यो वर्ष नेपाली चलचित्र उद्योगमा नयाँ निर्माता धेरै आए। र, धेरै नफर्किने बताउँदै बाहिरिए। यसको असर फिल्म निर्माणमा देखिन थालेको छ। ‘फिल्म बनाउने क्रम धेरै घटिसक्यो,' वितरक सुनील मानन्धर भन्छन्, ‘०६७ सालमा हल पाउन गाह्रो भयो। ०६८ मा हललाई फिल्मको समस्या पर्ने निश्चित छ।'
यो वर्ष ‘फस्ट लभ', ‘कसले चोर्यो मेरो मन', ‘गोर्खा पल्टन', ‘नाइँ नभन्नु ल', ‘आफ्नो मान्छे आफ्नै हुन्छ' र ‘फ्ल्यास ब्याक'ले मात्र लगानी उठाउन सकेको बताउँछन् मानन्धर। उनका अनुसार बितेका बर्ष कहिल्यै यति धेरै फिल्म डुबेका थिएनन्। हप्तैपिच्छे नयाँ फिल्म रिलिज गर्ने होडबाजीले पनि धेरै फिल्म घाटामा गएको उनको अनुमान छ।
स्तरीय फिल्म बन्न नसकेको वर्ष पनि हो, ०६७। व्यापारमा घाटामात्र होइन, प्रशंसायोग्य फिल्म पनि देखिएनन्। उद्योगमा फर्मुला फिल्मकै होड चल्यो। यो शैलीको आलोचना गर्दै फरक फिल्मको दाबीका साथ कोही झुल्किए। उनीहरूले ‘रुल ब्रेक'को प्रयत्न त गरे। तर, दर्शकले रुचाउने शैली स्थापित गर्न सकेनन्। पुरातन शैली त्याग्नुलाई मात्र रूपान्तरण ठान्ने उनीहरूको बुझाइले खासै परिवर्तन ल्याउन सकेन। ‘दासढुंगा', ‘एकदिन एकरात', ‘कोही मेरो', ‘बाटो मुनिको फूल' र ‘स्वर'जस्ता फिल्म ‘टे्रेन्ड चेन्ज'को दाबी गर्दै आएका हुन्। तर, यो परिवर्तनलाई दर्शकले पत्याएनन्।
उद्योगमा व्यापारको ‘मिनिमम ग्यारेन्टी' धान्दै आएका कलाकारको विश्वास पनि टुट्यो यो वर्ष। पहिले राजेश हमाल, विराज भट्ट र निखिल उप्रेतीलाई हिरो बनाएपछि निर्माता सुरक्षित हुने गरे पनि यस वर्ष सबभन्दा बढी यिनै हिरोका फिल्म फ्लप भए। यी हिरोका पोस्टर र एक्सनप्रधान ‘क्लिप्स'ले दर्शक तानेन। बरु आर्यन सिग्देलको लभस्टोरी फिल्मलाई धेरैले रुचाए। उनले अभिनय गरेको ‘फस्ट लभ', ‘फ्ल्यास ब्याक' र ‘कसले चोर्यो मेरो मन'ले राम्रै व्यापार गर्यो। ‘कोही मेरो'मा भने दर्शकको साथ पाएनन् आर्यनले। समग्रमा उनलाई फापेकै मान्नुपर्छ, ०६७।
फिल्ममा खारिएकाहरू असफल भइरहेका बेला पहिलो फिल्मबाटै बाजी मारे नारायण रायमाझीले। लोकगायनबाट एक्कासि फिल्म निर्देशनमा लागेका रायमाझीलाई ‘गोर्खा पल्टन'ले वर्षको हिट निर्देशक बनाइदियो। फिल्ममा निर्देशकीय कमजोरी निकै भए पनि यसले उठाएको मौलिक विषयले दर्शक तान्यो। बलिउडको नक्कल गरेको फिल्मभन्दा आफ्नै कथा दर्शकले रुचाउने सन्देश दिनसमेत सफल भयो यो फिल्म। इन्डियन आइडल प्रशान्त तामाङले खेलेका कारण फिल्म चलेको टिप्पणी गरिए पनि यसले देखाएको लाहुरे संस्कृतिले दर्शकलाई छोयो।
निर्देशकले समयलाई बु‰न नसके सफलताको निरन्तरता नरहने सन्देशसमेत दियो, ०६७ ले। सफल फिल्मको ठूलो खात लगाइसकेका निर्देशक शिव रेग्मीको महŒवाकांक्षी फिल्म नराम्ररी पछारियो। गैरआवासीय नेपाली रमेश त्वयनाको लगानीमा ‘हाँसिदेऊ एकफेर' बनाएका रेग्मीको यात्रामा ठेस पुर्यायो यसले। केही वर्षअघि आफ्नै लगानीमा बनाएको ‘मानिस'बाहेक अरू फिल्मले उनलाई यत्तिको असफल बनाएको थिएन। लामो समयपछि फिल्ममा झुल्किएका भए पनि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जोडीलाई ‘हाँसिदेऊ एकफेर'मा हेर्न दर्शक गएनन्।
