"फेसबुक हेर्न बिर्सिन्नँ"

काठमाडौ, वैशाख १ - बुधबार दिनभर कमेडी फिल्म 'ब्रेक फेल' को सुटिङमा व्यस्त भएँ । नेपाली नयाँ वर्षको अघिल्लो दिन, पानी पर्‍यो, काममै रमाइलो गरें । चौथो होम प्रोडक्सन हो 'ब्रेक फेल' । निर्देशक पति शंकर घिमिरे हुनुहुन्छ ।

म बिहान पौने सातदेखि सात बजेसम्म उठिसकेकी हुन्छु । होल नाइट सुटिङ गरेर बिहान पाँच बजेतिर सुत्दा पनि सात बजे आँखा खुलिहाल्छ । तर यस्तो बेला चाहिँ आँखा खुले पनि फेरि सुत्छु, ११ बजेसम्म । उठ्नेबित्तिकै ब्ल्याक-टी चाहिन्छ । चिया नखाईकन त ओछ्यानबाट झर्दिनँ पनि ।

मेरो वेट एक वर्षदेखि इस्यु बनिरहेको छ । पहिले जति खाए नि वेट बढ्दैनथ्यो, अहिले त खायो कि ह्वात्तै बढिहाल्छ । मर्निङवाक, योग गर्दिनँ । वेट कम गर्नुपर्‍यो भने खानाको मात्रा घटाउँछु । फिल्मका अरू दृश्यमा त खासै असर हुँदैन, गीतको सुटिङ छ भनेचाहिँ मर्नु हुन्छ । शरीरमा बढी फोकस हुने भएकाले वेट घटाउनैपर्ने हुन्छ । केही दिनअघिसम्म मार्सल आर्टको ट्रेनिङमा थिएँ, गौशालाको भण्डारखाल जंगलभित्र, 'ब्रेक फेल' कै द्वन्द्वनिर्देशक सानु महर्जनसँग । यसले वेट घटाउन हेल्प गर्दोरहेछ । तौल ५३ केजीबाट ६३ केजी पुगेको थियो । अहिले ५६ केजी छु ।

सुटिङका बेला घरमा ब्रेकफास्ट हुँदैन । नौ बजेतिर दुइटा रोटी, हरियो साग र दही खान्छु । चिया र कफीको एकदमै पारखी छु, तर चिनी अभोइड गर्छु । दिनमा लगभग १५ कप चिया लिन्छु । लन्च ब्रेक दिउँसो तीनदेखि चार बजेभित्र हुन्छ । दुइटा रोटी, चिकेन वा फिस करी खान्छु । दाल भइहाल्छ । भात नखाएको एक साता भयो, वेट घटाउन । तर न्यु इयर इभमा मन थाम्नै सकिनँ । सुटिङ युनिटको भाइलाई भनेर मिठाई मगाएँ, मजाले खाएँ । गीत सुटिङको बेला कन्ट्रोल गर्नैपर्ला ।

आउट डोर सुटिङ छ भने साँझ सात बजे प्याकअप हुन्छ । इन्डोर लेट नाइटसम्म पनि हुन सक्छ । तैपनि म सात बजे घर (चाबहिल, कुमारीगाल) आइसक्छु । आफैं ड्राइभ गर्छु । डिनरमा खासै इन्टे्रस्ट छैन । डिस्को र पब पनि जान्नँ । तर मन मिल्ने साथीहरूको फेमिली ग्यादरिङ र हाउस पार्टी खुब मन पर्छ । घरमा हो भने एक कप दूध र सुप खान्छु, ननभेज र चिकेन दुवै । विदेश जाँदा चाहिँ पब-डिस्कोतिर पनि जान्छु, लाइफस्टाइल बुझ्न । यहाँ कम्र्फट लाग्दैन । वाच गर्ने आँखाहरू धेरै हुन्छन् । बरु विदेशका साथीहरूले फोन गरेर 'काठमाडौंको फलानो डिस्को क्या रकिङ छ यार, जाऊ न' भन्छन् । न्यू इयर इभमा पनि मन मिल्ने साथीहरू र आफन्तबीच छु, जोरपाटीको एउटा रिसोर्टमा । डिजेहरू बोलाएकी छु । नाच्नु त पर्छ नै ।

जीवनमा दुइटा कुरा मन पर्छन्- फिल्म खेल्न र हेर्न । एक दिन लन्डनमा हिँडिरहेकी थिएँ । निकै गम खाँदै सोचेँ- साँच्चै फिल्म नभएको भए यो ऋचा कहाँ हुन्थी होला ? म आज जे छु, फिल्मकै कारण । त्यही भएर फुर्सद मिल्यो कि मजाले फिल्म हेर्छु । हिन्दी, नेपाली, अंग्रेजी सबै । थिएटरमै गएर हेर्छु, कफी र पपकर्न खाँदै हेर्दाको मजा बेग्लै हुन्छ । नेपाली फिल्म हेर्नचाहिँ घरनजिकै बौद्धको पृथ्वी हलमा क्याबिन बुक गर्छु र जान्छु ।

सुटिङ नहुँदा माइतीमा ममी (श्रुति दाहाल) सँगै हुन्छु । मेरो घर र माइती दुईतीन मिनेटको दूरीमा छ । माइतीमा चार वटा कुकुर छन्, तीसँग खेलिरहन्छु । बुबा यसै वर्ष बित्नुभो । साथीभाइ खासै छैनन् । मन मिल्नेहरू विदेशमै छन् । चुच्चेपाटीमा एउटा ब्युटिपार्लर छ, कहिले उतै गएर फेसियल र हेयर टि्रटमेन्ट गर्छु । एकाग्रता भयो भने उपन्यास पढ्छु । हालै चेतन भगतको 'टु स्टेटस्' सिध्याएँ । फेसबुकको प्रेमी हुँ । फुर्सद भयो कि अपडेट भइहाल्छु । दिनमा एकपटक फेसबुकमा नबसे चित्तै बुझ्दैन । नयाँ फिल्म 'वीरताको चिनो' वैशाख ३० मा रिलिज हुँदै छ । त्यसको तयारीमा छु । हालै 'दीर्घायु' नामक संस्था खोलेकी छु । फन्ड कलेक्सनतिर टाइम दिइरहेकी छु ।

राति ११ बजे सुतिसक्छु । सपिङ गर्ने बानी अलि अजिबको छ । सडकदेखि मलसम्मै सपिङ गर्दै हिँड्छु । मन पर्‍यो भने सडकमा दुई सयको टि-सर्ट किन्छु, सपिङ मलमा दुई हजारको पनि कुम्ल्याउँछु । कहिलेकाहीँ त पतिको पर्स नै रित्याइदिन्छु । कपडामा ब्रान्ड कन्सस छैन । पफ्र्युम, चस्मा, घडी र कस्मेटिकचाहिँ ब्रान्डेट हुनैपर्छ । ईकान्तिपुर

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।