गोर्खाली फौज चोभारमा

काठमाडौ, माघ २७ - अपराह्न ३ बजे । बुङबुङती धुलो उडिरहेको चोभारको नांगा डाँडामुनि खोंचमा तरबार, ढाल र भाला बोकेका फौजहरू देखापरे । अग्रपंक्तिमा थिए पृथ्वीनारायण शाह । 'दुश्मनहरू हामीलाई हराउन्या लडिरह्याका छन्, हामी दुश्मनलाई समेत जिताउन्या लडिरह्याका छौं,' पृथ्वीनारायण शाहले वीर रसमा कुर्ले, 'छातीमा तातो रगत उम्लिन्जेल गोर्खाली फौज कहिल्यै पछि हट्न्या छैन ।'

फौज अघि बढ्यो । तल खोंचबाट चोभारको डाँडैमा आइपुगेको फौजको उद्देश्य कीर्तिपुर हान्नु थिएन । त्यही भएर अस्ताउन लागेको घामतिर हेर्दै हल्का कवाज खेल्न थाले । हातको तरबार तल लत्रिएकाले पृथ्वीनारायण केही थकित भएको अनुमान गर्न सकिन्थ्यो । यहीबेला मुगल सम्राट देखापरे । यसपछि गोर्खालीहरू युद्धको ब्युहमा खडा भए । लामो समयदेखि यी फौज मुगल सम्राटकै प्रतीक्षामा थिए ।

दृश्य विसं १८१७ को हैनन्, जतिबेला पहिलोपटक गोर्खालीले कीर्तिपुर हमला गरेको थियो । कीर्तिपुर छेवैको डाँडामा बुधबारचाहिँ चलचित्र 'सौर्य'को सुटिङ भइरहेको

थियो । पृथ्वीनारायण शाहको भूमिकामा थिए, अभिनेता राजेश हमाल । मुगल सम्राट- पुष्कर भट्ट । यी सबै लडाइँ र मारकाटको सूत्रधार थिए, मार्कण्ड्य दिपविम बस्नेत । चलचित्र 'द्रव्य' बाट निर्देशनमा डेब्यु गरेका मार्कण्ड्य असिन पसिनका साथ सुटिङमा जुटिरहेका थिए ।

'ऐतिहासिक घटनालाई नयाँ पुस्ताको मनोविज्ञानसँग जोड्न खोजेका हौं,' एकैछिनको फुर्सदमा मार्कण्ड्यले भने, 'इतिहासलाई वर्तमानसँग फिक्सनाइज (कल्पनाकृत) गरिएको छ ।' उनका अनुसार चलचित्रमा ग्रह र नक्षेत्रका सन्दर्भ छन् । एक पात्रको नक्षत्र पृथ्वीनारायणसँग मिल्न गएकाले उनको व्यवहार पनि त्यस्तै हुन्छ र उनी लडाकु स्वभावका साथ हुर्किन्छन् । 'एक्सनप्रधान' चलचित्रमार्फत इतिहास र राष्ट्रियताका पक्षलाई नयाँ पुस्तासम्म ल्याउन चाहेको निर्देशकले दाबी गरे ।

उनको दाबीलाई मुगल सम्राट बनेका पुष्करले पुष्टि गर्न चाहे । 'फिल्ममा राष्ट्रियताको सवालमा' मुगल वेशमै सजिएका पुष्करले भने, 'पृथ्वीनारायणको अडान देख्न पाइनेछ ।' अन्तिम चरणमा पुगिसकेको फिल्मको बुधबार मुगल सम्राट र गोर्खालीबीचको लडाइँको प्रारम्भिक दृश्य सुटिङ भइरहेको थियो । मुगल राजा साहेन्साए आलम समसुद्यनि र गोर्खालीबीचको लडाइँमा पृथ्वीनारायणले देखाएको बहादुरी र मुगल सम्राटको 'इमान्दारिता' पनि फिल्ममा हुनेछ ।

'तर यो पूर्ण ऐतिहासिक फिल्म भने हैन,' निर्देशक मार्कण्ड्यले भने, 'पात्रहरूको स्वभाव र चरित्र पुनरावृत्ति हुने फिल्ममा इतिहासका केही सन्दर्भलाई नयाँ शैलीबाट प्रस्तुत गर्न खोजेका मात्रै हौं ।' सौगात मल्ल, हेमा श्रेष्ठ, अनुपविक्रम शाही, रवि बस्नेत, अमित अग्रवाल, विकास गुरुङलगायतको अभिनय रहने फिल्मका लागि सुभाससिंह बस्नेतले कथा तयार पारेका हुन् । हाकिम इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भइरहेको फिल्मको सुटिङका लागि राजेशलगायतका कलाकार टोली पुरानोपन झल्काउन पाखुरा देखिने कपडामा सजिएका थिए, ढाल बनाइएको थियो नाङ्लोमा कालो र सेतो रंग पोतेर ।

जब गोर्खाली फौजको टोली र मुगल सम्राटको भेट हुने स्थिति बन्यो र घम्साघम्सी हुनै आँटेको थियो, घाम अस्तायो । बाँकी सुटिङ बिहीबारलाई थाँती राखेर युनिट सबै घरतिर लाग्न थाले । पृथ्वीनारायण शाह अब ड्रेस फुकालेर राजेश हमाल बने । सुटिङ युनिटकै भ्यान चढेर राजेश कीर्तिपुरतिरको बाटो सोझिए, जहाँ तीनपटक आक्रमण गरेपछि मात्रै पृथ्वीनारायणले जित्न सकेका थिए । साभार: इकान्तिपुर

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।