काठमाडौ, चैत्र १४ - त्रिकोणात्मक प्रेम सम्बन्धको उतारचढावको कहानी हो, फिल्म 'बिदाइ' । मायाप्रीतिकै माखेसाङ्लोमा बुनिएको कथामा बगेको यो फिल्मले खास पहिचान भने छोड्न सकेको छैन । विभिन्न सवारी साधनका सेकेन्ड ह्यान्ड पाटपुर्जा खोजखाज गरी बनाइएको कामचलाउ गाडी जस्तै छ 'बिदाइ' ।
दिनेश न्यौपाने लिखित कथा आफुले मन पराएको वा परिवारले खोजिदिएको मध्ये कुन केटासँग विवाह गर्ने भन्ने प्रमुख पात्रको निर्णय नै फिल्मको मुख्य सार हो । आफूले मन पराएको सौगात (रमित ढुंगाना) का लागि ऊ (झरना थापा) सरगम हो भने अभिभावकले खोजिदिएको केटा विवेक (निखिल उप्रेती) का लागि मन्जरी ।
बाबुआमाले इच्छा विपरीत विवाह गर्दिन लागेको थाहा पाएकी मन्जरी काठमाडौंदेखि भागेर हजुरआमाको घर देउराली गाउँ पुग्ने क्रममा बाटैमा सौगातसँग भेट हुन्छ । नजानिंदा नजानिंदै दुईमा माया बस्छ । पछि सम्बन्ध गाँस्ने बाचाका साथ दुई छुट्टन्िछन् । तर घर फिरे लगत्तै मन्जरीले सौगातले आतंकवादीको धरापमा परी वीरगति पाएको खबर पाउँछे ।
नेपाली सेनाको क्याप्टेन सौगात मरेको भने हुँदैन । तर बाँचेकोमा बेखबर मन्जरी अन्ततः विवेकसँग बिहे गर्न बाध्य हुन्छे । तर परिस्थितिले पछि तीनै जनालाई एक ठाउँमा ल्याइपुर्याउँछ । त्यसपछि युवतीले जीवन को सँग बिताउँछे भन्नेमा फिल्मले विभिन्न उपकथाको टर्निङ लिएको छ । तर पहिल्यै बाटोको संरचनाको आकलन गरिसक्ने दर्शकका लागि कुनै पनि टर्निङ अनपेक्षित जस्तो लाग्दैन । किनकि 'बिदाइ' गुडेको बाटो हुँदै पहिले पनि केही भारतीय सवारी गुडिसकेका थिए ।
रामजी लामिछाने निर्देशित उक्त फिल्ममा तीन मुख्य कलाकारको अभिनय खासै चरित्रमा डुब्न सकेको छैन । बरु कमेडी रोलमा सात फरक पात्रमा देखिएका विष्णु सापकोटाले धेरै हदसम्म सहज अभिनय गरी मनोरञ्जन दिलाउन सकेका छन् । प्रमोद ढुंगानाले लेखेका गीतहरूमध्ये शीर्षक-गीतबाहेक अन्य खासै फिल्म अनुकूल नदेखिए पनि मध्यम कोटिका छन् । दिनेश सुनामले दिएको पाश्र्व संगीत राम्रो हुँदाहुँदै पनि केही ठाउँमा चिप्लिन पुगेको छ ।
द्वन्द्व निर्देशनमा रोशन श्रेष्ठको नाम देखिए पनि लट्ठी र तरबार नचाउँदा होस् वा कुदिरहेको सवारी साधन नाघ्दै भिलेनहरूलाई लात्ती र मुड्की बजार्दा, निखिल नै हाबी देखिन्छन् । निखिलले पुरानै स्टन्टलाई नै निरन्तरता दिएका छन् । नृत्य फिल्ममा आफ्नो उपस्थिति जनाउनका लागि मात्रै छ । फिल्मको छायांकन पक्ष केही सबल छ । दीपक बज्राचार्यका क्यामेरा प|mेम प्रायः स्वाभाविक लाग्छन्, फिल्म हेर्दा । तर भीरबाट खस्न लागेकी बनाइएकी मन्जरी लो एङ्गल दृश्यमा भने भिरालो पाखोमा देखिनु हास्यास्पद लाग्छ ।
त्यसो त फिल्ममा गाडीबाट झरेर गाउँ जान हिँडेका सौगात र मन्जरीलाई कालोपत्रे सडक हिँडेको देखाइनु सहज लाग्दैन । सामान्य हाते झोला जस्तो बोकेका उनीहरूलाई ड्रेस चेन्ज नगराइएको भए बढी वास्तविक लाग्न सक्थ्यो । सूचना प्रविधिले विश्वभरका मान्छेबीचमा क्षणभरको सम्बन्ध कायम गरेको अहिलेको बेलामा पनि फिल्ममा भने पात्रहरू चिठीपत्रमै भर परेको देखिनु अलि सान्दर्भिक लाग्दैन ।
त्यसो त फिल्मले पुरानो समयको पनि छनक दिएको छैन । त्यसबाहेक, छपक्कै गहना लगाएर र जुत्तै लगाएर कोही सुत्न तम्सँदैन भने बाटोभरि भाडाका सवारी साधन हुँदा हतारमा भएको कोही पनि दगुरेर हस्पिटल पुग्दैन । तर फिल्मका पात्रहरूले त्यतिसम्मको हर्कत गर्छन् । सम्पन्न नै लाग्ने विवेक जब मन्जरी घाइते भएर रगतको आवश्यकता पर्छ, तब खुकुरी नचाउँदै र लट्ठी घुमाउँदै चटक देखाएर एक-एक रुपैयाँ जम्मा पारी रगतको बन्दोबस्त गर्छ ।
बिदाइ
निर्देशक ः रामजी लामिछाने
कलाकार ः निखिल उप्रेती, झरना थापा, रमित ढुंगाना
साभार: इकान्तिपुर
0 प्रतिकृया/हरु:
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।