सुरक्षित रूपमा खेलौं होली

काठमाडौ, चैत्र ५ - आज राजधानीसहितका पहाडी क्षेत्र र आइतबार मधेसमा होली मनाइँदै छ । होलीमा रंग अबिर नउडे के मजा ? तर अचेल बजारमा रंगमा समेत मिसावट हुन थालेको छ । तर रसायन मिसाइएका रंग अनुहार, फोक्सो, छाला, आँखा, नाक, कान, घाँटी, कपालका लागि हानिकारक हुन्छन् । यस्तै, लोला प्रहारले आँखामा क्षति हुने वा दृष्टि गुम्ने, कानको पर्दा च्यातिने वा संक्रमण हुने, छालाको माथिल्लो तहमा क्षति पुग्नेजस्ता समस्या देखिन सक्छन् ।

मदिरा, भाङजस्ता नसालु पदार्थको सेवनसँगै रंग र अबिर लगाउने बेला एउटा जोस हुन्छ । त्यति बेला रंग आँखा, नाक वा मुख हुँदै शरीरभित्र प्रवेश गर्दै छ भन्ने हेक्का हुँदैन । रसायनयुक्त रंग शरीरमा प्रवेश गरे त्यो सास नली, मुटु वा मृगौलामा गएर टाँसिन्छ । अनि संवेदनशील अंगमा हानि पुग्न सक्छ । प्राचीन कालमा होलीमा फूल र रूखबाट प्राप्त प्राकृतिक रंगको उपयोग हुन्थ्यो । त्यस्ता रंगले छालालाई असर पुर्‍याउँदैनथे ।

'रसायनयुक्त रंगले कन्जेक्टिबाइटिस, छालाको एलर्जी, आँखामा क्षति हुन सक्छ, दम बढ्न सक्छ,' वीर अस्पतालका फिजिसियन र कलेजो रोग विशेषज्ञ प्राडा. अनीलकुमार मिश्र भन्छन् ।

रासायनिक रंगले छालामा घातक असर पुर्‍याउँछन् । रासायनिक रंग लगाउँदा छालामा घर्षण हुन्छ । अनि जलनलगायत समस्या देखिन्छ । यसबाहेक घाममा रंग छालामा टाँसिन्छ, जसले राम्रो गर्दैन ।

'तर हाल रंगमा अत्यधिक मात्रामा मिसावट हुने गरेको छ,' रसायनशास्त्री डा. विनय झा भन्छन्, 'धेरै प्रकारका यौगिक र रसायनको मिश्रणले कृत्रिम रंगको निर्माण गरिन्छ ।' त्यसैले रंग किन्दा सावधानी अपनाउनुपर्छ । झा भन्छन्, 'तपाईंले किनेको रंग पाउडरजस्तो हुनुपर्छ, दाना वा गिर्खा भएको हुनु हुन्न ।'

अबिर रंगीन बनाउन वा सीधै रंगमा हानिकारक रसायनको उपयोग गरिँदै आएको छ । डा. झाका अनुसार कालो रंगमा ल्याड अक्साइड, हरियो रंगमा कपर सल्फेट, हलुका बैजनी रंगमा क्रोमियम आयोडाइड, सिल्भर रंगमा अल्मुनियम ब्रोमाइड र रातो रंगमा मर्करी सल्फेटको उपयोग हुने गरेको

छ । अबिरमा खासमा टल्कम पाउडर (सोप स्टोन) वा आरारोट पाउडरजस्तो रासायनिक रूपले अक्रियाशील वा प्राकृतिक पदार्थको उपयोग हुनुपर्छ । 'यो पदार्थ छालाका लागि सामान्यतः हानिकारक छैन,' डा. झा भन्छन् ।

धुलिखेल अस्पतालका छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्णका अनुसार रंगमा त्यही पदार्थको उपयोग गर्न सकिन्छ जसलाई शरीरमा लगाउँदा जलन वा हानि नहोस् । छाला शरीरको रक्षाकवच हो । यसले विजातीय पदार्थलाई शरीरको रगतमा जान रोक्छ । शरीरमा घाउ भएकाहरूले रंगले होली खेल्नु नहुने डा. कर्ण बताउँछन् । भन्छन्, 'रंगमा मिसिएको रासायनिक तत्त्व घाउको माध्यमले शरीरको रगतमा मिसिन्छ ।'

तर होलीमा रंग खेल्दाताका यस्ता महत्त्वपूर्ण कुरामा सबैको ध्यान जाने गरेको छैन । यसै कारण होली खेलेपछि धेरैजसोको छालामा गम्भीर समस्या उत्पन्न हुन्छ । जति बढी मोजमस्ती, त्यति नै बढी छालामा हानि हुन्छ । थुप्रै रंगमा जिंक क्लोराइड नामक पदार्थ मिसाइन्छ । यो स्वास्थ्यका लागि धेरै हानिकारक हुन्छ, यस्ता रंग दलेपछि छाला चिलाउँछ ।

'होलीमा रंग खेल्नुस्, तर रंगको माहोलमा निरन्तर नबस्नुस्,' डा.कर्ण भन्छन्, 'बेलाबेला रंग र अबिर सफा गर्दै रहनुस्, गाढा रंगमा रंगिने लोभमा तेजाबी वा रासायनिक रंगको प्रयोग गर्नु हुन्न ।' रंग लगाउँदाताका आँखा र मुख बन्द राख्न चिकित्सकहरू सुझाउँछन् ।

