काठमाडौ, चैत्र २८ - लक्का जवान भएर पनि अर्जुन सकेसम्म ठगेर खान पल्केको छ, बाबुलाई टेरपुच्छर लगाउँदैन । फिल्म अभिनेत्री युना उप्रेतीको डाई हार्ट फ्यान अर्जुन ९राजबल्लभ कोइराला) आफ्नै गाउँकी गौरी (गरिमा पन्त) को मायालाई भने 'नजिकको तीर्थ हेला' जस्तो ठान्छ । युनाबाट आफ्नो धरातलको बोध भएपछि अन्ततः अर्जुन बदलिन्छ ।
रेशराज आचार्य निर्देशित 'प्रीतिको फूल' गाउँले र सहरिया युवतीहरूसहितको त्रिकोणात्मक प्रेमकथा हो । आफ्नो मन खाएको अर्जुनले अभिनेत्री युनालाई नभेटी नछाड्ने अड्डी कसेपछि एकतर्फी मन पराइरहेकी गौरी हार मान्छे र पेवा गाई बेचेर बाटाखर्च दिई युना भेट्न अर्जुनलाई सहर पठाउँछे । संयोगले युनासँग अर्जुनको भेट सुटिङ भइरहेकै अवस्थामा हुन्छ । उसले आफू 'डाइहार्ट फ्यान' भएको बताउँदै अभिनेत्रीलाई अन्तर्वार्ता र फोटाहरूको कटिङ देखाउँछ ।
तर व्यवहार क्रममा उसले नायिकालाई आफूले फिल्म, अन्तर्वार्ता र फोटोमा देखेजस्तो पाउँदैन । 'तिनीहरू भनेका एक छिनका आँखाका रमाइला मात्र हुन् । नाटक गर्ने नौटंकीको कुनै भर हुँदैन, जस्तो परिस्थिति आयो त्यस्तै नाटक गर्छन्,' अर्जुनले सहर पस्ने बेला गौरीले भनेको सम्झन्छ र गाउँ नै फर्किन्छ । नायिकाको व्यवहार मन नपरेर फर्किए पनि सहरले भने उसलाई पुनः फिर्ता बोलाउँछ । एउटा घटनामा स्टन्ट शैलीमा एक फिल्म निर्मातालाई बचाएबापत उसले फिल्म खेल्ने अवसर पाउँछ ।
अर्जुन खोज्दै निर्माता र नायिका युना गाउँ पुग्छन्, अर्जुन भने गौरीको प्रेममा परिसकेको हुन्छ । पहिले खर्च हालेरै अर्जुनलाई सहर पठाएकी गौरी यसपटक भने राजी हुन्न । उता सहरकी अभिनेत्रीले पनि अर्जुनलाई आफ्नो बनाउन खोज्छे । 'अरू फूल र्झछ, ओइलाउँछ तर प्रीतिको फूल न र्झछ न ओइलाउँछ' भन्ने मूल भाव बोकेको फिल्मले कसको मायालाई प्रीतिको फूल बनाउँछ, यो थाहा पाउन चाहिँ सिनेमा हल नै जानुपर्ने हुन्छ ।
ओमप्रकाश लिम्बूको कथालाई पटकथामा ढालेका राजकुमार शर्माले फिल्मको प्रस्तुतिलाई असहज बनाएका छैनन् । सामान्य कथामा फिल्मको कथा एकोहोरो नै भए पनि सरल शैलीमा बगेकाले हेरुन्जेल दर्शकलाई हजम नहुने दृश्य र विषयवस्तु कम छन् । नायक राजबल्लभ र उनका बाबुका रूपमा देखिएका राजाराम पौडेलबीचका संवादहरू स्वाभाविक र जीवन्त लाग्छन् । अभिनयको हिसाबले पनि दुई प्रशंसनीय छन् ।
फिल्मको अर्को सकारात्मक पक्ष हो संगीत । ताराप्रकाश लिम्बूले संगीतमा विविधता दिने प्रयास गरेका छन् । 'बधाई छ तिमीलाई ए हाम्रो अर्जुने...' गीत फिल्मकै ग्रामीण परिस्थितिमा बुनिएकाले पनि रमाइलो लाग्छ । बरु फिल्मका द्वन्द्वमा दिनेश सुनामको पाश्र्व संगीतले अपेक्षित उपस्थिति जनाउन सकेको छैन । नृत्यमा कविराज गहतराजले कुनै उल्लेखनीय काम गरेका छैनन् ।
फिल्मको फितलो पक्ष यसको सम्पादन हो । छायांकन पनि खोटविहीन छैन । फिल्मको सम्पादन अनील गौतमले गरेका हुन् भने छायांकन रामप्रकाश प्रधानले । कतिपय फ्रेमहरू फोकस आउट नै छ् । भीरबाट फाल हानेकी युवतीलाई हेलिकप्टरमा बसेको युवकले च्याप्पै समात्नु, केबलबाट आउने टीभी च्यानलको प्रसारण एन्टेना चलाएर मिलाउनु, पहिले सहर आउन बजारसम्म हिँडेर आएको नायकलाई अर्को पटक गाडीमा गुडिसकेपछि उसका बाबु र बहिनीले घरबाटै हात हल्लाएर बिदा दिएको देखाइनु केही अपाच्य प्रसंग हुन् ।
यति हुँदाहुँदै 'प्रीतिको फूल' असुगन्धित भने छैन ।
प्रीतिको फूल
निर्देशकः रेशराज आचार्य
कलाकारः राजबल्लभ कोइराला, युना उप्रेती, गरिमा पन्त, राजाराम पौडेल
साभार: ईकान्तिपुर
0 प्रतिकृया/हरु:
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।