काठमाडौ, फाल्गुन ९ - 'हाम्रो त हिन्दी फिल्म सारेरै नेपाली फिल्म लेख्ने बानी छ, हिन्दी फिल्म नहेरी कसरी लेख्न सकिन्छ ?'
फिल्म लेखक बनेका तीन पात्रलाई उक्त संवाद बकाएर 'मनमनै मन पराएँ' मा लेखकले नक्कल गर्नेको बेइज्जती त गरेका छन्, तर सोही फिल्मलाई उनले हिन्दी फिल्मबाट चोखो राख्न भने सकेका
छैनन् । सुरुवातका धेरै संवाद र दृश्य चल्तीकै एउटा हिन्दी फिल्मबाट प्रेरित देखिन्छन् ।
राजेन्द्र उप्रेती निर्देशित 'मनमनै मन पराएँ' मा प्रयास -मुकेश) सहरको नामुद गुन्डा हुन्छ । ऊ मातृभूमि एफएमकी सञ्चालिका माला -ऋचा) को फ्यान हुन्छ । मालाले बिछोडिएका दुई मुुटुको पुनर्मिलन गराइदिने कार्यक्रम 'मनमनै मन पराएँ' चलाइरहेकी हुन्छे । त्यसो त यो कार्यक्रम सहर नै चाख दिएर सुन्छ । तर प्रयास मालालाई आफ्नी बनाउन चाहन्छ । जुक्ति फुराउँछ, उसैको ग्याङको रकेट (जयकिशन) ले । त्यही जुक्ति अनुरूप नै रकेटले तीन लेखकलाई अपहरण गरेको हुन्छ, प्रेमकथा लेखाउन ।
नेपाली फिल्म लेखकको सिर्जनशीलतामाथि व्यंग्यवाण चलाउँदै 'मनमनै मन पराएँ' लेखेका शिवम् अधिकारीको क्षमता पनि उनैले भनेजस्तो 'नेपाली लेखक' भन्दा टाढा लाग्दैन । मालती (मालाको बाल नाम) र राज (राज) बच्चैदेखिका साथी हुन्, मधुमालती कथाका पात्र जस्तै । सधैं मालतीकहाँ खेल्न दौडने राजलाई आमा -मिथिला) ले घरमै खेलोस् भनी खेलौना घोडा ल्याइदिएकी हुन्छिन् । राज त्यही घोडामा मालतीलाई चढाउने भनेर दौडँदै जाँदा मालतीको परिवार बसाइँ सरिसकेको हुन्छ । मालती चढेको गाडी भेट्टाउने क्रममा राज लड्छ र खेलौनाको खुट्टा भाँचिन्छ ।
अब कथा १४ वर्षपछाडि धकेलिन्छ । पहिले गरिब भनिएको राजको परिवार धनाढ्य भएको छ । नयाँ ठाउँमा आएलगत्तै मालतीका बुवाको कसैले हत्या गरिदिन्छ । अहिले ऊ स्थानीय एफएमकी कार्यक्रम प्रस्तोता हो । दुवै बालसखा पुनः भेटिने आशामा बाँचिरहेका हुन्छन् । तर तिनको भेट अगावै प्रयास मालासँग नजिकिइसकेको हुन्छ । मालाको सामीप्यमा उसले गुन्डागर्दी त्यागिदिन्छ र समाजसेवामा लाग्ने निर्णय गर्छ । माला भने राजलाई नै प्रेम गर्ने अडान छे । छिट्टै उसले आफ्नै कार्यक्रममार्फत राजलाई भेट्टाउँछे । यस्तो परिस्थितिमा रकेटले प्रयासलाई माला मिलाइदिन षड्यन्त्र बुन्छ जुन पछि मात्रै खुल्छ क्लाइमेक्सका रूपमा । तीन प्रेमीको कथाले अन्त्यमा सुरक्षित अवतरण गर्छ ।
शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा रहेको 'मनमनै मन पराएँ' मा महेश खड्का र वसन्त सापकोटाको संगीत छ । हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् भने छायांकन कृष्ण श्रेष्ठले । तर यो फिल्म हेरुन्जेल दर्शकहरू मनमनै चुकचुकाउन बाध्य हुने थुप्रै प्रसंग छन् । जस्तो ः
१. जब मालती अभिभावकसँगै कतै जान्छे, तर राजकी आमाले छोरालाई आफूहरू गरिब भएकैले छोडेर गएको भन्छिन् । तर यसलाई दृश्यले कतै सम्बोधन गरेको छैन ।
२. मालाको प्रस्तुति कुनै पनि कोणबाट कार्यक्रम सञ्चालिकाको भन्ने लागदैन । माइक्रोफोनसँग उसको सम्बन्ध देखिँदैन । आँखा दर्शकतिर पर्दा टिभी कार्यक्रमजस्तो लाग्छ । कार्यक्रममा पनि उसको मर्जी देखिन्छ । मन लागे एकोहोरो बोलिरहने, रोइदिने । असम्बन्धित व्यक्ति पनि ह्वारह्वार्ती अनएयरमा छिर्ने/निस्कने । एउटै कार्यक्रम जसले मन लाग्छ उसले चलाइदिने परिपाटी कुन एफएममा छ ?
३. बिछोडिएका दुई मुटुको मिलन गराउने कार्यक्रम भन्दैमा प्रस्तोताले प्रेमकथा पढ्दैमा भोलिपल्टै भेट हुने ग्यारेन्टी कसरी गर्न सक्छे ?
४. एक दृश्यमा मालाका साथीहरूले प्रयासले उसलाई प्रेम गर्ने कुरो सुनाउँछन् । मालाप्रति प्यासको आसक्ति तिनीहरूलाई कसरी जानकारी भयो ? न यसबारे मालाले कहिल्यै भनेकी छ, न त तिनीहरू प्रयाससँग सम्बन्धित देखाएका छन् ।
५. कार्यक्रमका लागि प्रस्तुत चिठीमा सुरुमै राजको नाम देख्नेबित्तिकै माला भावुक भइहाल्छे । यसले राज नाम गरेको मान्छे एउटै मात्र छ जस्तो देखिएको छ ।
६. मालालाई रेडियो स्टेसनमा छोड्न टोयोटा कारमा आएको राज कार्यक्रम चल्दाचल्दै पुनः त्यही बाटो फर्किंदा पजेरोमा देखिन्छ ।
७. 'मनमनै मन पराएँ' कार्यक्रम बजिरहँदा दृश्यमा जहिले पनि समान पात्र सधैं एकै ठाउँ बसेर सुनिरहेको देखाइन्छ । यतिसम्म कि ट्याक्सी ड्राइभर यात्रुसमेत नबोकी मस्त सुनेर बस्छ, सधैं एकै ठाउँ । रेडियो पनि कानमै टाँसेको देखाइन्छ ।
८. अस्पतालबाट राजले मालालाई फोनमा भेट्न चाहेको बताउँछ । तर त्यतिमै ऊ राजलाई भेट्न टुप्लुक्क त्यहीं पुग्छे, जबकि उसलाई राजको अवस्थाबारे ज्ञानसमेत छैन । साभार: इकान्तिपुर
0 प्रतिकृया/हरु:
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।