'हेलो चुरोट छ?'

काठमाडौं, चैत ३ (नागरिक)- 'हेलो, चुरोट छ?' अभिनेत्री ऋचा शर्मा ठमेलस्थित आइसबारमा बुधबार अभिनेता कर्मसँग भन्दैथिइन्। दीपक रौनियारद्वारा निर्देशित 'हाइवे'को सुटिङमा कविता नामक युवतीको भूमिका निर्वाह गरेकी ऋचाको फिल्मी संवाद थियो त्यो। वास्तविक जीवनमा धुमपानदेखि टाढै रहने ऋचा फिल्ममा खेलिएको भूमिकाले गर्दा चुरोट तान्नुपरेकोमा अलि दुःखी थिइन्।
डान्सबारको एउटा कुनामा कविता र अविरल (कर्म)बीचको भेटघाट खिचिँदै थियो फिल्ममा। अमेरिकामा स्थापित भइसकेका अविरल बिहे गर्न नेपाल आएको हुन्छ। ब्याचलर पार्टी मनाउने क्रममा यी दुई पात्रको भेट भएको प्रसंग फिल्ममा छ।

पाँच मुख्य चरित्रमध्येको ड्राइभर (राजन खतिवडा)की गर्लफ्रेन्ड कविता हिरोइन बन्ने सपना लिएर काठमाडौं आएकी साधारण केटी हो। परिस्थितिले ऊ बारडान्सर बन्न बाध्य हुन्छे। सात वर्षको बच्चाकी आमा समेत रहेकी कविता र ड्राइभरको सम्बन्धलाई फिल्ममा देखाइएको छ।

फिल्म खेल्नअघि ऋचाले आफ्नो भूमिकासँग सम्बन्धित विभिन्न जानकारी हासिल गरेकी रहिछन्। 'प्रायः युवती बाध्यताले बार डान्सर हुन्छन्। उनीहरूको वास्तविक जीवन निकै पीडादायक हुन्छ। अझ समाजले उनीहरूलाई कहिल्यै साथै दिँदैनन्,' उनले बुझेकी कुरा हो यो। त्यस्ता युवतीहरूको प्रतिनिधित्व गर्न पाएकोमा उनी आफूलाई भाग्यमानी ठान्छिन्। 'मेरो भूमिका चुनौतीपूर्ण छ। त्यसैले धेरै सोचेर काम गरेकी छु,' उनले थपिन्।

माघको दोस्रो साता सुरू भएको 'हाइवे'को सुटिङ आगामी चैत ४ मा सकिँदैछ। काठमाडौं, धरान, फिक्कल, हेटौंडा, झापा र दमकका विभिन्न क्षेत्रमा फिल्म खिचिएको छ। साभार: नागरिक न्युज

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।