रणवीरसँग अभिनय गर्दै नेपाली कलाकार

काठमाडौं, चैत २० (नागरिक)- गुरुकुलसँग आवद्ध रंगकर्मी भोलाराज सापकोटा बलिउड फिल्म 'बर्फी'मा छानिएका छन्। अनुराग बसु निर्देशक रहेको यस फिल्ममा भोलाले रणवीर कपुरको साथी सुलेमान भएर अभिनय गर्नेछन्। 'फिल्ममा रणवीरको एकजना मात्र साथी हुन्छ, त्यो म नै हुन्छु,' भर्खरै मुम्बईमा तीन दिन सुटिङ गरेर काठमाडौं आएका भोलाले भने, 'रणवीर अर्को फिल्ममा व्यस्त भएकोले अहिले सुटिङ ब्रेक छ।'
मुम्बईको फिल्मसिटी स्टुडियोमा भएको सुटिङमा तीनै दिन रणवीर र भोलाले अभिनय गरे। दोस्रो दिन भने प्रियंका चोपडा पनि थिइन्। फिल्ममा रणवीर र प्रियंकाबाहेक दक्षिण भारतीय अभिनेत्री लिना डि त्रु्कजको मुख्य भूमिका छ।

फिल्मको नाम 'खामोसी' र 'साइलेन्स' हुँदै गत नोभेम्बरमा 'बर्फी' राखिएको हो। रणवीरले खेल्ने पात्रको नाम मर्फी हुन्छ। तर, उसले आफ्नो नाम प्रष्टसँग उच्चारण गर्न नसक्दा अरूले बर्फी भनेर बुझ्छन्। बर्फी पात्र कान नसुन्ने र बोल्न नसक्ने हुन्छ।

रणवीरलाई फिल्ममा २० देखि ५० वर्षसम्मको गेटअपमा हेर्न पाइनेछ। ती सबैजसो दृश्यमा भोलाको उपस्थिति रहनेछ। फिल्मको बाँकी सुटिङ कोलकाता र सिक्किममा हुनेछ, जसमा सहभागी हुन भोला एक महिनापछि जानेछन्। तीन दिनको सुटिङमा रणवीर र भोलाबीच सामान्य परिचय भइसकेको छ। 'सुटिङ गर्दा र खाना खाने बेला हामी सँगै हुन्थ्यौँ, म नेपालबाट आएको भनेर बताउँदा रणवीर जिज्ञासु बनेका थिए,' भोलाले सम्भि्कए, 'त्यसपछि उनले 'मलाई नेपाली भाषा आउँदैन तर नेपाली गाली चाहिँ आउँछ' भनेका थिए।'

अनुरागको अघिल्लो फिल्म 'काइट्स'मा सहायक निर्देशकको रूपमा काम गरेका प्रशान्त रसाइलीका कारण भोलाले 'बर्फी'मा काम पाएका हुन्। प्रशान्तले नै भोलाको तस्बिर अनुरागलाई उपलब्ध गराएका थिए।

'फोटो मन पराएपछि म अडिसन दिन फागुन २९ मा कोलकाता पुगेँ,' भोलाले सुनाए, 'अनुरागको कोलकातामा पनि घर रहेछ, त्यतै अडिसन दिएँ।' अडिसनमा आफूले खेलेको नाटकका केही संवाद बोलेपछि 'बर्फी'कै संवाद बोलेर देखाए भोलाले।

सुलेमान पात्रको भूमिका पाउन आसामका एक कलाकारले पनि अडिसन दिएको भोलालाई थाहा थियो। तर, अनुरागले भोलालाई बोलाए। भोला सुटिङका लागि चैत ५ मा मुम्बई पुगेका थिए। तीन दिनको सुटिङपछि निर्देशक अनुरागबाट भोलाले स्याबासी पाइसकेका छन्। 'रणवीरसँग पहिलो दिन काम गर्दा म हडबडाएको थिएँ तर पछि बानी पर्‍यो,' भोलाले भने, 'रणवीर र प्रियंकासँगको दृश्यसम्म त ममा धेरै आत्मविश्वास पलाइसकेको थियो।'

फिल्मबाट पारिश्रमिक कति आउँछ भनेर चाहिँ भोलाले अनुमान गरेका छैनन्।सहायक निर्देशकहरूका अनुसार राम्रै पैसा पाउनेमा उनी ढुक्क छन्। नागरिक

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।