शिवलाई साई बाबाको सम्झाना

काठमाडौं, वैशाख १२ (नागरिक)- 'ऊँ साइराम!' टेलिफोन उठाउँदा र कसैलाई भेट्दा यसरी सम्बोधन गर्न थालेको ११ वर्ष भयो। म साई बाबाको भक्त हुँ। उहाँप्रति श्रद्धा दर्शाउन यसो गरेको हुँ। जवाफमा सबैले 'साईराम'भन्दा मलाई एकदमै खुसी लाग्छ। मलाई शिवजी, सर र दाइ भनेर बोलाउनेले पनि साइराम भन्न थालेका छन्। कतिपय कलाकार साथी मेरो कुरा सुनेर साईभक्त भएका छन्। करिश्मा मानन्धर, गौरी मल्ल, पूजा चन्द र राजेन्द्र खड्गी बाबाका श्रद्धालु हुन्। उनीहरू भेटघाट हुँदा बाबाको विषयमा विभिन्न जिज्ञासा राख्छन्। म जानेको जति बताउँछु। कलाकारका बीच बाबाको चर्चा गर्न पाउनु मेरो गौरवको विषय हो।

मैले होश सम्हालेदेखि नै धर्ममा आस्था राख्दै आएको छु। पूजा, पाठ, भजन, कीर्तनमा सरिक हुन मन लाग्छ। कसैलाई केही सहयोग गरौं भन्ने भावना धर्मले जागृत गराउँदो रहेछ। ११ वर्षअघि बाबाको आश्रम पुट्टपर्ती पुगेपछि उहाँप्रति एकदमै आस्था जाग्न थालेको हो। हीरालाल डंगोलसँग कलाकार साथी अर्जुनजंग शाही र पुरन जोशीको साथमा म बाबाको दर्शन गर्ने अभिलासा लिएर त्यहाँ गएको थिएँ।

शिरडी साई बाबाको बारेमा त मलाई थाहा थियो तर सत्य साई बाबाको बारेमा त्यति जानकारी थिएन। साई बाबालाई प्रत्यक्ष देख्दा साक्षात भगवानको दर्शन पाएजस्तो लाग्यो मलाई। उहाँले मलाई औँठी दिनु भएको थियो। मानव हितको लागि बाबाले गर्नुभएको कार्य देखेर म एकदमै प्रभावित भएको थिएँ।

'भजन गर्ने ओठभन्दा सेवा गर्ने हात ठूलो हो' भन्ने बाबाको वाणीले म एकदमै प्रभावित छु। आफ्नो कामले अरूलाई हानी नहोस् भन्नेमा शतर्क हुन्छु। हरेक बिहीबार भजनमा सहभागी हुन्छु। अरु बेला पनि फुर्सद भयो भयो मलाई धार्मिक समारोहमा जान मन लाग्छ।

बाबाले भन्नु भएको थियो, 'मानव जीवन बडा मुश्किलले पाइन्छ। यो जीवन पाउने साह्रै भाग्यमानी हुन्। त्यसैले भगवान पनि मानव अवतार लिन लालायित हुन्छन्।' राम, कृष्ण, बुद्ध आदि भगवानले पनि एउटा युगमा मानव अवतार लिनु भएको विश्वास गर्छौं हामी। बाबा यो युगको भगवान हुनुहुन्छ। उहाँको निधन भएको खबरले म स्तब्ध भएँ। एकपटक सबैले धर्ती छोड्नुपर्ने नियतिले भगवानलाई पनि छोड्दो रहेनछ। हरेक युगमा उहाँजस्तो महापुरुषको जन्म होस्। र, उहाँहरूको मार्ग दर्शनमा हिँड्न पाइयोस् भन्ने कामना गर्दछु। साई बाबाको आत्माले चीर शान्ति पाओस्! नागरिक न्युज

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।