बरिष्ठ चरित्र अभिनेत्री शान्ति मास्केको निधन

दर्जनौ चलचित्रमा अभिनय गरिसकेकी बरिष्ठ चरित्र अभिनेत्री शान्ति मास्केको निधन भएको छ ।

२०२३ सालमा चलचित्र हिजो आज भोली बाट अभिनय यात्रा सुरू गरेकी मास्केको गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारीमा मंगलबार राति साढे ११ बजे निधन भएको हो । मुख्य चरित्र अभिनेत्री भएर काम गरेकी मास्के दुई दशक अघि सन्तान चलचित्रको छायाङ्कनमा दुर्घटना भएपछि छातीमा राखिएको 'पेसमेकर' को साहयताले बाचिरहेकी थिईन् । उनी प्रत्येक महिना 'पेसमेकर' जचाउन वीरअस्पताल गईरहन्थीन् र आज सोही कारणले उनको निधन भएको हो । उनी छोरी लतिकाको साथ भैसेपाटीमा बस्दै आएकी थिईन् । २०११ सालमा धरानका वीरबहादुर मास्केको तेस्रो श्रीमतीको रूपमा भित्रिएकी मास्केको श्रीमानको २०३४ सालमा निधन भएको थियो । त्यसपछी दुःखका दिन सुरू भएको उनको जीवनमा आमा र छोरी साहाराको रूपमा थिए ।

नेपाली चलचित्रमा 'हात्तीछाप' चप्पल र हात्ती उस्तैउस्तै' भन्ने सूत्र शान्ति मास्केको हकमा लागू हुन्छ । । कलकार भएर अभावै -अभावमा अन्तिम स्वाश समेत छाडिसकेकी मास्के आखिर जीवनका सङ्घर्षशील पक्षहरूलाई अभिनय मार्फत् दर्शक समक्ष पस्कन सफल 'आइडल' हुन भन्नेमा सायद कसैको विमती छैन ।

कान्छी, जीवनरेखा, सिन्दुर, सन्तान जस्ता दर्शकले ज्यादै मन पराएका चलचित्रको लोक प्रियतामा शान्तिको 'अंश' कति छ ? त्यसको लेखाजोखा नेपाली चलचित्रको इतिहास लेख्नेहरूले गर्छन् या गर्दैनन् थाहा छैन । अलविदा मास्के......

यस्तै स्वर्गीय मास्केको अन्तिम श्रद्धाञ्जलीको लागि चलचित्र कलाकारसंघले आफ्नो नेतृत्वमा उनको पार्थिव शरिरलाई कमलादी स्थित प्रज्ञा भवनमा पुर्‍याएको छ । स्वर्गीय मास्के प्रति श्रद्धाञ्जली अर्पण गर्न सूचना तथा सञ्चार मन्त्री शंकर पोखरेल आउने कार्यक्रम रहेको छ । यस्तै सम्भवत प्रधानमन्त्री माधव कुमार नेपालले पनि अन्तिम श्रद्धाञ्जली अर्पण गर्न प्रज्ञा भवनमा आफ्नो उपस्थिति जनाउने बताईएको छ । अहिले अधिकाशं चलचित्रकर्मीहरू प्रज्ञा भवनमा भेला भईरहेका छन् । श्रद्धाञ्जली कार्यक्रमपछी आजै पशुपति आर्यघाटमा मास्केको दाहसंस्कार गरिने छ । साभार: फिल्मीखबर

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।