काठमाडौ, फाल्गुन ३० - मूलधारको चल्तीको बाटोलाई छोडेर नयाँ बाटोमा हिँड्ने प्रयास गरेको भनिएको फिल्म 'ब्याच नं. १६' आफ्नै अस्पष्ट स्क्रिप्टको रोडम्यापमा विचलित बनेको छ । फिल्म मूलभावमा स्पष्ट हुन सकेको छैन ।
सशस्त्र प्रहरीबलका 'ब्याच नं. १६' का दुई राम कार्की (सुमन सिंह) र गुरुराज बस्नेत (अर्पण थापा) अन्तर्राष्ट्रिय अपराधीलाई समात्न पोखरा मिसनमा खटिएका हुन्छन् । हाकिम भनिने मेक्सिकन डन -अनुप बराल) लाई समातिसकेपछि दुई साथीमा फाटो आउँछ, पैसाका लागि । हाकिमलाई मारेर उसको साथमा भएको दस करोड रुपैयाँलाई बाँड्नुपर्ने गुरुको अडान अनि पैसासँगै सकुशल हेडक्वार्टरमा बुझाउने रामको अडानले आपसमा द्वन्द्व निम्त्याउँछ । राम रकमसहित लापत्ता हुन्छ । गुरुले हेडक्वार्टरलाई साथी गद्दार भएको आरोप लगाउँछ ।
रामलाई खोजेर बुझाउने जिम्मा पाएको गुरु भने स्कुले साथी समेत रहेको रामलाई मारेरै भए पनि रकम हत्याउने कुत्सित प्रयासमा हुन्छ । खोज्ने क्रममा गुरुले रामकी पत्नी ऋतु (रुबी भट्टराई) र छोरालाई समेत मार्ने प्रयास गर्छ । तर अन्त्यमा रामले नै उसलाई मारिदिन्छ र गुन्डाबाट जफत रकम हेडक्वार्टरलाई बुझाइदिन्छ । फिल्म सकिन्छ ।
आफ्नै कथामा फिल्म निर्देशन गरेका पीताम्बर पाण्डेले दर्शकलाई के देखाउन खोजेका हुन् भन्नेमै अलमल देखिन्छ । संभवतः असाध्यै नजिकका दुई साथी पैसाका कारण कसरी दुश्मन बन्न सक्छन् भन्ने देखाउन खोजिएको हो भने पनि उनले यसलाई अनुभूत गराउन सकेका छैनन् । स्क्रिप्ट नै फिल्मको मुख्य कमजोरी हो । फिल्ममा राखिएका कतिपय प्लटको कथासँग कुनै सम्बन्ध नै देखिँदैन ।
सवा दुई घन्टा लामो फिल्ममा सुरुका आधा घन्टासम्म पनि विषयवस्तुमा प्रवेश गर्न सकेको छैन । बन्धकलाई मुक्त गरेको र घरमा खाना पकाएका लामा किस्साको कुनै अर्थ नै छैन । दुई साथीको कथामा केन्दि्रत भएको मान्ने हो भने फिल्ममा राम र ऋतुको प्रेमालाप लामो लाग्छ । त्यसैगरी विश्वकै टप तीनभित्र गनिने भनिएको कुख्यात मेक्सिकन डन हाकिमलाई सुरक्षाका हिसाबले अत्यन्त कमजोर र निरीह पात्र बनाइनु, मेक्सिकनले फरर नेपाली बोल्नु अनि कर्तव्यनिष्ठ, राष्ट्रसेवक र इमान्दारीको पगरी गुथाइएको नायब निरीक्षक राम मिसनमा सँगै गएको गुरुलाई गोली हानेर घाइते बनाएपछि पैसा लुकाएर बेपत्ता भएको देखाइनु केही उदेकलाग्दा दृश्य हुन् ।
मुख्यतः रामको त्यसपछिको उद्देश्य के हो र ऊ कोसँग डराउँदै कता भागिरहेको छ, कहिल्यै पत्तो हुँदैन ।
त्यस्तै पोखरामा रहेको घाइते पात्र लगत्तै तराईको गाउँमा भेटिनु, रकमसहितको ब्याग खाली पाइनु तर पैसा गाउँलेसँग हुनु, घरमै ग्यास विस्फोटमा परेका ऋतु र उनको छोरो कसरी बाँचे, फिल्म हेरिसक्दा पनि पत्तो नहुनुले फिल्मलाई हल्का बनाएको छ ।
विषयवस्तुमा दरिलो बन्न नसके पनि प्राविधिक पक्षले फिल्मको प्राण केही दिएको छ । सिनेम्याटोग्राफीलाई फिल्मको सबल पक्ष मान्न सकिन्छ । पुरुषोत्तम प्रधानले दृश्यलाई चलायमान बनाएका मात्रै छैनन्, खिचाइको कोण पनि केही ठाउँमा बाहेक प्रशंसनीय छ । त्यसैगरी रोशन श्रेष्ठले पनि अप्ठ्यारो साँघुरा ठाउँमा पात्रलाई भिडाएर केही नयाँपन दिएका छन् ।
साइलेन्स इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्म 'ब्याच नं. १६' को नृत्यमा कोरियोग्राफर रेनेशा राईले स्वभाविकता दिलाएकी छन् भने संगीतपक्ष मध्यम छ । पाश्र्व संगीत केही दृश्यमा अस्वभाविक रूपमा चर्को लाग्छ । अभिनय फिल्मको अर्को कमजोर पक्ष हो । आत्मीय दुई पात्र राम र गुरुको सम्बन्धमा विग्रह आउँदा पीडाबोध नझल्कँदा दर्शकको समवेदनासँग खेल्नबाट चुकेका छन् ।
अधिकांश पात्रको संवाद रुखो सुनिनु अझ ऋतुको संवादमा मायाभाव नै नझल्कनुले दर्शकलाई फिल्मबाट विच्छेद गराउँछ । त्यसो त गुरु पात्रको साइको चरित्रको पृष्ठभूमि स्पष्ट नभएकाले अर्पणको अभिनय भद्दा लाग्न जान्छ । फिल्म प्रदर्शन अगावै राम्रो आशा गरिएको भए पनि फिल्म अन्ततः हात्ती आयो हात्ती आयो, फुस्सा भएको छ ।
ब्याच नं. १६
निर्देशक ः पीताम्बर पाण्डे
कलाकार ः सुमन सिंह, अनुप बराल, अर्पण थापा, रुबी भट्टराई, सुष्मा कार्की ।
साभार: इकान्तिपुर
0 प्रतिकृया/हरु:
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।