‘दर्पणछायाँ' बनाएर उद्योगलाई ‘टर्न' गराउने जस पाएका हुन्, निर्देशक तुलसी घिमिरेले। तर, त्यसपछिका फिल्म ‘लहना' र ‘दुई किनारा'ले व्यावसायिक सफलता नदिलाएपछि घिमिरे आफैंले ‘टर्निङ' लिए ‘देश'मा। आफूले बनाएको फिल्म दर्शकले नरुचाएपछि ‘दर्शकले रुचाउने खालको' फिल्म बनाउन उनी कस्सिए। उद्योगमा चलेका हिरो राजेश हमाल र निखिल उप्रेतीका साथ निरुता सिंहलाई उनले पर्दामा उतारे। पत्रकारिता र राजनीतिलाई केन्द्रमा राखेर फिल्म बनाउने प्रयास गरे पनि दुवै क्षेत्रमा घिमिरेको ज्ञान कमजोर देखियो। समाचार लेख्नेभन्दा भाषण गर्दै हिँड्ने उनको पत्रकार हिरोले फिल्म धान्न सकेन।
म्युजिक भिडियोको प्रतिक्रियाले फुर्किएर फिल्म निर्देशनमा लागेका आलोक नेम्वाङ र प्रशन्न पौडेललाई यो काममा सफलता मिलेन। पाँच मिनेटको म्युजिक भिडियो र दुई घन्टाको फिल्ममा भिन्न-भिन्न योग्यताको जरुरत पर्ने पाठ सिके दुवैले।
केही वर्ष अघिसम्म नेपाली फिल्मको स्तरमा बाधक बताइन्थ्यो, १६ मिमिको क्यामरा। फिल्ममा डिजिटल क्रान्ति भएको छ। अहिले यो क्यामराको ठाउँ ‘टु के'ले लिएको छ। देशभरका हलमा एकसाथ फिल्म चलाउन सकिने भएको छ। फिल्मको स्तर भने झनै गिर्दो छ। उच्चकोटीको प्रविधिलाई निम्नकोटीको स्त्रि्कप्ट, अभिनय, प्रस्तुतिकरण आदिले गिज्याएको छ। फिल्मकर्मी सचेत नबने राम्रो प्रविधिमा नराम्रो फिल्मको संख्या अझै नथुप्रिएला भन्न सकिन्न।
फिल्मी बहस निकै बढ्यो यो वर्ष। माघ र फागुनमा मात्र चारवटा फिल्म वर्कसप भए। नेपाल चलचित्र निर्देशक समाजको आयोजनामा चितवनको मेघौलीमा ७० फिल्मकर्मीलाई भारतीय निर्देशक गोविन्द निहलानीले प्रशिक्षण दिए। भारतकै केएनटी शास्त्री र कोरियाका किम दोङले वर्कशपमा आफ्नो अनुभव साटे। लगत्तै भारतीय निर्देशक गौतम घोष र श्याम बेनेगल काठमाडौं आए। उनीहरूसँगको साक्षात्कार फिल्म रूपान्तरणको बाटो खोजिरहेकाहरूका लागि उपलब्धिमूलक रह्यो।
फिल्म कथा भन्ने माध्यम हो। नेपाली फिल्मले राम्ररी कथा भन्न सकेन। फिल्मले व्यापार गर्नुपर्छ। नेपाली फिल्मले राम्रो व्यापार पनि गर्न सकेन। समग्रमा ‘टेलिङ' र ‘सेलिङ' दुवै हिसाबले कमजोर वर्ष बन्यो ०६७।
हिरोइनमा नयाँको क्रेज
उनलाई शीर्ष भूमिका दिइएको ‘खुशी' निर्माण र व्यापार दुवै हिसाबले नराम्रो रह्यो। ‘कसम हजुरको', ‘सहारा', ‘बाटोमुनिको फूल' लगायतका फिल्म रेखाले धान्न सकिनन्। ‘तिमी मात्र तिमी', ‘नर्बिसेँ तिमीलाई नपाएँ तिमीलाई', ‘बिदाई' लगायतका फिल्ममा हिरोको भन्दा ठूलो रोल पाएकी थिइन् झरनाले। यी फिल्मको असफलताले झरनाको क्रेज पनि सकिँदै गएको संकेत गर्छ। ‘दीपशिखा'मा एकछत्र छाएकी अरुणिमा लम्साल पनि दर्शकको मनमा छाउन सकिनन्। ‘आफ्नो मान्छे आफ्नै हुन्छ' र ‘मिस्टर मंगले'मा केही सुहाएको देखिए पनि ‘निगरानी'सम्म आइपुग्दा उनको अभिनय फितलो बनेको छ।
‘फस्ट लभ'बाट उदाएकी ऋचा शर्माले अभिनयमा राम्रो सम्भावना देखाएकी छन्। यसपछि ‘मेरो लभस्टोरी', ‘हाइवे' र टेलिफिल्म ‘हाम्रो टिम'मा काम गरेकी छिन् उनले। हिरोइनलाई महत्व दिएको फिल्म र हिरो सरहको पारिश्रमिक माग गर्ने विशेषताले भने उनलाई ‘असहज' मान्नेको जमात ठूलै छ। ऋचाजस्तै निशा अधिकारी पनि सम्भावना बोकेकी हिरोइनमा गनिन्छिन्। ‘स्वर'बाट देखा परेका केकी अधिकारी र रिमा विश्वकर्माको अभिनयले पनि गति लिँदैछ। नागरिक
0 प्रतिकृया/हरु:
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।