिन थालेकाले होला तौल ५६ केजी पुगिसक्यो,' उनले भनिन्।

विवाहपछि तेस्रोपटक सर्लाही पुगेकी सञ्चिताले घुमफिर र घरायसी काममा समय बित्ने गरेको बताइन्। ‘यसपालि अलि बढी समय बस्न पाएँ। दिउँसो त गर्मीले अत्याउँछ। तर, बिहान बेलुकी भने शीतल नै छ,' लामखुट्टेले भने निकै सताएको उनले बताइन्।

उखुको जुस मन पराउने यी हिरोइनले आफ्नै बारीको उखुको खुब सदुपयोग अनुभव पनि नागरिकसँग साटिन्। ‘बेलुकीपख बारीमा जान्छु। उखु काटेर ल्याउँछु र जुस बनाएर खान्छु। ताजा जुसको स्वादै बेग्लै हुँदो रहेछ,' स्थानीयको जमघट बाक्लो हुँदा सुटिङ स्पटको झझल्को आउने गरेको उनले सुनाइन्।

फिल्ममा विभिन्न पहिरनमा देखिएकी सञ्चिताले घरमा भने रातो धोतीमै सजिने गरेको बताइन्। ‘मलाई ठाउँअनुसारको काम गर्न मन पर्छ। बुहारी भएपछि पहिरनको अनुशासन पनि कायम गर्नु पर्‍यो नि,' उनले दैनिक मन्दिर जाने गरेको समेत जानकारी दिइन्। धर्ममा आस्था राख्ने सञ्चिताले काठमाडौंमा छँदा पनि पूजाआजामा समय दिँदै आएकी थिइन्।

संयुक्त परिवारमा रहेकी सञ्चिताको भागमा भान्छाको जिम्मेवारी परेको छ। अरु सदस्यले कामबाट टाढा राख्न खोजे पनि आफ्नै रुचिले यो जिम्मेवारी उठाएको बताइन्। सहरमा हुर्किएकी सञ्चितालाई कोलाहल नहुँदा गाउँ रमाइलो लागेको छ। ‘दिनमा एउटा बस चल्दो रहेछ। सवारी साधनमा साइकल मात्र,' टेलिभिनज र इन्टरनेटको दुनियाँबाट टाढा रहँदा केही छुटेजस्तो लागेको उनले बताइन्। केही दिनमा निखिल ‘परिचय'को सुटिङ सकेर लिन आएपछि काठमाडौं फर्किने उनले जानकारी दिइन्।

- नागरिक न्युज

1 प्रतिकृया/हरु:

Anonymous said...

thats good job keep on going

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।