- करिश्मा मानन्धरसंग एक दिन
काठमाडौ, चैत्र १० - म अल्छी छु । सुटिङ नभएको दिन आठ बजेसम्म सुतिरहेकी हुन्छु । सुटिङ भयो भने नौ बजेसम्म स्पटमै पुग्नुपर्ने हुन्छ, त्यसैले पाँच/छ बजेतिर उठिसकेकी हुन्छु । अचेल सुटिङ छैन । एकदमै फ्री छु । दुई-तीन वटा फिल्म साइन गरेकी छु, वैशाखमा सुटिङ सुरु होला ।
मलाई उठ्नेबित्तिकै एक कप चिया चाहिन्छ । दिनमा जम्माजम्मी त्यही एक कप चिया हो । यो बानी बसेको दसौं वर्ष भइसक्यो । ओछ्यान छाड्नेबित्तिकै चिया भएन भने फ्रेस फिल नै हुदैन भन्या । बाह्र/एक बजेसम्म पनि ओछ्यानमै सुतिरहेको हो कि जस्तो लाग्छ । शरीरले निकोटिन मागेको होला नि ।
फिटनेस क्लब नगएको दिन मर्निङ वाक गर्छु । सातामा तीन दिनजति फिटनेस क्लब धाउँछु । त्यसका लागि सहर आउनुपर्ने भएकाले नियमित हुन नसकेको हो । घर (गोदावरी, टौखेल) बाट होटल ह्यातको क्लब जाँदा-आउँदा लगभग दुई घन्टा ड्राइभ गर्नुपर्ने हुन्छ । त्यही भएर बाँकी तीन-चार दिनचाहिँ गोदावरी आसपासकै बाटोतिर मर्निङ वाकमा निस्कन्छु । एक घन्टाजति योग गर्छु । मैले आफ्नै कोर्स बनाएकी छु, रामदेवकै कपी गरेर ।
बिहानभर झोल पदार्थसँगै इन्जोय गरिरहेकी हुन्छु । हट लेमन विद हनी आधा लिटरजति पिउँछु । दूध धेरै पिउँछु । तातो दूधमा दुई चम्चा जौको पीठो हालेर खान्छु । ब्रेकफास्ट यति नै हो । खाना दिउँसो एक बजेतिर खान्छु । मोटोपन घटाउन प्रायः ब्राउन राइस खान्छु । ब्राउन राइससँग केही न केही झोलसहितको तरकारी चाहिन्छ । प्रायः मिक्स करी । मासुप्रेमी हुँ, निकै मन
पर्छ । खाना खाएपछि एक-डेढ घन्टा सुत्छु । फ्री भएर पनि दिउँसो सुत्ने बानी लागेको हो । पहिले निकै बिजी हुन्थें । सुटिङको बेला सेड्युल नै अर्कै हुन्छ ।
घरमा कविता (छोरी), विनोद (पति) र चार-पाँच जना स्टाफ हुन्छौं । खाना स्टाफहरूले पकाउँछन् । भने अनुसारको स्वाद उनीहरूले नबुझ्दाचाहिँ कहिलेकाहीँ आफैं किचेनमा पस्छु । पकाउन आउँछ नि मलाई, त्यत्रो पाँच-सात वर्ष अमेरिकामा एक्लै बसेकी... ।
लाइफ इन्जोय गरेर बिताइरहेकी छु । म्युजिक सुन्छु । लेडिज ओरिएन्टेड किताबहरू पढ्छु, ब्युटी टिप्स, फेसनसम्बन्धी क्या । पछिल्ला दिनहरूमा चाहिँ मेडिटेसन र योगीहरूको बायोग्राफीतिर पनि मन गएको छ ।
साथीभाइहरूसँगको ग्यादरिङमै रमाइरहेकी हुन्छु । कहिले साथीभाइसँग लङ ड्राइभ जान्छु । मलेखु, नगरकोट, धुलिखेल जान मन पर्छ । ट्राफिक जाम देख्दाचाहिँ साह्रै दिक्क लाग्छ । प्रायः साथीभाइ फिल्म क्षेत्रबाहिरका छन् । हामी पालैपालो आ-आफ्ना घरमा निम्त्याएर 'लेडिज डे' मनाउँछौं । सबैले आ-आफ्नै हातबाट पकाएर ल्याउँछन्, मलाईचाहिँ कमला (भान्से) ले पकाइदिन्छिन् । दिउँसोबाटै पार्टी सुरु हुन्छ । रेड वाइन र बियर खान्छु । मोटाउने हुनाले बियर सकेसम्म अभोइड गर्न खोज्छु तर सक्दिनँ, पिइदिन्छु । मेरा धेरै साथी नपिउने पनि छन् ।
सहरतिरको रेस्टुरेन्टतिर पनि गइरहेकी हुन्छु । दिउँसो अन्नपूर्ण कफी सप, साँझ हो भने नाङ्लो, सानेपातिरको रेस्टुरेन्ट । त्यतातिर अहिले निकै राम्रा रेस्टुरेन्ट खुलेका रहेछन् । डिनर साँझ छ बजे खाइसक्छु । डिनरमा प्रायः रोटी नै हुन्छ, भुजा अल्टरनेटिभ । खाना खाएको दुई घन्टापछि मात्रै सुत्छु । साँझ आठ बजे त म निदाइसकेकी हुन्छु ।
टिभी सिरियल खासै पछ्याउँदिनँ । न्युज च्यानल, डिस्कोभरी, एनिमल प्लानेट हेर्छु । मुभी हेर्न मन लागे हलतिर जान्छु । छोरी कविता सँगै हुन्छिन् । उनी इङ्लिस मुभी बढी रुचाउँछिन्, म पनि उनका लागि हेरिदिन्छु ।
मलाई रिस खासै उठ्दैन । पहिले निकै रिसाउँथें, अचेल हरेक कुरामा पोजिटिभ हुन्छु । पोजिटिभ विचार राखे अनुहारमा सधैं खुसी नाचिरहन्छ । म साँच्चिकै खुसी छु । साभार: इकान्तिपुर
0 प्रतिकृया/हरु:
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।