रंगले गर्दा छालामा जलन, सुख्खापन र छालाको रंगमा परिवर्तन हुन सक्ने उल्लेख गर्दै डा. कर्ण भन्छन्, 'रंगको बढी प्रयोगले त्यसमा रहेको रसायनले छालाको भित्री सतहलाई नोक्सान पुर्‍याउँछ ।'

सुख्खा र गिलो रङले 'क्रोनिक ब्रोङ्काइटिस' हुने र दमको रोगीलाई अप्ठ्यारोमा पार्न सक्ने छाती रोग विशेषज्ञ प्राडा. रमेश चोखानी बताउँछन् । रंगमा भएको धुलो सासबाट शरीरमा पस्दा दम देखिन सक्ने उल्लेख गर्दै उनी भन्छन्, 'सुख्खा रङ सास रोगीहरूका लागि घातक मानिन्छ ।'

होली खेल्दा आँखाको पूर्ण सुरक्षा गर्नुपर्ने र केमिकलयुक्त रंगबाट बच्नुपर्ने सुझाव नेत्ररोग विशेषज्ञ प्राडा. डीएन साह दिन्छन् । रसायनयुक्त रंग आँखामा पर्दा कर्निया क्षतिग्रस्त हुन सक्ने औंल्याउँदै उनी भन्छन्, 'आँखामा रंग पसेपछि आँखा माड्दा त्यहाँ घाउ हुने र अल्सर देखिने सम्भावनासमेत बढ्छ ।' रंगका कण आँखामा टाँसिन सक्छन् । केमिकलयुक्त रंग आँखामा पर्दा आँखामा अन्य विकारसमेत उत्पन्न हुन सक्छन् । आँखामा रंग परे सफा पानीले पखालेको पखाल्यै गर्नुपर्छ र तत्काल नेत्र विशेषज्ञकहाँ जानुपर्छ ।

'कुनै पनि रंग आँखाभित्र जाँदा नकारात्मक असर हुन्छ,' तिलगंगा आँखा अस्पतालका निर्देशक प्राडा. सन्दुक रुइत भन्छन् । रंगको 'सलिड पिगमेन्ट' ले आँखामा नकारात्मक असर गर्ने हो । यस्तै, लोला आँखामा लागे दृष्टि क्षतिग्रस्त हुन सक्छ । 'कहिलेकाहीँ लोला लागेर आँखाको भित्री भाग नष्ट भएका केसहरू पनि आउँछन्,' डा.रुइत भन्छन् । लोला लागेर कानको जालीसमेत फुट्न सक्छ । नाक, कान, घाँटी रोग विशेषज्ञ प्राडा. राकेशप्रसाद श्रीवास्तव भन्छन्, 'लोलाले बढी जोडले लाग्दा कानको नशा पनि नष्ट हुने समस्या पाउने गरिएको छ ।' पानी भएको रंग तीव्र बेगले कानमा पर्दा सम्बन्धित व्यक्ति घाइते हुने सम्भावना हुन्छ । एलर्जीको जोखिम त छँदै छ ।

होली सकिएपछि रंग, अबिर र लोलाले गर्दा भएको समस्या देखाउन अस्पतालमा रोगीहरू पुग्ने गरेको डा. रुइत बताउँछन् । आँखालाई सकेसम्म बचाएर होली खेल्नु राम्रो हुने धारणा नेत्र चिकित्सकहरूको छ । होलीमा टाइट फिटिङ भएको चस्मा लगाउँदा आँखा जोगिन सक्छन् । 'रंगका कारण आँखा रातो हुने, दुख्ने र कम देख्ने समस्या धेरै बेरसम्म रहे तुरुन्त नेत्र चिकित्सको सल्लाह लिनु आवश्यक छ,' डा. रुइतको सुझाव छ ।

बजारमा मुख्यतः तीन श्रेणीका रंग पाइन्छन् : पेस्ट, ड्राई पाउडर र पानीवाला रंग । यिनलाई तेलमा मिसाएर छालामा लगाउँदा समस्या अझ बढ्छ । धेरैजसो इनआर्गेनिक ड्राई कलर वा अबिरमा दुई तत्त्व हुन्छन् । एउटा कलरेन्ट जो विषाक्त हुन सक्छ र अर्को एसबेस्ट वा सिलिका । दुवैबाट स्वास्थ्यसम्बन्धी जोखिम हुन्छ । सिलिकाले छालामा असर पार्छ । एसबेस्टलाई मानिस क्यान्सर उत्पन्न गर्ने वस्तुका रूपमा जानिन्छ ।

होली खेल्नुअघि

डा. कर्णका अनुसार होली खेल्नुअघि अनुहार र हातमा मोइस्चराइजर र फाउन्डेसन लगाउनुपर्छ । नङमा गाढा पालिस लगाउनुपर्छ । कपालमा तेल लगाउनुपर्छ । कपालको चमक कायम राख्न एक चम्चा सिरकामा तीन चम्चा तेल मिसाएर दल्नुपर्छ । छाला बारम्बार साबुनले धुनु हुँदैन । धोए छाला पोल्छ । छाला र अनुहारबाट रंग हटाउन रुवाको सहयोगले नरिवल तेल लगाउनुपर्छ । यस्तो बेला चिसो पानी मात्रै प्रयोग गर्नुपर्छ । नुहाएपछि मोइस्चराइजर लगाउनुपर्छ । साभार: इकान्तिपुर

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।