फिल्म समीक्षा/कामचलाउ शासन

काठमाडौ, फाल्गुन २ - एक पात्र, जो रवाफी शैलीमा हेलिकप्टरबाट ठाँटले आफ्ना 'रैती' लाई भेट्न आउँछ । रैतीको 'काजी साहेबको जय, काजी साहेब जिन्दावाद' मा होस् वा उमेरले पाकाले खुट्टामा ढोग्दा ऊ इन्कार गर्नको सट्टा गमक्क पर्छ । तर त्यही पात्र आफ्नो सयौं रोपनी जमिन गरिब गाउँलेलाई निःशुल्क बाँड्न तयार हुन्छ, 'जसको जोत उसको पोत' को नारा जप्दै ।

आकाश अधिकारी निर्देशित फिल्म 'शासन' को उक्त पात्र विवेकलाई दर्शकले राजसी ठाँटमा देख्नेछन् । पात्रलाई दोहोरो चरित्रमा देखाउनु फिल्मको उद्देश्य भने होइन । दयालु र मर्मस्पर्शी बनाउन फिल्ममा थुप्रै 'सिक्वेन्स' खर्च गरिएको उक्त पात्रलाई महँगो वेशभूषा, आभूषण र रवैयाले गलत सन्देश दिएको तर्फ भने निर्देशकले ध्यान दिन सकेका छैनन् ।

फिल्मको कथाले धेरै विषयवस्तु छोएको त छ, पूर्ण लाग्दैनन् । प्रेम प्रसंगदेखि सामाजिक जातीय/वर्गीय भेदभाव, पारिवारिक कलह, राजनीतिक चलखेल र अन्तर्राष्ट्रिय अपराधीसम्मको बग्रेल्ती कुरालाई फिल्मले विवेकलाई 'हिरो' देखाउनकै लागि मात्रै बुनिएका झैं लाग्छन् ।

राजधानीदेखि आमाको नाममा निर्मित अस्पताल उद्घाटन गर्न पुगेको बडाकाजी -नीर शाह) को छोरा विवेक -लोकेन्द्र कार्की) को आफ्नो पुरानो थाँतथलो अमरापुरी दरबारको भण्डारे सेवकको छोरी सानुमैया -रेखा थापा) सँग दुई हप्ताको अवधिमा शारीरिक सम्पर्कपछि पत्नीसम्मको सम्बन्ध बनाएपछि र्फकन्छ । उता बडाकाजी कथित तल्लो जातकी केटीलाई बुहारी बनाउन राजी

छैन । भित्री सोचाइ अर्कै भए पनि बाहिर भने मानव अधिकारवादीको खोलमा संयुक्त राष्ट्रसंघको महासचिव बन्ने सपना देखेको

हुन्छ । दक्षिण एसियाबाटै उक्त पदका लागि एकमात्र मनोनयन भइसकेको ऊ आफ्नो व्यक्तिगत कर्तुत बाहिर नआओस् भनी सबैलाई भ्रममा राखिरहेको हुन्छ ।

फिल्म प्राविधिक रूपमा सन्तोषजनक रहे पनि कथा प्रस्तुति जीवन्त बन्न सकेको देखिँदैन । सानुमैयासँग विवेक के कारणले त्यति छिटो आकषिर्त भयो र विवाह नै गर्ने हिम्मत राख्यो भन्नेमा दर्शक विश्वस्त बन्न सक्दैनन् । कि दर्शकले हिरोको प्रेम हिरोइनसँगै पर्ने त हो नि भनेर बुझ्नुपर्ने हो ? अनि अमरापुरीको एक झाँक्री अस्पताल खोलिदिएर पेसा खोसिदिएकामा काजीसँग रुष्ट भए पनि पछि किन ऊ सानुमैयाको परिवारसँग खनिन्छ खुल्न सकेको छैन । के खलपात्र भनेको बिनाकारण र स्वार्थ पनि अरूलाई दुःख दिने प्राणी हो ? फिल्ममा यस्तै देखिन गएको छ ।

त्यसो त अर्को पात्र हरिश -धीरेन शाक्य) जो बडाकाजीको बफादार सेवक मानिन्छ, अकस्मात् किन काजी खानदानलाई नै सखाप पार्ने षड्यन्त्रमा लाग्यो भन्ने

खुल्दैन । उसको सहयोगका लागि आएका 'विश्व हल्लाउने' भारतीय गुन्डाहरू हरिशकै स्वार्थमा सहयोग गर्न गोलीगठ्ठासहित किन आए ? स्पष्ट छैन । फेरि गुन्डाहरू आफ्नो स्वार्थका लागि नआएकाले त्यसलाई नायकले भनेजस्तो वैदेशिक हस्तक्षेप कसरी मान्ने ? फिल्ममा बेलाबेलामा आउने राजनीतिक उपदेश पनि परिस्थितिसँग खासै मेल खान सकेको छैन ।

सस्तो प्रचारका लागि मात्रै संवाद ठोसिँदा पनि दर्शकलाई फिल्मको बहावसँगै समाहित गर्नबाट चुकेको छ । त्यसो त तरबारले देब्रे हात काट्दा दाहिनेमा पट्टी लगाउने, एक्लैले पाँच दर्जन अत्याधुनिक हतियारधारीलाई सखाप पार्ने, नयाँ/नौलो मान्छेसँग अपरिचित ठाउँमा बिनाकारण रातै बस्न जाने युवतीको घटनाका दृश्यलाई पाच्य बनाउनबाट निर्देशक चुकेका छन् ।

इन्टरनेसनल मुभी मेकिङ प्रालिको ब्यानरमा बनेको 'शासन' का केही गीत लोकलय स्वादमा पस्किएकाले दर्शकको जिब्रोमा झुन्डिने खालका छन् । दृश्य सफा छन् । फिल्मको पटकथाले एक हिसाबले दर्शकलाई सस्पेन्स दिलाउन विशाल पात्रलाई प्रयोग गरिएको छ । जसको भेउसम्म नपाउनु पटकथाको राम्रो पक्ष मान्नुपर्छ । साभार: इकान्तिपुर

1 प्रतिकृया/हरु:

Anonymous said...

Holy crap...... heheheheeh awesome newz..

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।